Poem

एकादेशको कथा

A selected poem by Mahesh Babu Timalsina, presented with its original video performance.

Poem by Mahesh Babu Timalsina

एकादेशको कथा यो एकादेशको कथा हो जहाँ जल्लादहरूले जीवितहरूलाई जिउँदै जलाएका छन् जहाँ फासिस्टहरूले फकिरहरूलाई फाँसीको फन्दामा फसाएका छन् जहाँ भोकको भड्खालोमा भासिएकाहरूको भित्र्याँस भरिन सकेको छैन जहाँ सहस्र शोकको सन्तापले सत्तासीनहरूलाई स्पर्श गर्न सकेको छैन जहाँ स्वतन्त्रता र स्वाभिमानको सिलसिला अझै सदर हुन सकेको छैन जहाँ कर्मशील किसानहरूको किञ्चित पनि कदर हुन सकेको छैन हो, यो त्यही एकादेशको कथा हो जहाँ बेलगाम बगरेहरूले बीजारोपण गरेको हिंसा र बर्बरताले विवेकलाई नै बन्धकी बनाएका छन् जहाँ लज्जाहीन लङ्गुरहरूको लावालस्करले मानवताको लावण्यलाई लिलामीमा लगेका छन् जहाँ चरित्रहीन चाटुकारहरूले मानवीय स्वाधीनताको चाहनामाथि च्याँखे थापेका छन् जहाँ मानव अधिकारवादी मखुन्डोधारीहरूले नै मानवताको मनपरी मजाक बनाएका छन् । यो त सिङ्गै विश्वको कथा हो जहाँ अश्वेत नागरिक जर्ज फ्लोइडले श्वेत अमेरिकी प्रहरीको घुँडाद्वारा घाँटी थिचिएर मर्नुपर्छ जहाँ तथाकथित दलित नवराज बि.क.ले उपल्लो वर्गका भलाद्मीहरूद्वारा खोलामा बगाइनुपर्छ । जहाँ निर्मला पन्तका बलात्कारी र हत्याराहरूलाई निर्दोषिताको प्रमाणपत्र दिएर उल्टै सलाम ठोकिन्छ जहाँ धर्म, रङ, वर्ग, जात र लिङ्गका आधारमा अझै पनि अल्पसङ्ख्यकहरूमाथि लगाम कसिन्छ । यो त वास्तवमा आजको विश्वकै कुरूप कथा हो जहाँ अर्कै भाषा बोलेकाले भुटानी नागरिकहरूलाई शरणार्थी बनाइन्छ जहाँ अर्कै धर्म अपनाएका कारण रोहिंग्या मुसलमानहरूलाई देश बाहिर खेदिन्छ जहाँ एउटा स्वाधीन देश ताइवानलाई विश्व मानचित्रबाटै हटाइन्छ जहाँ चर्चा त अन्तरिक्ष, चन्द्रमा, मङ्गल ग्रहसम्मै बस्ती बसाउने महत्त्वाकाङ्क्षी योजनाका बारेमा हुन्छ तर आफ्नै नागरिकलाई सानोतिनो अपराधको सजाय स्वरूप साउदी अरबको खुल्ला चोकमा घाँटी कटाइन्छ । दोस्रो विश्वयुद्धमा साठी लाख यहुदीहरूलाई सखाप पार्ने हिटलरको ग्यास च्याम्बरको युगमा त छैनौं हामी मानिसलाई पशुझैँ दास बनाएर बेच्ने उन्नाइसौँ शताब्दीको अमेरिकी साम्राज्यका त होइनौँ हामी । हुकुमी शासन लाद्ने रक्तपातपूर्ण सफायाको शिकार भएर जङ्गबहादुरको कोतमा च्वाट्टै काटिनुपर्ने त छैन चीनको तियानमेन चोकमा झैँ लाखौँको सङ्ख्यामा बुल्डोजर र ट्याङ्कले किचिनुपर्ने पनि त होइन । तर पनि कथा बदलिएको मात्र हो व्यथा जहीँको तहीँ छ परिस्थिति परिवर्तन पक्कै भएकै हो तर पनि पीडा ज्यूँका त्यूँ छ पात्र बदलिएको मात्र हो चरित्र जस्ताको तस्तै छ व्यवस्था बदलिएको त अवश्य हो तर अवस्था जस्ताको तस्तै छ मानव सभ्यताले विज्ञान र प्रविधिको चमत्कारिक फड्को मारे पनि सारा विश्वलाई नै औँलाको टुप्पोमा अटाउने पराकाष्ठामा पुगे पनि मानव मनको जन्मजात स्वार्थी अनि कलुषित पत्रको प्रतिबिम्ब त कहाँ मेटाउन सकिने रहेछ र ? सृष्टिको आदिमकालदेखिकै नैसर्गिक मानवीय दानवतालाई कहाँ लुकाउन सकिने रहेछ र ? त्यसैले यो पूरै विश्वको मूलकथा पूर्व निर्धारित छ, स्थायी छ उपकथा र पटकथा जति बदले पनि मान्छे नै नायक हो मान्छे नै खलनायक हो यो सत्य त अभेद्य, अकाट्य अनि अपरिवर्तनीय छ । हो, यो एकादेशको कथा यस्तै नै रहिरहनेछ – जहाँ जल्लादहरूले जीवितहरूलाई जिउँदै जलाई नै रहने छन् जहाँ फासिस्टहरूले फकिरहरूलाई फाँसीको फन्दामा फसाई नै रहनेछन् ।