कविता

जिन्दगी के हो?

महेश बाबु तिमल्सिनाको छानिएको कविता, मूल भिडियो प्रस्तुतिसहित।

महेश बाबु तिमल्सिनाको कविता

जिन्दगी के हो ? यो जिन्दगी के हो ? यो यथार्थ हो कि भ्रम हो ? आगमन हो कि विलय हो ? सरल उच्चाट गोरेटो हो कि वक्ररेखा हो ? झिस्मिसे हो कि गोधूलि हो ? स्थापना हो कि सपना हो ? कसरी म भनुँ खै यो जिन्दगी के हो ? यो जिजीविषा हो कि मृगतृष्णा हो ? यो समवेदना हो कि पाशविकता हो ? यो आभूषण हो कि कसिङ्गर हो ? यो एक बार हो कि निरन्तर हो ? यो स्थायी हो कि क्षणभङ्गुर हो ? प्रश्नैप्रश्नहरू छन् मनमा साँच्चै, जिन्दगी प्रश्न हो कि उत्तर हो ? यो सापेक्ष हो कि शाश्वत हो ? यो संयोग हो कि वियोग हो ? यो जडान हो कि विनिर्माण हो ? उफ् ! कति धेरै प्रश्नहरू ? कति धेरै विचारहरू ? कति धेरै आधारहरू ? कति धेरै दोधारहरू ? वास्तवमै यो जिन्दगी हो चाहिँ के त ? कति खियाउनु मथिङ्गल ? कति निम्त्याउनु कचिङ्गल ? मसँग छ यौटा जवाफ अत्यन्तै सरल । न कुनै वाद न कुनै सिद्धान्त न कुनै उल्झन न कुनै लेखान्त जिन्दगी सादा कागज हो आफ्नो कर्म आफैले लेख्ने हो जिन्दगी निर्मल जल हो आफ्नो रङ्ग आफैले भर्ने हो जिन्दगी निरन्तर चक्र हो आफ्नो यात्रा आफैले तय गर्ने हो । जिन्दगी बेहोशी होइन कहिल्यै उत्तर नभेटिने अगम्य रहस्य होइन । यो जिन्दगी त भोग्य, सदृश्य, सग्लो र सपाट चेतन हो यो कौतूहल जुन छ नि हामीभित्र यो अनुत्तरित प्रश्न होइन यो त वास्तवमा आफैमा एउटा सुगम र सरस समाधान हो । म त भन्छु – जिन्दगी के हो भन्ने प्रश्नमै नअल्झिनुस् बरु अक्षर भर्नुस्, रङ्गीन बनाउनुस् अनि यात्रा नरोक्नुस् जिन्दगीको अर्थ होइन सार्थकता खोज्नुस् प्रश्न होइन उत्तर सोच्नुस् समस्या होइन समाधान रोज्नुस् । आफू बाँच्नुले आफूजस्तै अरू जिन्दगीहरूमा कति फरक पर्छ त्यो सोच्नुस् निष्पट्ट अन्धकारमा आफू बलेर कतिलाई उज्यालो बाँड्न सक्नुहुन्छ त्यो पहिल्याउनुस् । एकछिन टक्क रोकिएर सोच्नुस् त ! एकछिन टक्क रोकिएर सोच्नुस् त – जब तपाईंको आफ्नै श्वास प्रश्वासले तपाईंको साथ छाडिरहेको हुन्छ जब तपाईंको नश्वर शरीर चितामा जलिरहेको हुन्छ या चिहानमा गाडिइरहेको हुन्छ जब तपाईं भूतकाल बनिरहनुभएको हुन्छ तपाईं भूतकाल बनिरहनुभएको बेला वर्तमान कालका जीवित मान्छेहरूले तपाईंको नाम यदि बोझपूर्वक लिए भने – जीवन 'पत्थर' हो । उपेक्षापूर्वक लिए भने – जीवन 'पतझर' हो । घृणापूर्वक लिए भने – जीवन 'कहर' हो । श्रद्धापूर्वक लिए भने – जीवन 'अमर' हो । त्यसैले जिन्दगी साँच्चिकै यदि एउटा प्रश्न हो भने यसलाई मीठोसँग बाँच्नु नै यसको सबैभन्दा सही उत्तर हो ।