“ल आइपुग्यो शहर !” खेमले उत्साही हुँदै भन्यो । उसको पछि पछि लागेर म पनि सडकमा निस्कें । सडकको किनारमा नाली रहेछ फोहरको, त्यो फड्कन नसकेर झण्डै लडें, कसो–कसो फोहरमा चैं परिनँ । सडकमा निस्केपछि यसो चारैतिर शहरलाई हेर्न थालें । आउँदाखेरि बाटामा खेम त भन्थ्यो – “त्यो टोपी फुकालेर खल्तीतिर कोच दाइ ।” तर आफ्नो त तीनबित्ते टुपी छ, टोपी त लगाउनै पर्यो नि । खेमलाई आफ्नो हाल बताएपछि उल्ले त आफैंले ला’को पाली भएको टोपी पो लाउन दियो । कसो–कसो गरी हो उसैले टाउकाँ’कोचिदियो । “शहराँ पाखे बन्न हुँदैन क्या, त्यसमाथि पनि मसँग हिंड्या’छौ । साथीहरुलाई भेटें भने दाइ भन्न परिहाल्यो ।” यस्तै के–के भन्दैथ्यो खेमे । हुन पनि हो ऊ शहराँ’ बस्ने मान्छे, शहर हेर्ने मन भ’र उसँग आ’को । फेरि बिहान हिंड्ने बेलामा सानो गलफती भा’ हो र ? मलाई त आफूसँग ल्याउनै मान्या’थेन खेमेले । भाउजु चाहिंले “शहर हेर्ने मन गर्या’छन् लग्दिनुस् न त बाबु !” भनेपछि पो बल्ल “आऊ त आऊ”भनेर अँध्यारो मुख लगायो । फेरी हतारो लाइदिएर चार डल्लो ढिंडो पनि फुर्सतले निल्न दिएन । भाउजु चाहिंले कोसेली भनेर अलिकति गुन्द्रुक पोको पार्देकी रै छ, के ल्याउन मान्थ्यो । मीठो पनि त लाग्दैन होला नि उल्लाई, शहराँ बस्या’छ । “पुलिसले गाँजा भनेर समात्यो भने के गर्ने नि” भनेर बाहाना पनि बनाइटोपल्थ्यो नाथे । सोझै मीठो लाग्दैन भने त भैहाल्यो नि ।
सोच्तै हिंड्दैथे, चारैतिरबाट केटाकेटीहरु थपडी बजाएर कराइरहेजस्ता लागेर झसङ्ग हुँदा पो थाहा पाएँ – म त थाहै नपाई सडकमै पो लडिसकेछु – केराको बोक्रामा चिप्लेर । हाताँ’ मात्रै काँ’ र जिउमा पनि सडकको फोहरको छिट्टा परेछ ।
उता खेम पनि झपार्दै रै’छ – “ए, के भो ? आखाँ हेरेर हिंड्नु पर्दैन ?” आत्तिएर मेरो मुखबाट निस्केछ – “ए खेम पानी काँ छ हँ ? बरबाद भैहाल्यो नि । ”
“त्याँ’ पर खानेपानीको धारा छ यता आऊ ।” भन्दै ऊ खुरुखुरु हिंड्न थाल्यो । म पनि लुरु लुरु उसको पछि लागें । धारो भन्ने ठाउँमा पुगेपछि खेमले धारो खोलिदियो । ओहो ! के को पानी हुन्थ्यो, मैलो न मैलो झोल पो निस्क्यो । यसो हाताँ’ थापेर हेर्या’ त माटै–माटो र ढुङ्गाका टुक्रा अनि त्यो पहेंलो–पहेंलो छोक्रा के हो त्यो ? त्यस्तो पो रै’छ । खेमे खानेपानीको धारो भन्थ्यो साँच्चै पानी त चपाएरै खानुपर्ने खालको पो रै’छ, दङ्गै परें म त । यसो अलि–अलि पखालिटोपले जस्तो गरेर खेमको पछि लाग्न थालें ।
हामी हिंडिरहेको सडक अर्को ठूलो सडकमा पुग्ने देखेर मैले मुख फोरें – “हैन उता त ठूलो सडक छ नि ।” खेम बोल्यो – “ हो, अब हामी त्यैं ठूलो सडकमा जाने छौं ।” त्यातिर त झन् कमिलैसरि गाडीहरु धुवाँ फाल्दै ओहोर–दोहोर गरिरहेका थिए र मान्छे पनि हतार हतार गरेर टिम–टिम परी हिड्दै थिए ।
“ए ! ए ! ए ! कता गा’ तिमी ?” खेम कताबाट कराउन थाल्या’ हो कुन्नि धुँवाको मुस्लोले गर्दा केही देख्तै देखिनँ । बल्ल बल्ल खेम नै म भा’ठाउँमा आयो र भन्यो – “जता पायो त्यतै नहिँड न, हराइन्छ । ल हिँड अब तिम्लाई म सिनेमा हलतिर घुमाउन लैजान्छु ।” आँखा मिची–मिची भएपनि उसँगै हिंड्न थालें । त्याँ’ त बच्चा जस्तै उसको हात पक्रेर हिंडनु पर्यो हराइन्छ भनेर । मान्छे पनि कति हिंडेका हुन् ? मान्छेहरुसँग कहिले ठोक्किंदै कहिले लछारिंदै बडो कष्टले म खेमलाई पछ्याउन थालें । बाटाभरि कतिले आँखा तरे कोही–कोहीले त गाली पनि गरे ।
“ल, त्यै हो सिनेमा हल, हेर दाइ ।” सिंगारिएको र भित्ताभरि रंगीचङ्गी कागतहरु टासिएको बडेमानको घर देखाएर खेमले भन्यो । हल भनाउँदो घरको टुप्पाँ यसो हेरेको त खेमले कोचिदिएको टोपी–सोपी पछाडि तिर खस्यो, अनि त तीनबित्ते टुपी तुन्दुङ्ग भैहालेछ । हत्तपत्त खेमले नै पो टोपी टिपेर कोचिदियो । मुख बिगारेरै भएपनि मलाई सोध्यो – “फिल्म हेर्छौ दाइ ?” फिलिम भन्ने नाम त गाउँमै अरु–अरुले भन्या’थे तर देख्या चैं थिइनँ । “कुन फिलिम खेमे ?” भनेर सोध्या’ त कुन चाहिं हो विदेशी नाम पो भन्थ्यो खेमे । त्यस्तो विदेशी फिलिम त के हेर्नु ? “हेर्दिन” भन्दिए मैले । आ’को बेलाँ हेर न हेर भनेर तान्दै मलाई काँ’तिर हो र्याउँर्याउँती मान्छे भा’ ठाउँमा पो पुर्यायो खेमेले । मलाई “यही बसिराख है” भनेर भीडमा कोच्चिदै गई एकै छिनमा दुईवटा राता कागतहरु लिएर आयो खेमे, टिकट अरे ।
त्यसपछि भीडबाट अलि बाहिर ल्यायो खेमेले मलाई । सासै रोकिएला जस्तो भा’थ्यो । बल्ल सास फेर्न पाएँ । अलि परतिर देखाएर खेमे भन्न थाल्यो – “ल हेर दाई, यो हलले कति मान्छेलाई रोजगारी दे’को छ । ल, उ त्याँ’ पर हेर त कति मान्छे फलफूल र मिठाइहरु बेचिराख्या’छन् ।” टाढैबाट धोती काँधमा सिउरेका काला–काला अनुहारलाई देखाउँदै उसले भन्यो ।
खेमेले मलाई अघिकै ठूलो सडकमा ल्याइसक्या’थ्यो । म सुन्दै थिएँ – “ल, दाई शहराँ बिकास भा’ रै’न छ त ? त्याहाँ हेर कत्रा कत्रा घर ।” टोपी समातेरै भए पनि मैले ती ठूला–ठूला घरहरुलाई हेरें । तर ती ठूल्ठूला घरहरु पछाडिका झुपडीहरुलाई ती घरहरुले छेक्न खोजी–खोजी पनि छेक्न सक्या’ रैनछन् ।
“ल, त्याँ’ पर हेर त यहाँका केटीहरु पाइन्ट, सर्ट, स्कर्ट जस्ता लुगा लाउँछन् । बिकास भा’हैन त यो ?” साँच्चै अलि पर खेमले भने जस्तै लुगाएका केटीहरुको एक डफ्फा हाँस्तै–हाँस्तै आइरहेका रहेछन् । ठीक त्यसै बेला मेरो स्मृतिपटलमा धोती र चौबन्दी चोलोमा बेरिएर मरी–मरी काम गरिरहेका सुन्तली, चमेली, मेरै जोइ उजेली जस्ताको झल्को आयो । ती पनि केटी, यी पनि केटी तर.......
उता खेम कराउँदै रै’छ – “ल अब फिल्म हेर्ने बेला भो’ दाइ आऊ ।” उसैको पछि लागेर छिरें म त्यो बडेमानको घर भित्र । एउटा ठूलो अँध्यारो कोठामा पुर्याएपछि खेमले मलाई डोर्याउँदै काँ’ तिर लगेर बसाल्यो, अँध्यारोमा केही देखिएन । एकछिन पछि अगाडि भित्तामा मान्छेहरु चल्मलाएको जस्तो देख्न थालें, त्यै हो रे फिलिम । डाङ्ग–डाङ्ग र डुङ्ग–डुङ्ग अनि झालाक र झुलुकले त मेरो टाउकै घुमायो । “म यहाँ बस्न सक्तिन खेम छिटो बाहिर जाऊँ” भनेर बल्ल बल्ल बाहिर आएपछि पो आँखा हेर्न हुने भयो तर सडकमा आइपुगिसकेपछि गाडीले छाडेको धुँवा आँखा र नाकमा परेर निस्सासिने बनाई झण्डै मार्यो उफ् ।
उता खेम गाली गर्दै रै’छ – “आफूलाई मनपर्ने हिरोको फाइट हेरिरा’ बेलाँ के भो ए दाइ तिम्लाई । क्या बोर भो’नि । ल, अब कोठातिर जाऊँ । ए बरु यता आऊ त भोक लाग्यो होला, केही फलफूल किनेर लैजाऊँ ।” अलि पर एउटा बूढाले सुन्तला बेचिरा’ देखेर मैले भनें – “ ऊ त्याहाँ एउटा मान्छेले गाउँको सुन्तला बेच्न ल्या’ रै’छ, त्यै किनौं हुन्न ?”
“ ए त्यो मिठो हुँदैन, बरु त्याहाँ देशी स्याउ र सुन्तला बेच्न राख्या’ छ आऊ त्यै किनौं ।” उल्ले त्यहीं गएर केही फलफूल किन्यो ।
“ल, ल समोसा, समोसा ।” एउटा पोल्दा – पोल्दै उम्केर भाग्या’ जस्तो कालो केटो कराउदै रै’छ । “यिनीहरुले बना’को समोसा साह्रै मीठो हुन्छ यार” भनेर दौडदै गएर दुईवटा समोसा लिएर आयो खेम । एउटा कवाप्लाक्क मुखमा हालेर अर्को म तर्फ बढायो । बिहान हतारमै भएपनि गुन्द्रुकमा चोपेर निलेको ढिंडोले र मेरो नेपाली ढुकढुकी भएको अन्तरआत्माले मानेन त्यो विदेशी मान्छेले बनाएको विदेशी चीज खान । त्यसैले हेर्दै नहेरी थु–थु गर्दै फालिदिएँ त्यो ।
त्यसपछि शहराँ विकास भा’ कुरालाई नकार्न नसकेर सकार्दै अनि यहाँको बनावटी विकास नपचेकोले डकार्दै–डकार्दै खेमको पछि लागें ।
(रचनाकाल – २०५३–४–१७)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal