मैले स्वतन्त्रताको अर्थ थाहा पाएँ
मैले स्वच्छन्दताको मर्म थाहा पाएँ
चार दिवार भित्र लकडाउनमा थुनिएपछि
मैले मानव चोलाको कर्म थाहा पाएँ ।
मैले मृत्युको भय थाहा पाएँ
मैले जीवनको लय थाहा पाएँ
२४ सै घण्टा आफ्नै परिवारसँग बिताएपछि
मैले सहअस्तित्वको अन्तर्य थाहा पाएँ ।
मैले समयको महत्व बुझ्न पाएँ
मैले एकान्तवासको घनत्व बुझ्न पाएँ
आँखाले कहिल्यै नदेखेका र दिमागले कहिल्यै नसोचेका
सुक्ष्म शक्तिहरुको अस्तित्व बुझ्न पाएँ ।
खोला झैं दौडिनमात्र जानेको थिएँ
तलाउ झैं जम्न पनि सिकें
धुँवा, मदिरा र बेहोसीमा रमाइलोको अर्थ खोज्थें
आफै भित्रको शून्यमा छिरेर पनि रम्न सिकें ।
हस्तमिलान र अङ्कमाललाई बिर्सेर ‘नमस्ते’भन्न सिकें
घर भित्रै व्यस्त हुने तरिकाहरु पनि टन्न सिकें
आफ्नै जराबाट भाग्न खोज्दै रहेछु म
सही अर्थमा जिन्दगी बाँच्न धन्न सिकें ।
जन्मदै सालनालले बेरिएका हामी
जीवनभर घरबारले घेरिएका हामी
आफू बलशाली भएको भ्रममा पो रहेछौं
यदि यो भाइरसले हामीलाई नझकझकाएको भए
आफैंलाई सर्वशक्तिशाली घोषणा गर्ने क्रममा पो रहेछौं ।
धेरै–धेरै धन्यवाद दिन चाहन्छु म तँलाई, हे कोरोना भाइरस
जिन्दगीलाई अर्कै गति र अर्कै कोणबाट हेर्न सिकाइस्
मानव जातिको घमण्ड, अहंकार, तीब्रता र सर्वविज्ञतालाई
फेरि टाउको उठाउन नसक्ने गरी धुलो पीठो बनाईस् ।
भाईरस भन्दा बढी त्यसको भय फैलिएको रहेछ
संक्रमण भन्दा बढी त्यसको संत्रास फिंजारिएको रहेछ
वनको बाघले खाओस्–नखाओस् मनकै बाघले खाएको रहेछ
भाइरससँग भयभीत भएर भाग्नु भन्दा भाइरससँग भाइचारा गरेरै बाँच्न सिक्नुपर्ने रहेछ ।
फेरि पनि धन्यवाद छ कोरोना भाइरस
यति सब तत्व ज्ञान मानव जातिमा भरेकोमा
छिट्टै थप धन्यवाद दिन पाऊँ तँलाई
मानव मात्रको संहार गर्न छाडेर अमनचैन पुनर्बहाली गरेकोमा ।
एकाबिहानै गाउँबाट बृद्ध हजुरबुबाको फोन आयो ।
मैले भने – “दर्शन हजुरबुबा”
हजुरबुबाले आर्शिवाद दिँदै भन्नुभयो – “भाग्यमानी”
ठीकै हो ! कोरानाको कहर र लकडाउनको लहरमा पनि बाँचेकै छु, भाग्यमानी नै छु ।
दिनमा बीस चोटि साबुनले मिचि–मिचि हात धुँदा–धुँदा हस्तरेखा नै पखालिइसक्यो ।
दिनहुँ दश चोटि स्यानिटाइजरले हात रगड्दा–रगड्दा भाग्यरेखा नै पग्लिसक्यो ।
तर पनि अहिलेसम्म रोग र भोक दुबैबाट बाँचिरहेको छु ।
त्यसैले म आफूलाई भाग्यमानी सम्झिरहेको छु ।
बाबा, हजुरले कति धेरै कविता लेख्नुभएका छ, तर कुनै कविता मेरो लागि पनि लेख्नुभएको छ ?
लेखेको छु छोरा, लेखेको छु ।
तिम्रो लागि कविता मात्र किन पुरै जीवन लेखेको छु ।
लय, शब्द, ध्वनी, छन्द, अनुप्रास त सबै गौण हुन तिम्रो अगाडी
तिमीमा मैले सृजनाको मुहान अनि प्रेरणको किरण भेटेको छु ।
तिम्रो लागि मेरो आफ्नो पुरै जीवन लेखेको छु ।
दश वर्ष अगाडि एउटा चीज हाम्रो जिन्दगीमा चलमलाएको मात्र थियो ।
एउटा बीज जमिनमुनिबाट भर्खरै अंकुराएको मात्र थियो ।
थाहै नपाई कुनछेको त्यसमा पात लाग्न थालेछ, डाँठ तन्किन थालेछ ।
आफूमा हरियाली भर्दै–भर्दै कति छिटो झाँगिन थालेछ ।
र आज दश वर्ष पछाडि तिमी छौ मेरो अगाडि, मेरो कविता सुन्नको लागि
म तिमीलाई आजै आफ्नो कविता सुनाउँछु छोरा ।
सायद दश वर्ष पछि म सँग तिमीलाई सुनाउने कविता हुन्छ कि हुँदैन थाहा छैन ।
अनि दश वर्ष पछाडी तिमी सँग मेरो कविता सुन्ने समय हुन्छ कि हुँदैन, त्यो पनि थाहा छैन ।
त्यसैले म आजै तिम्रो अघि यो गाँठो फुकाउन चाहन्छु ।
तिम्रो लागि लेखेको कविता आजै सुनाउन चाहन्छु ।
सुन छोरा ! यो आजभन्दा दश वर्ष अगाडिको कुरा हो ।
जब वसन्ती हावाले मधुर शान्ति छरिरहेको थियो ।
जब शारदीय घामले न्यानो कान्ति भरिरहेको थियो ।
जब समयको अकण्टक सुई मध्यान्हतर्फ अघि सिररहेको थियो ।
त्यतिबेला एउटा सपना ब्यूझिंयो ।
एउटा रुवाह चर्कियो, एउटा आवाज उब्जियो ।
हो, त्यसैबेला एउटा आकृति जन्मियो ।
तिमी हाम्रा लागि अनमोल उपहार भएर आयौ ।
तिमी हाम्रा लागि अद्वितीय चमत्कार लिएर आयौ ।
आत्माको दिव्य यात्रा क्रममा विचरण गरिरहेका हौला तिमी
तर हाम्रो लागि भने न्यानो परिवार बनेर आयौ ।
आमाको पेट भित्रै तिमी धड्किएको मैले छामेको छु ।
आफ्नै थाङ्ने ओछ्यानमा तिमी पल्टिएको मैले हेरेको छु ।
सङ्गमरमरका चीसा भुँइहरुमा तिमी घिस्रिएको मैले चिहाएको छु ।
एक पाइला अघि बढ्न मात्र पनि पटक–पटक भुँइमा पछारिएको मैले देखेको छु ।
तिमीलाई के थाहा र यस्ता कुरा ?
तिम्रा गिजाले सातुको लिटो गिजोलेदेखि छुचुन्द्रे दाँतले भातको सितो नटोकेसम्म
हरेक दिन क्यालेण्डरमा चिने लाउने गर्थें ।
तिमीलाइै मन्टेश्वरीमा भर्ना गर्नलाई हरेक महिनाको कमाइबाट आफ्नो वचत वाला खुत्रुके भर्थें ।
तिम्रो लागि नयाँ मोडलको साइकल किन्न मैले आफ्नो पकेट खर्च काटेको याद छ ।
तिम्रो लागि जाडोको बाबा सुट र जम्पर सेट किन्ने पैसा जुटाउँदा मेरो ज्याकेट फाटेको याद छ ।
तिमीसँग ख्याल–ख्यालमा कुस्ती खेल्दा र पञ्जा लडाउँदा तिम्रो खुशीको लागि मैले धेरै चोटि हारेको छु ।
तिमीले हानेको क्रिकेट बलले छिमेकीको झ्यालको सिसा फुटाउँदा मैले कति चोटि हर्जना तिरेको छु ।
तिम्रो हट् घोडा हट्मा छचल्किने खुशीका लागि दिनभरिको घपेडी र ढाडदुखाइलाई चटक्कै बिर्सेको छु ।
तिम्रो मुहारमा हाँसो फर्काउन मैले धेरै चोटि कान समातेर उठबस गरेको छु ।
तिम्रो चोरी औंलाले देखाएका बजारका हरेक खेलौना किन्न सक्ने हैसियत बनाउन दिन–रात मेहनत गरेको छु ।
तिम्रै उज्जवल भविष्यका लागि भनेर कति चोटि त नैतिकताको आफ्नै परिभाषबाट अलिकति पर सरेको छु ।
तर म यी सब कुरा तिमीलाई किन सुनाइरहेको छु ?
के मैले गरेका सबै दुःखहरुको ब्याजसहित क्षतिपूर्ति खोज्ने म एक व्यापारी हुँ र ?
के मैले गरेका गुनहरु तिरिनस् भने सिधै नर्क जालास् भन्ने म एक पुजारी हुँ र ?
हरेक तीरले एउटा न एउटा शिकार त ढलाउनै पर्छ भनेर नापतौल गर्ने के म एक शिकारी हुँ र ?
सायद यी सबै एउटा पिताको कर्तव्यहरु भित्रै पर्दथे ।
यदि पूरा नगरेको भए चाहिं मलाई सबैले धिक्कार्थे ।
आज भन्दा दश वर्ष पछि त तिमीमा पनि जवानीको फूल फुलिसकेको हुनेछ ।
तिम्रा पनि हाँगाबिङ्गा लाग्न शुरु भैसकेको हुनेछ ।
तिमीलाई पनि व्यवहारिकताको जराले जकड्न शुरु गर्नेछ ।
तिमीलाई पनि जिम्मेवारीका बोक्राहरुले ढाक्न थालिसकेको हुनेछ ।
तिम्रा पातहरुले पिरतीका गीतहरु सुसेल्ने छन् ।
तिम्रा हाँगाका फूलहरु पनि फल लगाउन ओथारो बस्न थाल्नेछन् ।
आजको दश वर्ष पछाडी –
समय साँच्चै बदलिसकेको हुनेछ ।
हामी बदलिसकेका हुनेछौं ।
मेरो उमेर ढल्किसकेको हुनेछ ।
तिम्रो रहर अग्लिसकेको हुनेछ ।
तिम्रो पहुँच फैलिसकेको हुनेछ ।
तिम्रो परिपक्कता झल्किसकेको हुनेछ ।
तिम्रो सपनासँग मेरो चाहना बाझिन सक्छ ।
तिम्रो कल्पनासँग मेरो भावना बाँङ्गिन सक्छ ।
तिम्रो यात्रासँग मेरो स्थिरता टाढिन सक्छ ।
तर केही छैन छोरा –
तिमी दश वर्ष अगाडि रोएर जन्मिँदा म हाँसेर नाचेकै हुँ ।
तिमी अहिले मेरो वरिपरि घुमिरहँदा म गम्केर बाँचेकै छु ।
तिमी दश वर्ष पछाडी आफ्नै संसारमा रमाउँदा पनि म तिम्रो खुशीमा हाँस्ने नै छु ।
त्यसबेला पनि तिम्रो हाँसो मेरो लागि मूल्यवान् हुनेछ ।
त्यसबेला पनि तिम्रो पीडामा मेरो मन रुनेछ ।
अनि त्यसबेला पनि तिम्रो प्रगतिमा मेरो आँत हाँस्नेछ ।
संसारमा सबैसँग जित्नुपर्ने आदत भए पनि
तिम्रो बाबा तिमीसँग भने खुशी–खुशी हार्न तयार हुनेछ ।
मेरा लागि तिम्रो खुशी ठूलो हो – महत्वाकांक्षा पक्कै हैन ।
मेरो लागि तिम्रो प्रयास ठूलो हो – सफलता मात्र पक्कै हैन ।
तिमी ठूलो मान्छे त पक्कै बन्छौ – यसमा मलाई विश्वास छ ।
तर ठूलो बन्ने चक्करमा असल बन्न चाहिं बिर्सन्छौ कि – यो चाहिं एउटा त्रास छ ।
असल बाटो हिंड्दै–हिंड्दै ठूलो मान्छे बनेर आफ्नो लागि मात्र हैन सबैको लागि बाँच्नेछौ – मलाई तिमीबाट यत्ति चाहिं आश छ ।
यसैगरी अगाडि बढ – आफ्नो अर्जुन दृष्टि पछ्याउनका लागि
कहिले काहीं आफ्नो बाबाको यो कविता पढ तिमी हाम्रा लागि कति मूल्यवान् छौ भनेर पहिल्याउनका लागि ।
तिम्रो दशौं जन्मोत्सवको अवसरमा धेरै–धेरै शुभकामना ।
Happy 10th Birthday Samrat.
हे प्रभु ! तीन महिना पुग्न लागेछ लकडाउनको ।
लकडाउनमा थुनिएर शरीर नै थिल्थिलो भएर थला पर्न थालिसक्यो ।
आज विहान अलिकति ताजा आवा खान घर बाहिर निस्केको थिएँ – तर यहाँनेर सानो गडबड भयो ।
निस्कन त हावा खान निस्केको थिएँ ।
तर लकडाउन तोडेको अभियोगमा प्रहरीको लठ्ठी खाएर लुरु–लुरु घर फर्किनु पर्यो ।
म हुँ एक नेपाली नागरिक
मसँग एक थान नेपाली नागरिकता छ ।
जुन मैले पासपोर्ट बनाउनको लागि लिएको थिएँ ।
र पासपार्ट चाहिं मैले अरब जानको लागि बनाउन खोजेको थिएँ ।
अरब चाहिं म धन कमाउनका लागि जान खोजेको थिएँ ।
धन चाहिं मैले ऋण तिर्नका लागि कमाउन खोजेको थिएँ ।
ऋण चाहिं मैले बिहे गर्नका लागि लिएको थिएँ ।
बिहे चाहिं मैले खुशी हुनका लागि गरेको थिएँ ।
खुशी चाहिं म किन हुन जरुरी थियो भने – मेरो बाल्यकाल दुखद् बितेको थियो ।
बाल्यकाल किन दुखद् बितेको थियो भने – हामी गरीब थियौं ।
हामी गरीब किन थियौं भने – हामी नेपाली नागरिक थियौं ।
हामी कसरी नेपाली नागरिक थियौं भने मेरो आमा र बुबासँग एक–एक थान नेपाली नागरिकता थियो ।
उहाँहरुसँग किन एक–एक थान नेपाली नागरिकता थियो भने उहाँहरु मलाई पनि एक थान नेपाली नागरिकता दिलाउन चाहनुहुन्थ्यो ।
म आफूसँग भएको त्यही एकथान नागरिकता बोकेर पासपार्ट बनाउने लाममा उभिएको छु ।
गरीब दुखी नेपालीको भाग्य फैसला गर्न नारायणहिटीमा विशाल दरबार खडा गरिएको रहेछ ।
म आफ्नो एक थान नागरिकता बोकेर यही ठाममा उभिएको छु ।
म पासपोर्ट बनाउने लाममा उभिएको छु ।
एक मित्रले फोनमा सोध्नुभो – काम धन्दा पुरै चौपट छ, लकडाउन खुलेपछि के गर्नुहुन्छ ?
मैले धेरै बेर गम खाएपछि भनें – लकडाउन खुलिहाल्यो भने,
‘त्यसपछि बल्ल अब के गर्ने होला ? भनेर सोच्न थाल्छु ।
प्रतिप्रश्न तेस्र्याएँ मैले मित्रलाई – तपाईं चाहिं के गर्दै हुनुहुन्छ अचेल ?
उनले बडो मार्मिक उत्तर दिए – म दुई महिना अधि देखि लकडाउन खुल्ने प्रतिक्षा गरिरहेको छु ।
हाल–फिलहालकै कुरा गर्नुहुन्छ भने मित्र – अहिले त म रल्लिरहेको छु, म बिनाकाम हल्लिरहेको छु ।
धेरै जसो त ओछ्यान मै डल्लिरहेको छु ।
जाऊँ कता जाऊँ ? गरुँ भने पनि के पो गरुँ ?
आफ्नै चोटा, कोठा, बैठक, भान्सा, करेसा, कौसी, बुँइगल, झ्याल, आँगन, पिंढी यतिभित्रमै टहलिरहेको छु ।
तपाईं जस्तै हाल हो मेरो पनि साथी –
लकडाउन खुलेपछि के गर्ने होला भनेर घरि–घरि अलमल्लिरहेको छु ।
ड्राइभिङ्ग गर्न बिर्सिसकें होला, कसरी अफिस जानु ?
बाटो काट्न भुलिसकें होला, कसरी बजार जानु ?
लकडाउन खुल्दा सम्म त वचत पनि भएजति सबै सिद्दिसक्छ होला, कसरी पो जीवन धानूँ ?
यो अन्योल, छट्पटी र अनिश्चितता निम्त्याउने लकडाउनलाई म समस्या मानूँ कि समाधान मानूँ ?
सरकारले आयोजना गरेको लकडाउनको यस महान पर्वमा रुमल्लिरहेको बेला हाम्रो पेटलाई चाहिं सरकारको लकडाउनको आदेश नलाग्ने रै’छ ।
त्यसैले सरकारले छुट्टयाएको खाद्यान्न खरीदको दुई घण्टामा म बजारको हुलमुलमा हेलिन पुगेको थिएँ ।
तरकारी छान्नै पर्यो, पैसा तिर्नै पर्यो, फिर्ता लिनै पर्यो, किनमेल सिध्याउनै पर्यो ।
यति धेरै मान्छे र मालसामान छोएको छु मैले तर पनि घर त फर्किनै पर्यो ।
म एक धार्नी आलुसँग एक बिसौली डर लिएर घर फर्केको छु ।
एक लिटर दुधसँगै एक चौथाइ शंका लिएर घर फर्केको छु ।
एक किलो काउलीसँगै एक पाउ सन्देह लिएर घर फर्केको छु ।
कोरोना त पक्कै सरेको छैन होला मलाइ ।
म एक मुठा सागसँगै एक त्यान्द्रो आशा लिएर घर फर्केको छु ।
मैले अनुनय – विनय गरें –
बैंकको व्याज तिर्न सकिँन
घरबेटीको भाडा तिर्न सकिँन
कर्मचारीको तलब दिन सकिँन
साथीभाइको ऋण फर्काउन सकिँन ।
सरकार ! लौ न केही गर ।
नत्र म कुन मुख देखाएर हिंड्ने होला ?
बिद्वान अर्थमन्त्रीज्यू अचानक प्रकट हुनुभयो र हातबाट एउटा दिव्य वस्तु उब्जाएर मलाई दिदै भन्नुभयो –
ढुक्क होउ, बालक !
ल यो मास्क लगाएर हिंड्ने गर – तिमीलाई कसैले चिन्दैन ।
अँ अनि सुन, मास्क लगाएरै भए पनि जेठ २५ भित्र कर चाहिं तिर नि
नत्र तिम्रो घरमा दाल भात पाकोस् नपाकोस् त्यसको हिसान पछि गर्दै गरौंला
तर व्याज र जरिवाना चाहिं अवश्य पाक्छ ।
यो जनबादी सरकार हो बालक यसले तिम्रो असाध्यै ख्याल राख्छ ।
आज फेरि एउटा लामो दिन सकियो ।
७०.६ वर्ष अर्थात् २५,७६९ दिनको मेरो आयु भित्रको मानौं एउटा युग सिकयो ।
हिजो राति कतिबजे सुतें – मलाई होसै छैन ।
बिहान कितबजे ब्यूंझे – अहिले यादै छैन ।
दाँत माझें कि माझिँन – अहँ सम्झना छैन ।
आज नुहाँए कि नुहाइनँ – स्मरण नै हैन ।
दिन किन यति लामो लागिरहेछ ?
मन किन यति बेचैन भैरहेछ ?
जीवन किन यति निरस बितिरहेछ ?
यो जाबो एउटा अदृश्य भाइरसले
संसारकै सवश्रेष्ठ प्राणी अर्थात् मान्छेलाई
कुन शक्तिको आडमा यसरी जितिरहेछ ?
खोपको खोजीमा खबौं खर्च भैसक्यो अरे
औषधीको आविष्कारमा अहोरात्र असिनपसिन हुँदैछ क्यारे ।
तर पनि किन हो कुन्नि, यो गाँठो अझै फुकेकै छैन ।
यो हत्यारो भाइरस मानव जातिसँग अझै झुकेकै छैन ।
जन्म कुण्डली त तयार भैसकेछ कोरोनाको, तर मृत्युपर्चिका अझै बन्न सकेको छैन ।
यसको मुहान त चीनको वुहान हो क्यार, तर यसको चिहान कसैले खन्न सकेको हैन ।
सरकारसँग तथ्याङ्क छ, तर नियन्त्रणको तरिका छैन ।
लकडाउन गर्ने बुद्धि छ, तर रोग निवारणको क्षमता छैन ।
जनता सँग सूचना छ, तर सावधानीको रवैया छैन ।
आफू पनि जोगिऊँ र दुनियाँलाई जोगाऊँ भन्ने तत्परता नै छैन ।
समस्या मेरो सोच र शैलीमा पनि छ ।
विहान उठेदेखि मध्यरातमा नसुतेसम्म
मेरो दिमागमा कोरोना, कोरोना केवल कोरोना मात्र खेलाईरहेको छु ।
मेरो युवा जोश, जाँगर र उर्जालाई
म यी वाहियात, नकाम अनि बकवास चिन्ताहरुमा सेलाइरहेको छु ।
म बैज्ञानिक हैन – खोप पक्कै पत्ता लगाउन सक्दिन ।
म विशेषज्ञ पनि हैन – जति तथ्याङ्कमा घोत्ले पनि निष्कर्ष निकाल्न सक्दिँन ।
तैपति म झोक्राइहेको छु – हर पल, हर क्षण कोरोनाका ताजा समाचारहरुमा ।
म घण्टौं बहस गरिरहेको छु फेसबुक, ट्विटर र यूट्यूब मार्फत र्यापिड टेष्ट, पी.सी.आर, भेन्टिलेटर र यि सँग जोडिएका भष्ट्रचारहरुमा ।
आफ्नो मोबाइल र टेलिभिजन स्किनमा संक्रमितको संख्या सुनिरहेको छु ।
मृतकहरुको गन्ती हेरिरहेको छु ।
हरेक घण्टा हाजिरीजवाफ प्रतियोगिता भयो भने पनि गलत सावित हुने तथ्याङ्कलाई तन्मयका साथ दिमागमा घुसाइरहेको छु ।
म बी.बी.सी. हेर्दै बिच्किरहेको छु ।
सी.एन.एन. हेर्दै सन्किरहेको छु ।
अल जजिरा हेर्दै अल्झिरहेको छु ।
कान्तिपुर हेर्दै कुर्लिरहेको छु ।
हुनुपर्ने त उत्पादनशील र उर्जावान हो म अहिले
तर यत्र तत्र छरिएका विकारयुक्त विचारहरुको शिकार बनिरहेको छु ।
म गणनाहरुमा गहिरिरहेको छु ।
तथ्याङ्कहरुमा तैरिरहेको छु ।
सिद्धान्तहरुमा समेटिरहेको छु ।
विश्लेषणहरुमा बगिरहेको छु ।
उपलब्धीको संकेत हेर्यो भने आफ्नै मस्तिष्कलाई आघात पुर्याइरहेको छु ।
टेलिभिजन, रेडियो, पत्रिका र सामाजिक सञ्जालहरुका अपुष्ट हल्ली खल्लीहरुले आफैंलाइै पक्षघात गराइरहेको छु ।
कति धेरै निराशाका कुरा गरें है मैले !
तर यस भित्रैबाट आशाका किरणहरु खोजौ न त अहिल्यै –
एच.आइ.भी. एड्सको भ्याक्सिन अझै बनेको छैन ।
तर पनि मानिस आज यसबाट सुरक्षित छ ।
इबोला, सार्स र क्यानसरको prevention मात्र पत्ता लागेको छ ।
उपचार छैन, तैपनि मानवजातिले यसलाई जितेकै छ ।
अहिले गर्न सकिने भनेकै होसियारी र सावधानीपूर्वक सुझबुझ हो ।
लकडाउनमै थुने जनतालाइ डिप्रेसनमा पुर्याउने कि सुझबुझपूर्ण तरिकाले देशलाई अप्रेसनमा फर्काउने यो choice चाहिं सरकारको हो ।
आउनुहोस्, हाम्रो निराशा, कुण्ठा र आक्रोसलाई सकारात्मक दवावका लागि प्रयोग गरौं ।
जनता बाँचे मात्र देश बाँच्छ हजुर दैनिक जीवनयापनलाई ट्रयाकमा फर्काउने प्रयास गरौं ।
आज सुनाउँदै छु दूर-दराजका हाम्रै गाउँघरका सुनौला कथाहरू
जताततै मडारिइरहेका काला बादल बाहिरका चाँदीका घेराहरू।
शहर-बजार कडा लकडाउनमा निस्ससिरहेका बेला गाउँमा माना रोपेर मुरी फलाउने उद्यमको धमाधम छ
गाउँमा न अस्पताल छ, न क्वारेन्टाइन छ, न सडक छ, न भीआईपीहरूको जाम छ न त राहतको लाम छ।
त्यसैले नै हुनुपर्छ शायद गाउँघरमा कोरोनाको संक्रमणको सम्भावना पनि अलि कम छ।
गाउँ घरको कुरा गरौं है त एकछिन-
अहिले पनि धनन्जय बाजे प्रात: ४ बजे नै उठेर स्नान गरी महामृत्युन्जय मन्त्र पाठ गरिरहेकैछन्
मकै बाली भित्र्याएर यस पाली वर्षामा कुन जातको धान रोप्ने भनेर कार्की दाजै पारिवारिक बैठक गरिरहेकैछन्।
लिम्बु दाजुले जोर हल गोरूलाई घाँस-दाना-पानी पेलेर जोत्न तयार अवस्थामा राखेकै छन्।
पर्ममा गोरु ल्याएरै भएपनि यसपाली आफैं बाली लगाउन हौसिएका बस्नेत काजी हलोको अनौ चिल्ल्याउँदैछन्।
खड्ग बहादुर काकाले मकै ओसार्न पाटको नाम्लो, चोयाको डोको र निगालाको डालो बुनिरहेका छन्।
मकैका ढोड काट्ने हँसिया र खुर्पाका धार मरे भन्ठानेर होला डिल्लीराम दाजुले उध्याउने सर्दाम जोहो गरिरहिरहेका छन्।
शेर्पीनी बजुले राडी र पाखीको तान अझै निप्ट्याइसकेकी छैनन्।
बाटाघरे पूर्ण साहूले नून, तेल, मसला र घ्यूको आपूर्ति रोकिन दिएका छैनन्।
तल्लाघरे गीता दिदीले रुइ-कपास जुटाएर आरतीको बत्ती कातिरहेकी नै छिन्।
यसपाली तीज मा छम - छम नाच्नलाई नयाँ भित्रिएकी सानु दुलहीले छड्के तिलहरी र नौगेडी हिफाजतले साँचिरहेकी नै छिन्।
गंगाधर पण्डित पितृलाई तर्पण दिंदै पण्डितनी बज्यैले पकाएको खीरको पायसले पिण्ड अर्पण गरिरहेका छन्।
आउँदो हिउँदमा कान्छो छोरोको बिहे गर्ने ध्याउन्नमा झिंगटिघरे ठूली आमैले सालको पातको टपरी गाँसिरहेकी छिन्।
जिम्वाल बाजेको गोठमा कोरली गाइ र उत्ताउलो बहर चपाइसकेको घाँसलाई मुखसम्म ल्याई उग्राइरहेका छन्।
काफल, चुत्रो र गुहेलीले पारी वन ढपक्कै ढाकिसक्यो अरे - पातली मैयाँ र उनका सहेलीहरू टिप्न जाने तरखर गरिरहेका छन्।
ठेकीमा दही जमेर रहर लाग्दो भएको छ - पल्लाघरे बिष्टिनी काकीले मोही पार्नलाई मदानी माझिरहेकी छिन्।
ढिंडो ओडाल्न बसेकी थममाया भाउजु अहिले पनि अँगेनाको डिलमा बसेर ताप्केमा कोदोको ढिंडो मस्काइरहेकी छिन्।
सलाम छ ती सिर्जनशील हातहरूलाई
जसलाई कोरोनाको कहरले पनि गलाउन सकेको छैन
प्रणाम छ ती क्रियाशील मनहरूलाई
जसलाई लकडाउनको आत्मरतिमा रमाउन परेको छैन
सम्मान छ ती कर्मजीवी जनहरूलाई
जसलाई राहतको प्याकेजको कुनै आशा र प्रतिक्षा पनि छैन।
आफ्नै पाखुरा बजारेर, पसिना चुहाएर, पौरख रोपेर सुन फलाइरहेका छन दूर दराजका हाम्रा दिदी-बहिनी दाजु-भाइहरू
आफ्नै कोठा भित्र थुनिएर , स्मार्ट फोनमा अल्झिएर How to make my lockdown days productive ? भनेर google गरिरहेका छौं हामी शहरिया भनाउँदाहरू।
यसरी हात खुट्टा बाँधिएर चौघेरामा बन्दी जस्तो भएर कतिन्जेल बस्नु पर्ने होला केही थाहा छैन।
एकचोटि साँच्चै गम्भीर भएर सोच्नुपर्ने भएको छ हामी सबैले - के लकडाउन बाहेक अरू केही विकल्प छैन?
केही न केही उपाय त पक्कै होला सरकार, बिकल्पको खोजी गर्नु पर्छ।
यदि बेलैमा गरिएन भने कोरोनाले मात्र हैन भोकले मान्छे मरेको खबर पनि यही कानले सुन्नु पर्छ।
त्यसैले फेरी भन्दैछु -
लकडाउन त क्षणिक निदान मात्र हो
समस्याको दिगो निराकरण होइन
होशियारी अपनाउँदै काममा फर्किने वातावरण मिलाइनु पर्छ अब
लकडाउन मात्रै सबै समस्याको समाधान होइन। - २
फेसबुक, ट्विटर र इन्स्टाग्राममा
म मेरो देशको सिमाना खोजिरहेको छु।
मेसेन्जेर, भाइबर र व्ह्वाट्स्यापमा
म मेरो देश प्रतिको माया खन्याइरहेको छु।
गुगल भित्र आफ्नो मिचिएको भूगोल नापिरहेको छु।
ह्यास्ट्याग, इमोजी र मिमहरुमा
म आफ्नो राष्ट्रभक्ति र स्वाभिमान साँचिरहेको छु।
ग्लोबल भिलेजको एक होनहार सिटिजन अरे म
तर आफ्नै देशको पहिचान खोज्दै बाँचिरहेको छु।
म मेरो देशको सिमाना खोजिरहेको छु।
सिमाना मिचिएको खबर त बर्षै पिच्छे आइरहन्छ
तर मेरो त सोच र संस्कार नै दशकौं देखि मिचिएको छ।
मेरो भेष-भुषा, ढाँचा-काँचा, बोली-भाषा, बिहान-साँझ
मेरै मन-मर्जीमा छिमेकीमय भएर किचिएको छ।
कमजोरी मेरो देश अनि मेरो सरकार को त हुँदै हो -
त्यसमा मेरो गम्भीर गल्ती पनि मिसिएको छ।
बिहान उठेपछि हिन्दी भजन नबजाई मेरो घर पवित्र हुँदैन
दिउँसो भरिमा एउटा बलिउडे टिकटक नबनाई चित्त बुझ्दैन
अनि राति ओछ्यानमा पुगेपछि भारतीय गजल नबजाई निन्द्रै लाग्दैन -
तर पनि यो मन त मेरो नेपाली हो।
मेरो फेवरेट नायक सलमान खान, मेरो मन पर्ने नायिका कट्रिना कैफ अनि सबैभन्दा प्रिय चलचित्र 'मिस्टर इन्डिया'
तर साँच्चै भनेको मैले - यो मन त मेरो नेपाली नै हो।
यो त हिजो सम्म को कुरा हो , आज देखि त कुरै बेग्लै भएको छ।
लिपुलेक र कालापानीको नाम अहिले जतासुकै भाइरल भएको छ।
त्यसैले मैले मेरो देशभक्तिको 'डोज' अलि थपेको छु अनि राष्ट्र प्रेमको 'भोल्युम' अलि बढाएको छु।
झटपट आफ्नो मोबाइल स्क्रिनको वालपेपर बदलेर सुगौली सन्धि अघिको 'ग्रेटर नेपाल' को नक्सा राखेको छु,
'सयौं थुँगा फुलका हामी' फेरी डाउनलोड गरेको छु, पृथ्वी नारायण शाहको नेपाल एकीकरण र बहादुर शाहको सीमा विस्तारको
भिडियोलाई आफ्नो प्लेलिस्टमा फेरी चढाएको छु।
मनै देखि एउटा असल नागरिक त हुन सकें सकिनँ थाहा छैन तर चन्द्र-सूर्य अंकित झण्डाको फेटा बाँधेको
एउटा सानदार फोटो पोस्ट गरेर भर्खरै राष्ट्रबादी नेपालीको कित्तामा आफूलाई उभ्याएको छु।
तर यो राष्ट्र भक्ति भित्रको मेरो बाध्यता र लाचारी हेर्नुस् त - २
कुकुरलाई मासु पैंचो दिएर मैले कुनै बेला असल छिमेकीको अवार्ड जितिसकेको थिएँ
म त्यहि पैंचो फिर्ता पाउने आशमा याचानापूर्ण नजर उसै तर्फ तेर्स्याइरहेको छु।
चीनले बनाएको ग्याजेटमा, अमेरिकाले बनाएको सोसियल मिडिया प्लाट्फ़र्म मार्फत
भारतले नै छोडेको इन्टरनेट ब्यान्डविथ चलाउँदै म मेरो देशको निम्ति न्याय मागिरहेको छु।
सबैले भनिरहेका छन् -
मेरो देशको भूमि लुटियो, जमिन चोरियो, सिमा मिचियो
तर खै कहाँ छन् हाम्रा सीमा रक्षकहरू ?
खै कहाँ छ हाम्रो रक्षा मन्त्रालय ?
के गर्दैछन् परराष्ट्र र भूमिसुधार मन्त्रालय हरू ?
कुन निन्द्रामा निदाएका छन् सम्बन्धीत सरकारी निकाय हरू ?
के नाप्दै छ नापी बिभाग?
के जाँच्दै छ तथ्याङ्क बिभाग ?
खै कता छ नेपाल प्रहरी, केमा अल्झेको छ नेपाली सेना ?
किन यति कमजोर छ हाम्रो सीमा रक्षाको संरचना ?
कसैले त भनिदेऊ सरकारलाई -
नेपाली सेनाले पेट्रोलको व्यापार गर्ने हैन
जग्गा प्लटिङ्ग गर्ने हैन, सडक खन्ने पनि हैन
अनि कोरोना-किट र औषधी भित्र्याउने ठेक्का लिने पनि हैन।
उसले त चट्टानसरि ठडिएर , हिमालसरि अग्लिएर अनि
मेघ जस्तै गर्जिएर सीमा को रक्षा गर्ने अघि बढ्ने हो
पूर्खाले आर्जेको हाम्रो पवित्र भूमिको एक-एक इन्च जोगाउन लाई अन्तिम गोली सम्म
अनि रगतको अन्तिम थोपा सम्म लड्ने हो।
सरकार ! तिम्रो आदेशलाई मानेर म त घर भित्रै लकडाउनमा बसेको छु।
के तिमी मेरो आग्रहलाई मानेर सिमाना लक डाउन गर्न सक्छौ ?
ठिक छ - तिम्रो बुझाईमा हामी नेपाली जनता भेडा नै हौं रे ल
तर के तिमी जिम्मेवार गोठालो बनेर हामीलाई सहि दिशा दिन सक्छौ ?
हिसाबै गर्ने हो भने - ३ करोड नेपाली जनता हरेकको हिस्सामा ५,००० वर्ग मिटर जमिन पर्ने रहेछ
के तिमी जिम्मेवार खेतालो बनेर मेरो ५,००० वर्ग मिटरको सुरक्षा गर्न सक्छौ ?
यो तिम्रो लागि मौका हो सरकार , यो तिम्रो लागि मौका हो।
यो तिम्रो लागि मौका हो सरकार
बन्द गरिदेऊ सिमाना सँधै- सँधैका लागि
यो तिम्रो लागि अवसर हो सरकार
तोडिदेऊ असमान धरातलमा उभिएको सम्बन्ध लाई सँधै-सँधैका लागि।
अलिकति प्रयास म गर्छु सरकार
आफ्नै भजन सुनेर, आफ्नै गीत गाएर, आफ्नै बारीमा फलेको तिहुन तरकारी खाएर
अलि बढी जोड तिमी लगाऊ सरकार
यो साँस्कृतिक विचलन, यो पहिचानको संकट, यो स्व-परिचयको खडेरी,
अनि यो सीमा अतिक्रमणलाई जरै देखि उखालेर।
सरकार र जनता दुबै मिलेर लड्यौं भने - देशले जित्छ सरकार !
सरकार र जनता नै आपसमा लड्यौं भने - दुश्मनले जित्छ सरकार !
फेसबुक , ट्विटर र युट्युबमा मात्र कुर्लने हैन
मेरो परनिर्भरताको सोचबाट म पनि अलिकति अगाडि बढ्नु पर्छ।
यो सिमाना र जमीनको मात्र लडाँइ हैन, अस्तित्व र पहिचानको लडाँइ हो -
हामी सबै मिलेर लड्नुपर्छ।
हामी सबै मिलेर लड्नुपर्छ।
तिम्रो आँखाको डिलमा थपक्क बसूँ भन्छु
आँसु बनाई झारिदियौ
ओठको किनारामा चपक्क टाँसिन खोज्छु
मुस्कान बनाई उडाइदियौ
तिम्रो छातीको गहिराइमा लुटुक्क बास माग्छु
थपक्क ढोका ढप्काइदियौ
तिम्रो मुटुभित्र ढुक-ढुक धड्किने लालसा राख्छु
पम्प-आउट गरेर फालिदियौ
तिम्रो पोल्टोमा निर्लिप्त समेटिन चाहन्छु
टिमिक्क पटुकी कसिदियौ
तिम्रो काखमा बेपर्बाह लुट्पुटिन चाहन्छु
प्रवेश निषेध नै गरिदियौ
तिम्रो पाउमै भए पनि विश्राम लिन खोज्छु
निर्दयता पुर्बक लत्याइदियौ
के मेरो स्थान तिम्रो पैतालामै हो त ? - 2
पैतालामै रहेर पनि घसेटिएर हिंड्न खोज्छु
टक्टकाएर जमिनमै झारिदियौ
ठिक छ, म जमिन मुनि भासिएर नै बस्छु। - 2
तबसम्म - जबसम्म म धर्ति माथि अङ्कुरण हुन सकूँ
फेरी घाम देख्न सकूँ, प्रकाशले आफुलाई सेक्न सकूँ
बर्षातले आफुलाई सिंच्न सकूँ, किट-पतंगहरूलाई जित्न सकूँ
झार-पातहरुलाई मिच्न सकूँ, अनि तिम्रो ध्यान आफुतिर खिंच्न सकूँ
एक दिन त कसो नफुलूँला र ? सुगन्ध फैलाउँदै कसो नझुलूँला र ?
अनि तिम्रो आँखा, मस्तिस्क, मुटु, हात, सुगन्ध-ग्रन्थी, अनि मुहार हुँदै
तिम्रो सुन्दर नागबेली कपालमा थपक्क कसो नटाँसीयौंला र ?
तिमीलाई सुन्दर, सुभाषित, चिरिच्याँट्ट अनि शोभायमान बनाउँदै
तिम्रो शीरमा कसो सजिन नसकौंला र ?
तिम्रो माथामा कसो टल्किन नसकौंला र ?
तिम्रो मस्तकमा कसो चम्किन नसकौंला र ?
सायद त्यो दिन फलिभूत हुनेछ मेरो युगौं युगको तपस्या
हो…….त्यही दिन पूरा हुनेछ मेरो कठोर प्रेमको प्रतिज्ञा
पेरिस को आइफेल टावर शान्त छ
विद्दुतीय लिफ्टबाट टावरको गजुरसम्म पुगेर श्याम्पेन पिउँदै चुम्बन लिने प्रेमिल जोडीहरु मानौं कतै हराएका छन्।
टावरको आँगन भरि बिस्कुन झैं छरिएका खुद्रा व्यापारी र पदयात्रीहरु हेर्दा हेर्दै कतै बिलाएका छन्।
अलि पर रहेको लुभ्र म्युजियम अहिले पनि मोनालिसालाई खोकिलामा लुकाएर जमिन मुनि भूमिगत छ।
जीवित देवी कुमारी को दर्शन गर्न झैं लामबद्द हुने सौन्दर्यका पुजारीहरु चाहिं आँखै अगाडीबाट लापत्ता भएका छन्।
मोनालिसा आज पनि आफ्नो रहस्यमयी मुस्कान छाडिरहेकी नै छ।
फरक यत्ति हो - हिजो तँछाड-मछाड पूर्ण भिड-भाड लाई लाज मान्दै हेरिरहेकी थिई ,
अनि आज आफ्नै आँखा अगाडीको मुर्दा शान्ति लाई नियाल्दै टोलाइरहेकी छ।
***********************************************************************
न्युयोर्कको म्यानहटन आज निस्तब्ध छ।
टाइम्स स्क्वायरका आलिसान महलहरुका छातीमा टाँसिएर बिजुलीको गतिमा चम्किरहने रंगिन बिलबोर्डहरु दर्शक-विहिन भएका छन्।
पहिलो, दोस्रो, तेस्रो हुँदै ११ औं एभेन्यु सम्मका अढाई सय भन्दा बढि स्ट्रिटहरुमा मानिस होइन सन्त्रास दौडिरहेको छ।
हलिउड को युनिभर्सल स्टुडियो आज स्टार विहिन भएको छ।
विख्यात कलाकारहरु को वस्ती बेभर्ली हिल्स चकमन्न छ, बरु पारि पट्टिको म्युजियम अफ डेथ (मृत्युको संग्रहालय) भित्रका कृत्रिम लासहरु बौरिएका छन् ।
चमक-धमक युक्त रंगी-विरंगी, उट्पट्याङ्ग-उटाङ्गी स्ट्रिट पर्फर्मरहरु महान कलाकार बन्ने सपना लाई थु-थु गर्दै सायद गरिबीको बंकर भित्रै फर्किसकेका छन्।
विश्वलाई जोगाउने ठेक्का लिएका सुपरम्यान, स्पाइडरम्यान, आइरनम्यान, ब्याटम्यान अनि क्याप्टेन अमेरिकाहरु सायद अहिले सामुहिक छुट्टी मनाउन अर्कै लोकमा पुगेका छन्।
कहिल्यै नसुत्ने लास भेगास शहरका २४-घन्टे जुवा घर र स्ट्रिप क्लबहरु सुस्ताएका छन्, अस्ताएका छन् ।
सुरा-सुन्दरी ले घेरिएर रुलेट र ब्ल्याक-ज्याक मा एकै रात लाखौँ डलरको दाउ लगाउने धनपतिहरु जिन्दगी नै दाउमा परेको बुझेर अलमल्ल परेका छन्।
***********************************************************************
लन्डनको टावर ब्रिज आज सुनसान छ।
बायाँ हातमा टेक-अवे कफी कप र दायाँ हातमा हेड फोन जडित मोबाइल फोन बोकेर ओभरकोटमा ठाँटिदै हतार-हतार गन्तब्य नाप्ने युवा जमात अलप भएको छ, लाग्छ -
रानी भिक्टोरियाको पाला देखिका प्राचीन घरका बेसमेन्टहरु मा बन्धक भएको छ।
अलि पर को अग्लो बिग बेन टावर बल्छी मा माछा नपरेर अल्छी मानेको माझि झैं थेम्स नदि को किनार मा नि:शब्द ठडिएको छ।
बिग बेन को विशाल घडी चलेकै छ, सुई हरु घुमेकै छन्, पेण्डुलम हल्लिरहेकै छ
तर पनि मध्ये लन्डन को यो उराठ लाग्दो सन्नाटा हेर्दा लाग्छ - समय टक्क कहीं रोकिएको छ, ब्रेक्जिटले थलिएको बेलायतमा आज अर्को ताण्डव चलिरहेको छ।
***********************************************************************
अस्ट्रेलियाका घमाइला समुद्री-किनारहरु, न्युजिल्याण्डका रमाइला हरिया फाँटहरु
स्विजरल्याण्डका सेता हिमाली डाँडाहरु , दुबईका अद्वितीय गगन-चुम्बी महलहरु
चीनका चमत्कारिक बिशाल पर्खालहरु, भारतका ऐतिहासिक अनि धार्मिक स्थलहरु
नेपालका ताल-तलैया, पहाड-जंगल, सडक-बस्ती, झुपडी-महल, गाउँ अनि शहरहरु
के यी सबैले विश्राम मागेकै हुन् त ?……… सायद हुन सक्छ।
त्यसैले त सेल्फ - आइसोलेसन मा गएका छन् यी सबै सबै :
कोरियाको बुसान बन्दरगाह , स्विजरल्याण्डको माउन्ट पिलाटस
न्युजिल्याण्डको बन्जी स्टेसन, अस्ट्रेलियाको सर्फर्स प्याराडाइज
इटालीको ग्र्याण्ड क्यानल, जर्मनीको बर्लिन टावर
अमेरिकाको स्ट्याचु अफ लिबर्टी, बेलायतको म्याडम टुसाड
दुबईको बुर्ज खलिफा, चीनको ग्रेट वाल
भारतको ताजमहल अनि नेपालको फेवाताल
***********************************************************************
इतिहास भन्छ- रोमन साम्राज्य का निरो नाम गरेका तानाशाही सम्राट आफ्नै शहर आगो ले जलेको थाहा पाएर पनि बिन्दास भएर बाँसुरी बजाइरहेका थिए रे।
आज पुरै इटाली तहस नहस भैरहेको रमिता हेरेर कतै अदृश्य महाशक्ति भनौं या प्रकृति भनौं मुसु-मुसु हाँस्दै काल-घण्टा अर्थात् डेथ-बेल बजाईरहेको त छैन !
महामारीको आगोमा सर्लक्कै लपेटिएर लाखौँ मानिसहरु छट्पटाइरहेको बेला आफू भने स्वर्गका राजा इन्द्रले झैं मेनका र अप्सराहरुको नाच हेर्दै अजम्बरी अमृतपान गरिरहेको त छैन ?
भो छाडीदिउँ यी अनुमानका कुरा। बरु गरौँ आजको तितो यथार्थका कुरा। अनि त्यहि तितो यथार्थ भित्रका केहि उज्याला कुरा।
सबै सबै त एकान्तबास मा गएका छन्, नजरबन्दमा परेका छन्। आउनुस तपाईं हामी पनि एकान्तबासमा जीवन खोजौं।
बाहिर जान नपाएर के भो त, आफ्नो अन्तर्मन भित्र छिरौं - अनि आफैं भित्र आफु हुनुको अर्थ खोजौं।
बन्द कोठाको सुनसान भित्र ॐ कारको ध्वनि खोजौं, सत्यम् शिवम् सुन्दरम को अन्तर्निहित मर्म खोजौं।
जिन्दगीको लगातारको दौडमा रेल गाडी कुदे जस्तै भागा-भाग गर्दा गर्दै बाँच्ने कला नै बिर्स्यौं होला हामीले -
आउनुस सत्य-शास्वत वाणी खोजौं, आफु भित्र को प्राणी खोजौं, अन्धकार रात पछिको विहानी खोजौं,
हामी भित्र को 'म' खोजौं, अनि म भित्र को 'हामी' खोजौं।
आज डोनाल्ड ट्रम्पलाई भेट्न जानु छ
अमेरिकामा कति जनता संक्रमित छन् र कति जनता निको हुँदैछन् भनेर जान्न मन छ।
ए लौ न, बेलायतमा त प्रधानमन्त्री बोरिस जोन्सन आफैं अस्पताल भर्ना भए रे
तपाईं कहिले फेरी युद्द मैदानमा फर्कनुहुन्छ भनेर सोध्न मन छ।
आज क्यानाडा तिर एकछिन चिहाउन मन छ
प्रधानमन्त्री जस्टिन ट्रूडोले व्यापारी र जागिरेहरूलाई कति अरबको राहत घोषणा गर्दैछन् भनेर सुन्न मन छ।
एकछिन त उत्तर तिर सी-जिंग-पींग लाई पनि बिथोल्न जानु छ
चीनबाट इटाली र स्पेनमा कति जहाज स्वास्थ्य सामाग्री पठाउँदै छन् भन्ने उत्सुकता मेट्न मन छ।
अलि भरे-भरे दक्षिणी छिमेकी नरेन्द्र मोदीलाई पनि नियाल्नु छ
भारतमा 'जनता कर्फ्यु' कति सफल भयो भनेर आँकडा माग्न मन छ।
आज स्कट मरिसनले पनि बोलाएका छन् - जानु पर्छ।
अष्ट्रेलियामा जागिर-विहिनहरुलाई कति समयसम्म भत्ता दिने रहेछन् भनेर पहिल्याउनु छ।
पिडितहरुको चहराइरहेको घाउमा मल्हम लगाएको हो कि जस्तो लाग्यो
एक-से-एक राष्ट्र प्रमुखहरु त मेरै बैठक कोठामा पालैपालो फेहरिस्त लिएर हाजिर भैरहेका छन्।
हुन त हामीलाई 'काग लाई बेल पाक्यो हर्ष न विस्मात' भने जस्तै नै हो।
तैपनि तिनका जनतालाई 'तिम्रो संकटमा हाम्रो पनि साथ छ' भनेका होलान् भनेर मन दङ्ग छ।
ए सुन न ! सबै-सबैलाई त भेटिसकें, आफ्नै बैठक कोठा र टेलिभिजन सेटमा देखिसकें
एकचोटी आफ्नै राष्ट्रपतिज्यूलाई पनि जदौ गर्न जानु पर्ने छ
सार्है नै सौखिन छिन् रे उनी- एउटा बनारसी साडी टक्र्याउन मन छ।
अनि यस्तो बेलामा आफ्नै देशका प्रधानमन्त्रीलाई कसरी नभेट्नु
लौ न एक सिसी हर्लिक्स, एक पाउ मिश्री र एक किलो फलफूल ठिक पार त
सार्है बिरामी छन् रे - एक चोटि बोलाउन पो जान मन छ।
के इलामको श्रीअन्तु डाँडामा आज बिहान सूर्य उदाएन र ?
के झापाको केचनामा आज साँझ घाम डुबेन र ?
के सर्वोच्च शिखर सगरमाथा होचिएको हो र ?
के श्वेत हिम शृंखला अन्नपूर्ण बुच्चिएको छ र ?
हामीले पो न देखेका होलाउँ त -
रारा तालको कञ्चन पानी अहिले पनि टल्पलाइरहेकै छ।
फ़ोक्सुण्डो, तिलिचो अनि च्छो रोल्पा तालहरुमा जलसञ्चार भइरहेकै छ।
विशाल सप्तकोशी आफूमा सुनकोशी, तामाकोशी, दुधकोशी, इन्द्रावती, लिखु, अरुण अनि तमोर नदीलाई मिसाएर बगिरहेकै छ।
कालिकोटको पाचाल झरना, पोखराको पातले छाँगो अनि जोमसोम छेवैको रुप्से छहरा रोकिएका छैनन्, झरिरहेकै छन्।
सिन्धुपाल्चोकको पाँचपोखरी, किर्तिपुरको टौदह अनि लाङ्गटाङ् फेदैको गोसाईकुण्ड रित्तिएका छैनन्, जमिरहेकै छन्।
सेती नदी जमिनको अनन्त गर्भमा भासिएर लुकामारी खेल्दै अघि बढिरहेकै छ, महाभारत र चुरे पर्वतका घना हरिया जंगलहरू सुकेका छैनन्, झाङ्गिरहेकै छन्।
के तपाईं लाई लाग्छ र धरान मास्तिरका तीनजुरे, मिल्के अनि जलजलाका डाँडाहरूमा लटरम्मै गुराँस नफुलेका होलान् ?
अनि के बारा परवानीपुर का हरिया फाँट भरि गहुँका लह-लहाउँदा बाला लटरम्मै नझुलेका होलान् ?
वसन्त ऋतुको यो मस्त मौसममा शिवपुरीका जङ्गलमा सुनगाभा र सुनाखरीका सुगन्धित आभाहरु नखुलेका होलान् ?
त्यस्तो त पक्कै होइन।
काठमान्डौको रात्री क्लब 'लर्ड अफ द ड्रिङ्क्स LOD' पो सुनसान होला त, सुन्दरीजल जङ्गलका सल्लाका रुखहरू सुसाएकै छन्, सिसौ हरू ले सुसेलेकै छन्।
बिमानस्थलमा हेलिकप्टर, टुइन अटर, बोइङ्ग जेट, एयरबस, न्यारोबडी, वाइडबडी जहाजहरू पो ग्राउण्डेड छन् त, तर चराहरू त कावा खाँदै आकाश माथी उडिरहेकै छन्।
मानिसलाई, गाडीलाई, ट्रेन र प्लेनलाई पो सिमाना लकडाउन भयो त, प्राकृतिक हावाका झोंकाहरू त अहिले पनि घरि सिमापारी घरि सिमावारी टहलिरहेकै छन्।
सृष्टि गतिशील छ , जगत जग्मगाइरहेकै छ
त्यसैले हाम्रो मस्तिष्कलाई पनि सृजनात्मक र सकारात्मक बनाइरहनुपर्छ।
परिस्थिति जतिसुकै प्रतिकूल किन नहोस् - मनस्थिति सँधै अनुकूल नै राखिराख्नु पर्छ।
स्वस्थ, व्यस्त र मस्त जिन्दगी जिउने जुन कामना छ नि हामी भित्र, त्यो जिजीबिषा जुर्मुराइरहनैपर्छ।
जीवनलाई सार्थक बनाउने जुन चाहना छ नि हामी भित्र, त्यो अभिलाषा अङ्कुराइरहनैपर्छ।
भन्नेहरू त भन्छन् -
'बसुदैव कुटुम्बकम' को बेसुरे बाजा बजाउँदै साम्राज्यवादको पासा फाल्ने शासक हरू को घिनलाग्दो षड्यन्त्र हो यो।
प्रकृतिबाट नै पैदा भई प्रकृति संगै पठजौरी खेल्ने पापीहरूको पापको अत्यासलाग्दो परिणाम हो यो।
धातु, कंक्रिट प्लास्टिक अनि पेट्रोलियम को यो उराठलाग्दो जङ्गलबाट एक लामो सास फेर्न पृथ्वीले लिएको अल्पविराम हो यो।
सबै लाई थाहा छ -
संसार एउटा बिन्दुमा पुगेर सिद्धिन्छ।
धड्कन एउटा दिनमा पुगेर रोकिन्छ।
जिन्दगी एउटा समयमा पुगेर नासिन्छ।
तर आज त्यो बिन्दु होइन, आज त्यो दिन होइन।
अहँ आज त्यो समय हुँदै होइन।
बास्तव मै भन्ने हो भने -
हामी सिद्धिएका छैनौं , सुध्रिएका छौं।
हामी कक्रिएका छैनौं, फक्रिएका छौं।
हामी गाडिएका छैनौं , ठडिएका छौं।
त्यसो भए अब के गर्ने त ? Million Dollar Question !
उकुसमुकुसलाई उत्साहमा उकास्नु छ।
शिथिलतालाई शितलतामा ढाल्नु छ।
विष्मृतिलाई विशालतामा बदल्नु छ।
घनघोर पीडा र छटपटी रूपी यो महासागर भित्र समुद्र मन्थन गरी-गरी अमृत पहिल्याउनु छ।
यो मानव जीवन सायद सदियौँमा एकचोटी मात्र पाउँछौं होला हामीले - यसलाई अनन्त ज्योति जस्तै उजिल्याउनु छ।
यसलाई अनन्त ज्योति जस्तै उजिल्याउनु छ।
Website developed by Web house Nepal