“हेलो, जेन्टलमेन प्लिज वेट फ(र्) अ मिनेट” यो अंग्रेजी आवाज सुनेर मैले चारैतिर हेरें कसैले मलाई नै पो बोलाएको हो कि । तर त्यहाँ त कोही थिएन । म फेरी आफ्नै सुरमा हिडें । तर आवाज फेरी आयो – “प्लिज जेन्टलमेन, प्लिज ! आइ एम गोइङ्ग टु टेल यू अ ग्रेट इम्पोर्टन्ट थिङ्ग ।” अहिले चाहिं मैले पक्कै पनि मलाई नै भनेको हो भन्ठानेर कराएँ –
“को तपाईं ? मेरो अगाडि आउनुहोस् ।”
एकै क्षणमा मैले त्यहाँ नजिकै एउटा मान्छे देखें । छ्याक–छ्याक परेको मुखमा कुनै गल्लीको दादाले मुक्का बजारेजस्तो, दाँत झरेको, टाउको र जीरभरि घाउ नै घाउ, हात डुँडो । ख्वाल्ट्याक ख्वाल्ट्याक गरेर हिंडेर म तिर आइरहेको । मानवाकृति हो भनेर पत्याउनै गाह्रो । अनुहार देख्ने बित्तिकै म भयले रातो भएँ । पछि–पछि हटेर भन्न पुगेछु – “को तपाईं ? हँ, को तपाईं ?” उसले अस्पष्ट आवाजमा भन्यो – “डराउनुपर्दैन, डराउनुपर्दैन, त्यहीं बस्नुहोस् म तपाईंसँग कुरा गर्न चाहन्छु”। अघि बोल्ने आवाज यही थियो । म बल्ल अलि आश्वास्त भएँ । बसें, पसिना पुछें र सोधें – “अरे तपाईं त अघिसम्म अंग्रेजीमा कुरा गर्दै हुनुहुथ्यो । तपाईंलाई त नेपाली पनि आउँदोरै’छ ।”
ऊ मेरा छेऊमा आएर बसिसकेको थियो । भन्यो – “तपाईंको ड्रेस (उसको यो भनाइ मैले लाएको पाइन्ट, सर्ट, टाइ, कोट तर्फ लक्ष्यित थियो) हेर्दा यस्तो लाग्यो – तपाईं नेपाली हुनुहुन्न, त्यसैले ।” मैले लाज मानें तर केही भनिनँ ।
“अँ त म तपाईंसँग एउटा कुरा गर्न आएको सुन्नुहोस् ।” उसले कुरा शुरु गर्नु अघि मैंले सोधें – “तपाईं को त ? तपाईंको परिचय.......?”
“ए म त परिचय दिन नै बिर्सेछु । म....... म आकाश” ।
“ओ....... तपाईंको नाम आकाश, दुर्घटना भए जस्तो छ नि आकाशजी ।”
“मेरो नाम आकाश हैन, म आकाश....... आइ मिन आइ एम स्काइ” ।
“अरे, आश्चर्य ! तपाईं आकाश रे आकाश त माथि छ, कतै तपाईं पागल त हैन ?” शंका थियो मेरो ।
ऊ यसरी हाँस्यो मानौं एकदम खुशीको खबर छ । उसले एकैचोटि आफूलाई नियन्त्रित गर्यो र भन्न थाल्यो – “अब कामको कुरा गरौं ।”
मैले बीचैमा प्याच्च भनें – “पहिला तपाईंलाई कसरी यस्तो भयो त्यो त भन्नुहोस् ।”
“अँ त्यही त हो कामको कुरा”उसको क्षतिग्रस्त अनुहारमा नमिल्दो चहक देखापर्यो । “ल सुन मलाई कसरी यस्तो भयो”यति भनेर ऊ एकछिन मौन रह्यो । ऊ गम्भीर भएर उठ्यो अनि भन्न थाल्यो – “थाहा छ तिमीलाइ ? तिमीहरु जस्तै मानिसहरुले मलाई यो हालत गराएका हुन् ।”म उसको कुरा सुनेर दङ्ग पर्दै केही सोध्ने तरखर गर्दै थिएँ तर छिट्टै ऊ भन्न थालिहाल्यो – “यी मेरा दुई आँखाहरुमा हेर त” हरपल तप तप आँशु चुहिरहेका उसका डरलाग्दा राता–राता आँखाहरुलाई देखाउदै उसले भन्यो ।
“के भएको तपाईंको आँखामा ?” मैले आफूलाई थाम्नै नसकेर हतार हतार सोधिहालें । फिस्स मुस्काएर ऊ भन्न थाल्यो – “तिमीहरुले नै छाडेका अश्रुग्याँसले मेरो यो हालत बनाएको हो । यी मेरो मुख र शरीरमा भएका प्वालहरु देख्दैनौं ? ती सब तिमीहरुले प्रहार गर्ने क्षेप्यास्त्रहरु र मिसाइलका छिर्काहरुको कमाल हो । मेरा फोक्सो र मुटु जाँच गर्यौ भने तिमीले अवश्य ठहर गर्नेछौ मलाई क्यान्सर भैसकेकोछ । यो सबै यहाँ उत्पादित धुलो, धुँवा र दुषित ग्याँसको काम हो । तिमीहरुको आणविक परीक्षण र प्रहारले ई....... हेर त, मेरा खुट्टाहरु खोच्याउनु पर्ने भएका छन् । शरीरका यी दाग र धब्बाहरु पनि त्यसैले त बनाएका हुन् ।”
म चुपचाप मन्त्रमुग्ध भएर फिल्ममा गरिएको अभिनय झैं उसका अस्पष्ट बोलीहरुलाई बुझ्ने कोशिश गर्दै सुन्दै थिएँ ।
ऊ भन्दै थियो – “यहाँको बड्याङ–बुडुङ्गले मेरो गड्याङ–गुडुङ्गलाई समेत माथ ख्वाइसक्यो, बुझ्यौ ? तिमीहरुको निर्दयता, अमानवीय व्यवहार र तिमीहरु बीचकै झगडाले त झन् मेरो दृढ हृदय पनि टुक्रा टुक्रा र छिया छिया भएको छ । त्यसैले, त्यसैले म.......।”
ऊ के भन्दै थियो कुन्नि, मैले एक्कासी कुरा काटें – “अनि के तपाई यहाँ उपचार गराउन आउनुभा’को ?”
“ हाsss हाsss हाsss” मेरो कुरा सुन्ने बित्तिकै ऊ यसरी हाँस्यो कि मैले कान नथुनी धरै पाइनँ । उसको दुई बित्ता च्यातिएको मुख देख्ता त झन् हुनसम्म डर लाग्यो । हाँसो मिस्दै ऊ भन्न थाल्यो – “उपचार हाsss हाsss हाsss....... मेरो उपचार....... ?” आफ्नो अनुहारलाई उसले एक्कासी डरलाग्दो रुप दिदै हुँकार छाड्यो – “मेरो उपचार हुन सक्तैन महाशय ।” एकछिन रोकिएर स्वभाविक ढङ्गमा ऊ फेरी भन्न थाल्यो – “बरु म मेरो अवश्यम्भावी मृत्युको सूचना दिन यहाँ आएको ।”
“तपाईंको मृत्यु....... ?” केही भन्ने कुरा नपाएर मैले यति के भनेथें ऊ भन्न थाल्यो – “हो, हो मेरो मृत्यु र मेरो मृत्यु पश्चात् मेरो भीमकाय शरीर पृथ्वीमा बज्रनका लागि खस्नेछ अनि....... अनि....... हाsss हाsss हाsss”
“अनि....... अनि के हामी मर्ने छौं ?” रातो पिरो भई मैले सोधें ।
“हो, सारा मानिस खतम हुनेछन्, मर्नेछन्, सिद्धिनेछन्, अब धेरै बाँकी छैन त्यो समय आउन मेरो स्थूल शरीर पृथ्वीमा खस्नेछ । हो, म खस्नेछु हाsss हाsss हाsss ।” आफ्नो अनुहारलाई झन्–झन् भयानक बनाउँदै ऊ भन्दै थियो, म सुन्न नसकेर काम थुन्न थालें । ऊ अझै केही भन्दै थियो – हाउभाउका साथ । आफ्नो मृत्यु अनि सारा पृथ्वीवासीहरुको अस्तित्व खतम हुने सुचना दिदै थियो ।
तर, मैले जब घडी हेरें निकै ढिला भैसकेको पाएँ । त्यो क्षतिग्रस्त शरीरबाट आवाज निस्किरहेकै भए पनि म त्यहाँबाट सुटुक्क बाटो लागें किनकि मलाई वातावरण संरक्षण सम्बन्धी गोष्ठीमा भाग लिन जानु थियो र मलाई राम्रो सँग थाहा थियो कि त्यस गोष्ठीमा सम्मिलित भए वापत मैले पाँच सय रुपैयाँ भत्ता पाउने छु ।
(रचनाकाल – २०५३–२–१२)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal