के तपाईं सपना देख्ने हिम्मत गर्नु हुन्छ? (Do you dare to Dream?)

Blog

blog

के तपाईं सपना देख्ने हिम्मत गर्नु हुन्छ? (Do you dare to Dream?)

सपना दुई थरिका हुन्छन् :

१) राति निदाउँदा देखिने सपना 

२) राति निदाउनै नदिने गरी झक्झक्याउने सपना 

म आज दोश्रो किसिमको सपनाको बारेमा चर्चा गर्न गइरहेको छु।  

सबै भन्दा पहिले त एउटा प्रश्न गर्छु: 

"के तपाईं सपना देख्ने हिम्मत गर्नु हुन्छ?" 

सपना देख्नु भनेको 'रहर गर्नु' हैन। 
सपना देख्नु भनेको 'चाहना गर्नु' मात्र पनि हैन।

सपना देख्नु भनेको भविष्यको रहर र चाहनामा वर्तमानमै बाँच्न सक्नु हो। सपना देख्नु भनेको 'मलाई यो चाहियो' भन्नु हैन, 'मलाई यो जसरी पनि चाहियो, चाहियो' भन्नु हो।  अनि सपना देख्नु भनेको कल्पना मा रमाउनु या प्रतिज्ञा गर्नु या प्रतिबद्धता जनाउनु मात्र पनि हैन। खासमा सपना देख्नु भनेकै त्यसलाई पहिलो दिन देखि नै वास्तविकतामा बदल्नु हो। यदि वास्तविकतामा बदल्न सकिन्न भने - सायद त्यो तपाईंको सपना नै हैन।  त्यो खालि तपाईंको रहर या चाहना हो। 

१) गोरखाको एउटा सानो राज्यमा जन्मेका पृथ्वी नारायण शाहले एउटा ठूलो देशको राजा बन्ने सपना देखे र त्यसैले नेपाल एकिकरण सम्भव भयो। 

२) अमेरिकाका कलेज ड्रप-आउट बिल गेट्सले संसार भरिका कम्प्युटरहरूमा आफ्नो अपरेटिंग सिस्टम विन्डोज स्थापना गरेको सपना देखे - त्यसैले उनी धेरै वर्ष सम्म संसारकै धनी व्यक्ति रहन सफल भए।  र अहिले त्यो आफ्नो धन को ठुलो हिस्सा समाज सेवामा समेत लगाइरहेका छन्।    

३) दक्षिण अफ्रीका लाई स्वतन्त्रता दिलाउने सपना देखेका नेल्सन मन्डेलाले लगातार २७ वर्ष जेल जीवन झेलेर पनि आफ्नो उक्त सपना लाई पुरा गरेरै छाडे र त 'फादर अफ द नेसन' कहलाइए। 

४) मलेसियाबाट छुट्टिएको मछवाराहरूको एउटा सानो अविकसित टापु  राज्यलाई ३० वर्ष भित्रमा संसारकै समृद्ध मुलुक मध्यमा उभ्याउने 'ली क्वान यिउ' को सपना कै उपज हो आजको अति विकसित सिंगापुर। समाज र राष्ट्र नै बदल्ने कति ठुलो सपना ! 

५) समुद्रको बीचमा उभिएको मरुभूमिको देश दुबईलाई संसार भरिका पर्यटक र लगानीकर्तालाई आकर्षित गरी भव्य, विशाल एवम् अति सम्पन्न र बिकसित बनाउने  सपना देखेर नै त्यहाँका प्रधानमन्त्री 'मोहम्मद बिन रसिद अल मक्तोम' सफल दरिएका छन्। आज दुबई एसिया, यूरोप र अमेरिकाका लागि व्यापारिक केन्द्र बनेको मात्र छैन संसारकै सबै भन्दा ठुलो भवन 'बुर्ज-खलिफा', संसारकै सबै भन्दा ठुलो सपिङ्ग सेन्टर 'दुबई मल', समुद्र माथिको बस्ती 'पाम आइल्यान्ड' आदिका कारण संसार भरका मानिसहरूको आकर्षणको केन्द्र बनेको छ।  

६) दुवै हात र खुट्टा बिना जन्मिएका अस्ट्रेलियन 'निक भुजुसिक' आज ख्यातिप्राप्त समाजसेवी, अभिनेता र वक्ता बनेका छन्।  यो सपनाको शक्ति नभए अरु के हो त ?

अब म फेरी मेरो उही प्रश्न दोहोर्याउँछु - "के तपाईं सपना देख्ने हिम्मत गर्नु हुन्छ?"

तपाईंले पक्कै मलाई प्रतिप्रश्न गर्न सक्नुहुन्छ : 'के म त्यत्ति ठूलो सपना देख्न सक्छु ?'
अथवा : 'सपना त देखौंला रे ल, तर के म ती सपना पुरा गर्न सक्छु ?'

१९ औं शताब्दीका महान् अमेरिकी उद्धमी हेनरी फोर्ड(फोर्ड मोटर्सका संस्थापक) ले भनेका छन् - 
"यदि तपाईंलाई 'म गर्न सक्छु' भन्ने लाग्छ भने - तपाईंले पक्कै सक्नुहुन्छ।  र यदि तपाईंलाई 'म गर्न सक्दिन' भन्ने लाग्छ भने - तपाईं ले पक्कै सक्नुहुन्न।  दुबै अवस्थामा तपाईं सही नै हुनुहुन्छ।"  

कुनै पनि काम असम्भव हुनका लागि हजार वटा कारण हुन सक्छन् तर सम्भव हुनका लागि एउटै कारण काफी हुन्छ - के तपाईंसँग त्यसलाई सम्भव तुल्याउने सपना छ ?
यदि छ भने, विश्वास गर्नुस् - सफलताले अवश्य तपाईंलाई चुम्नेछ। 

त्यसो भए के हरेक सपना पुरा हुन्छन् त ?

हरेक सपना पुरा हुन्छन्, यदि ती स्मार्ट(SMART) छन् भने। 

S - Specific (विशिष्ट अर्थात् त्यहि नै हो भनेर तोक्न सकिने)
M - Measurable (नाप्न सकिने )
A - Achievable (प्राप्त गर्न सकिने)
R - Realistic (वास्तविकतामा आधारित) 
T - Time-bound (समय सीमा तोकिएको) 

यो कसीमा राखेर हेर्ने हो भने, तलका सोचहरूलाई सपना मान्न सकिएला त ?

१) म ठूलो गाडी किन्न चाहन्छु। (कति ठुलो, कस्तो ठूलो, कुन चाहिं ???)
२) म प्रशस्त धन कमाउन चाहन्छु। (कति ?) 
३) म टुँडिखेल र घन्टाघर किन्छु। ( हैट् ! )
४) म भोलि बिहान सगरमाथाको टुप्पोमा पुग्छु। (कस्सम !?) 
५) म कुनै न कुनै दिन सफल वक्ता बन्छु। (कहिले ?, कुन दिन ? ) 

यिनै चाहनाहरूलाई सपनामा रुपान्तरण गरेर हेरौं है त : 

१) म टोयोटाको रातो रंगको Rav 4 गाडी किन्नेछु। (Specific )
२) म यो वर्ष तलब र कमिसन गरेर कर बाहेक २४ लाख कमाउनेछु। (Measurable)
३) म बानेश्वर प्लाजा किन्नेछु। (Achievable)
४) म अबको ५ वर्ष भित्रमा सगरमाथा आरोहण गर्छु। (Realistic)
५) म आउने वर्षको गुरु पूर्णिमा सम्ममा सफल वक्ता बनेरै छाड्छु।  (Time-bound)

अब बल्ल तपाईंका रहरहरूले आकार, रङ्ग, उचाइ, क्षेत्रफल र आयतन पाउँदैछन्। अब बल्ल ती चाहनाहरूले तपाईंको जीवनमा घनत्व र महत्व शृजना गर्दैछन्। अब बल्ल तिनले सपनाको स्वरूप लिएका छन्। 

बधाई छ ! तपाईं सपना पूरा गर्ने यात्राको पहिलो पाइला चाल्न सफल हुनुभएको छ।    

अब तपाईंको मनमा लाग्न सक्छ - मेरो त अहिले आर्थिक अवस्था नाजुक छ।  म शारीरिक रुपमा तन्दरुस्त छैन।  म पढाइमा अब्बल छैन। ममा ठूलो मास लाई फेस गर्ने हिम्मत छैन। म गरीब परिवारमा जन्मेको हुँ। म दुर्गम गाउँबाट आएको हुँ।  आदि.… आदि.… आदि.….  
यी सबै हाम्रा मनस्थितिहरू मात्र हुन्। तपाईंले आज देख्न लागेको र भविष्यमा पुरा गर्ने सपना सँग तपाईंको बिगतको केहि पनि सम्बन्ध नै छैन।  बिल गेट्सलाई एकचोटी सुनौं त।  उनी भन्छन् - "यदि तिमि गरीब भएर जन्मियौ भने त्यसमा तिम्रो केहि दोष छैन तर तिमी गरीब नै रहेर मर्यौ भने त्यसमा तिम्रो गल्ती छ।"

सपना कसरी पूरा हुन्छ त ?    

यी दुई काम गर्नुस् - सपना पूरा भएनन् भने त्यो आठौं आश्चर्य हुनेछ:
१) सपना देख्ने आँट गर्नुस्। 
२) सपना लेख्ने आँट गर्नुस्। 

अनि शुरू आजै बाट गर्नुस्। एउटा अति नै राम्रो डायरी किन्नुस्। त्यसमा आफ्ना सपनाहरू चित्र, मूल्य र पूरा गर्ने मिति समेत उल्लेख गरेर लेख्न थाल्नुस्। सपनाहरूलाई ड्रिम डायरीमा उतार्दा तलका तीन भागमा विभाजन गर्न सक्नुहुन्छ:

१) अल्पकालीन सपना - १ वर्ष भित्र पुरा गर्न सकिने (जस्तै: घडी, गहना, ल्यापटप, फर्निचर, मोबाइल आदि)
२) मध्यकालीन सपना - २/३ वर्ष भित्र पुरा गर्न सकिने (जस्तै: मोटरसाइकल/स्कुटर, कलेज डिग्री, ऋण तिर्ने, विदेश यात्रा आदि)
३) दीर्घकालीन सपना - ५ वर्ष या बढी समय लाग्न सक्ने(जस्तै: घर, गाडी, उद्द्योग, व्यवसाय विस्तार आदि)  

जब आफ्ना सपनाहरू ड्रिम डायरीमा चित्र सहित, मूल्य सहित, रङ्ग सहित, आकार सहित देख्न थाल्नुहुन्छ नि - तब ती तपाईंका सपनाहरू जागृत हुन थाल्नेछन् र अझै मजबुत हुनेछन्।

हरेक रात सुत्नु भन्दा अगाडी त्यो डायरी पल्टाउनुस् - आफ्ना सपनाहरूलाई सुम्सुम्याउनुस्, ती सपनाहरू पुरा भै सकेको महसुस गर्नुस् र  सकेसम्म त्यो डायरी हेर्दा-हेर्दै निदाउनुस्। 

अनि पुरा हुनेछन् तपाईं का ती हरेक सपना। 

बहुलट्ठी जस्तै सुनिने माथिका कुराहरूको अब वैज्ञानिक तथ्यमा आधारित रहेर व्याख्या गरौं है त:

१) मानिसको मस्तिष्क दुई भाग मिलेर बनेको हुन्छ - दायाँ र बायाँ। 

२) बायाँ मस्तिष्क लाई चेतन मस्तिष्क(Conscious Mind) भनेर बुझौं - यसले तथ्यहरूको विश्लेषण गरेर हाम्रा इन्द्रिय हरू मार्फत क्रियाहरू गराउँछ।  जस्तै भोक लाग्दा खाना खाने, आफू भन्दा ठुलो लाई सम्मान गर्ने, स्कुल-कलेज पढेर डिग्री लिने आदि। 

३) दायाँ मस्तिष्कलाई अर्धचेतन मस्तिष्क(Subconscious Mind) भनिन्छ। यसले हामीमा संचित विश्वास, भावना,  मान्यता, कल्पनाशीलता र अन्तर्ज्ञान को आधार मा हामी लाई क्रिया गराइरहेको हुन्छ - जुन अक्सर हामीले प्रयास नै नगरी सम्पन्न भैरहेका हुन्छन्।  जस्तै: तपाईं गाडी या मोटरसाइकल चलाउन अभ्यस्त भैसक्नु भएको छ भने दिमागमा उत्ति जोर नै नलगाई स्वत: स्फूर्त रुपमा गियर, ह्यान्डल र ब्रेकहरु चलाएर गन्तव्यमा पुगिरहनु भएको हुन्छ।   

४) अवचेतन मस्तिष्क मा कुनै पनि सोच छिर्न सक्यो भने त्यो स्वत: स्फूर्त बानीमा परिवर्तन हुन्छ। र सफलता पनि एउटा स्वत: स्फूर्त बानी बन्न सक्छ। 

५) कुनै पनि सपना लाई यदि २१ चोटी सम्म अवचेतन मनमा छिराउन सकियो भने त्यसलाई नै वास्तिविकता मानेर हामीलाई हरेक क्रिया स्वत: स्फूर्त रुपमा त्यो सपना पुरा गर्ने दिशा तर्फ केन्द्रित गराउँछ। यसको रोचक कारण के हो भने - अवचेतन मनले कल्पना र वास्तिविकता छुट्ट्याउनै सक्दैन। यदि त्यहि सपनालाई चेतन मनले मात्र भेट्टायो भने बरू तर्क गर्छ, सम्भव-असम्भव भनेर फिल्टर गर्न खोज्छ र धेरै जसो सपनालाई हामी आफ्नै चेतन मनको निर्देशनमा स्वाहा पारिदिन्छौं।  

६) राति निदाउनु अघि हामी अर्ध -निन्द्रा अर्थात् तन्द्रामा हुन्छौं। हाम्रो दिमागले हमेसा ब्रेन वेभ उत्सर्जन गरिरहेको हुन्छ। जब हामी तन्द्रा मा हुन्छौं - त्यसबेला ब्रेन वेभ थिटा फ्रिक्वेन्सी(Theta Frequency) अर्थात् ४ देखि ८ हर्ज़( 4 to 8 hertz) मा उत्सर्जन भैरहेको हुन्छ। हो त्यहि बेला नै हाम्रो अवचेतन दिमाग सबै भन्दा बढी सक्रिय हुन्छ र आफ्नो समीपमा भएका कल्पनाशीलता(imagination), दृश्य चित्र(images), भावना(emotions), प्रेरणा(inspirations) र श्रिजनशीलता(creativity) लाई संग्रहित गर्न सक्छ।  तसर्थ अर्ध -निन्द्राको समयमा ग्रहण गरिएका सपनाका चित्रहरू अवचेतन मनमा पुग्ने सम्भावना धेरै हुन्छ र त्यो सपना तपाईंले स्वत: स्फूर्त रुपमा गाडीको गियर बदले जस्तै सफलताको दिशामा आफैं दौडन थाल्छ।  

७) तपाईंका क्रिया प्रतिक्रियाहरू अवचेतन मनकै प्रकट रुप हुन्।  तसर्थ अवचेतन मन भित्र छिराइसकिएका सपनाहरू पुरा हुने दौरानमा तपाईंका कर्महरू प्रकट हुँदै जान्छन् र परिणाम निकाल्दै पनि जान्छन्। भनिरहनु नपर्ला - यसको विपरित यदि तपाईंले आफ्नो अवचेतन मनमा दुख, पीडा, दरिद्रता, अभाव, अभद्रता, अपराधिकता छिराउनु भयो भने त्यसै अनुरुपमा फलहरू नै प्राप्त हुने हुन्। त्यसैले यो कुरा पक्का हो कि - जन्म हाम्रो हात मा छैन, तर हाम्रो भविष्य हाम्रै हातमा छ। कस्ता सपनाहरू देख्ने र पुरा गराउने त्यो वास्तवमै हाम्रै हातमा छ।  

यसरी तपाईं आफ्ना जुनसुकै सपना पुरा गर्न सक्नुहुन्छ। यदि विश्वास लाग्छ भने आजै र अहिल्यै एउटा डायरी किनेर ल्याउनुस्, ड्रिम डायरी बनाउनुस् र सपनाहरू लेख्न थाल्नुस्। 

यदि विश्वास लागेन भने त झन् तुरुन्तै ड्रिम डायरी बनाउनुस् र सपनाहरू लेख्न थाल्नुस्। १ वर्ष भित्र तपाईं आफैं अनुभव गरेर यस कुराको छिनो-फानो गर्न सक्नुहुन्छ। 

होशियारीपूर्वक  देखिएका र लेखिएका हरेक सपना पूरा हुने रहेछन्। त्यसो भए अन्तमा म फेरी तपाईं लाई उही प्रश्न सोधेर बिदा लिने अनुमति चाहन्छु:

“के अब तपाईं सपना देख्ने हिम्मत गर्नु हुन्छ?” (Do you dare to Dream?) 

~~~~~~~~~~~~~~~ 

(यो लेख मेरो आज सम्मको अध्ययन र आफ्नै ड्रिम डायरीका आश्चर्यलाग्दो किसिमले पूरा भएका सपनाहरूका आधारमा लेखेको हुँ। यदि कोहि पाठक यस सम्बन्धमा थप व्यावहारिक छलफल गर्न चाहनुहुन्छ भने - आफ्नो ड्रिम डायरी पनि देखाएर यहाँलाई ड्रिम सेट गर्न मद्दत गर्न तयार छु। )    

रचनाकाल : २०७७ साल असार २२ गते (6th July 2020)

SUBSCRIBE TO MY NEWSLETTER