bio

Stories

अन्तहीन मनगढन्त

“काउली, बन्दा, सिमी, मटरकोसा, गोलभेंडा चाहिए भन्टा, करैला ?”

कस्तरी कराएर मेरेको होला मोरो मधिसे – रोडमा करा’को यहाँसम्म सुनिने । कस्तरी भाका मिलाउँछ नि मोरो................. किनूँ–किनूँ लाग्ने गरी । कहिले त रीस पनि उठ्छ । रीस त मलाई मैदेखि पनि उठ्छ – मै पनि मिलाउँछु नि भाका कहिलेकहीं । आँखामा केही धुलो कसिङ्गर पर्‍यो भनेदेखि –

‘ढुङ्गा परे खसिजा

माटो परे बिलाइजा

कसिङ्गर परे उडिजा

सुनको कुच्चोले बढार नानी बढार

आज तिम्रो घरमा पाहुना आउँछन्’ भन्नुपर्ने रे ।

एकछिनमा आँखा पनि ठीक हुन्छ भन्या’– अचम्म लाग्छ ।

सानो हुँदा साथीहरु पिनास फुकेको नक्कल गर्थे नि –

‘सिस्नु खायो – जिब्रो पोल्यो

टिम्मुर खायो – जिब्रो पर्परायो          

अरु सबैजना मरिसके

यसको काल चै कता हरायो ?’

हाँसो उठ्छ मलाई त – रीस पनि उठ्छ, हाँसो पनि उठ्छ । अझ बढी रीस त मलाई मलत्याग गर्दा गर्दै हातले नाक छोइयो भने पो उठ्छ त – नौ चोटिसम्म ‘नाक छोइदिऊँ ?’ भन्दै औंला उज्याउनुपर्ने रे नाकतिर । नगरुँ पनि सुख छैन – नाकमा घाउ आउँछ भनेर डर देखा’छन् बूढापाकाहरुले । उही मूल–मुहानतिर पिसाब फेरियो भने देखि ‘बिनाबी, बिनाबी’ भन्नुपर्ने भन्या’ जस्तै त होला नि त्यो पनि ।

यस्ता चलनहरुलाई के भन्ने खै ? आइमाइहरु घाँटी खसखसायो भनेदेखि हत्तपत्त आफ्नो फरियाको फेर गाँठो पार्छन अनि बड्बडाउँछन् – ‘कुन चाहिंको मुखमा कीरा पर्‍या’ होला नि ? यहि गाँठो घाँटीमा अड्केर ठहरै मरिजाओस् ।’

के भन्ने अब यस्तो चलनलाई ? कल्ले शुरु गर्‍या’ होला त त्यो ? अहिलेका साइन्टिष्टहरुले फर्मुला र इक्वेसन निकाले जस्तै गरेर निकाल्या’ होलान् – हाम्रा पुर्खाहरुले । न्यूटनको नियम, आइन्सटाइनको सुत्र, पाइथागोरसको साध्य, एभोगाड्रोको सिद्धान्त भन्या’ जस्तै तिनको पनि आविष्कारकहरु थाहा पाउन पाए कस्तो हुन्थ्यो ? कल्ले चै शुरु गर्‍यो होला त है पहिले ? जति खोजे र सोचे पनि पत्ता नलाग्ला यो त । सोचेर खालि समय खेर फाल्नु मात्र न हो । तर सोचेर कहिलेकहीं त फाइदा पनि भा’छ ए गाँठे ! एकचोटि दिनभरि घरमा एक्लै हुँदाखेरि मैले सोच्ता – सोच्तै एउटा वाक्य बना’को थिएँ नि –

‘कल्ले खाला गाउँ घरको चटनी ?’ ‘छया’ जागेर झपार्लान् टिम्किदै ठस्कलान्, डङ्ग्रङ्ग ढोका ढप्काउलान्, तै–तै थुक्लान्, दङ्गयाउदै धक नमानी नकार्लान् पनि; फुसफुसाउलान् बरु भो–भो भन्दै । ‘मेरै यस भन्दा राम्रो’ ललकार्दै वरपरका सज्जनहरुलाई हप्काउलान्, क्षेत्रियताको त्रासमा ज्ञान अल्पेला ।’

‘क’ देखि ‘ज्ञ’ सम्मका अक्षरहरुबाट उठ्ने शब्दहरुलाई श्रृखंलाबद्ध रुपमा प्रस्तुत गर्ने यो वाक्यसमूह बनाउँदा कम्ती फुलेल भा’थें म ? आखिर सोचाइकै परिणाम त हो नि त्यो । सोच्नुको फाइदा हैन त यो ? सोच्ता–सोच्ता चालिएका कदमहरुले त मानव सभ्यतालाई यति साह्रो समृद्धिको स्थितिमा पुर्‍याएका छन् । तर धेरै बढी सोच्न थाल्यो भने त फेरि भन्न सकिन्न नि, सोच्ता–सोच्ता कति मान्छे पागल भा’का छन् ।

अरु सप्पै थोक भएपनि मलाई पागल चाहिं त हुनु छैन बा ! जे भेट्यो त्यै खा’को छ, जे मुखमा आयो त्यहि बोल्या’छ – छिः छिः छिः ।

हैन, ती पागलहरुलाई होसै हुँदैन होला त भन्या’? पोहरतिर यै बजारमा एउटी पगली आ’की थी, कहाँबाट हो । रातबिरात थाल ठटाउँदै कुर्लिरहन्थी, टल्कने कागतका नाना भाँति आकृतिहरु बनाएर जीउभरि सिउरन्थी – अचम्मकी थिई । अझ चार पाँच वर्ष अघि त एउटा नाङ्गै डुल्ने बहुला देखापर्‍या’थ्यो – तर उसले पहिलो दिनदेखि दोश्रो दिन देख्न पाएन – खेदे बजारियाहरुले बिचरालाई । बिचरा त के को बिचरा नि – होस् नभएको पागल । तैपनि मान्छे नै त हो नि ऊ पनि भन्या’ जस्तो लाग्दो रै’छ । साच्चै उदेकलाग्दो छ – जात चाहि सबैको मान्छे – तर कति फरक छ एक एक मान्छेमा ! लञ्च सेलेब्रेट गर्ने पनि मान्छे – कोदाको ढिंडो पुक्याउन मात्र पाएपनि राज्यै जिते झैं मान्ने पनि मान्छे नै । हिृवस्कि र स्टाउट चुस्क्याउने पनि मान्छे – ठर्रा र छयाङ् घड्क्याउने पनि मान्छे नै । सबथोक समाजलाई दिएर आफैलाई सार्वजनिक बनाउने पनि मान्छे – सकेसम्म धेरै थोक हडपेर आफूलाई ठूलो बनाउन र भनाउन खोज्ने पनि मान्छे नै ।

अहो ! कस्तो पो चित्र निक्लेला समाजका मान्छेहरुका बारेमा खोतल्दै जाँदा । आखिर सबै मान्छे भएपनि फरक अवश्य हुन्छ मान्छे–मान्छेमा र वास्तवमा हुनु पनि पर्छ । नत्र त महात्मा गान्धी र नाथुराम गोड्सेमा फरक नै के भयो र ? अनि भीमसेन थापा र जङ्गबहादुर दुबै मान्छे नै हुन् भनेर मात्र पार पाउन सकिन्छ के ?

कुरा साँच्चै गहिरो छ – सोचेर ल्याउँदा खेरि । यस्ता विषयमा किन लेखकहरु पुस्तक लेख्तैनन् ? बरु सिनेमाकर्मीहरुले फिल्म बनाइदिए हुने यस विषयमा । के बनाउलान् र फिल्म तिनले ? ती त एकजना हिरोले सयौं गुण्डाहरुलाई कुटेर लखेटेको देखाउनमै व्यस्त छन् । कोमलाङ्गी युवतीहरुको लठ्ठ पार्ने नृत्य मुद्रा देखाउन र समाजमा हुने भन्दा धेरै नै बढी हिंसा देखाउनमा नै अल्झिरहेका ती सिनेमाकर्मीहरुले कुचक्रीहरुको कुनियतमा फस्न पुगेर हारे जस्ता देखिए पनि इतिहासलाई नै जित्न पुगेका कालजयी भीमसेन थापाको व्यक्तित्वमा के चार्म भेट्टाउलान् र खै ? झन् जित्दा–जित्दै पनि हार्न पुगेका इतिहासपात्र जङ्गबहादुर त तिनका लागि सपना नै भइहाल्यो ।

सपना त सपना – साँच्ची कति उदेकलाग्दो सपना देख्या’ है मैले हिजो राति । मैले बिहे गरेको दुलहीलाई पहिलो दिन नै अंग्रेजी बोल्न आउँछ कि आउँदैन भनेर सोधेछु – अनि त आउँदैन भनेपछि निकालिदिएछु घरबाट – आश्चर्य !

कस्ता–कस्ता सपना देखिन्छन् भन्या’ नि । के होला त है वास्तवमा सपना ? आँखा, मस्तिष्क सबै विश्राममा हुन्छन्  फेरि के–के देखिन्छ के–के ? मलाई त फ्रायडका कुरामा पनि विश्वास लाग्दैन – विपनाका असन्तुष्टिहरुले नै सपनाको रुप लिन्छन् रे ! हुनुमात्रै हो .......नत्र विपनामा चिताउदै नचिताएको कुरा किन देखिन्थ्यो र सपनामा ? अब मलाई के रहर अंग्रेजीबाज स्वास्नी भित्र्याउने ? बरु पुराना मान्छेहरुले भनेका कुरा पो हो–कि हो–की जस्तो लाग्ने – आत्मा डुल्न निस्क्या’ हुन्छ रे हाम्रो जीउबाट सपना देख्ता !

फेरी यो आत्मा भन्ने चीजै पो के हो ?

पुण्यात्मा रे, धर्मात्मा रे, महात्मा रे, विश्वात्मा रे, प्रेतात्मा रे – के–के–हो के–के, म त केही बुझ्दिनँ । खालि यो मान्छेको शब्दजाल मात्रै हो कि क्या’हो ?

तर यो आत्मा भन्या’ केही चाहिं पक्कै हो । लिंकनको आत्मा र हिट्लरको आत्मा एउटै हो त ? डायना र मदर टेरेसाको आत्माहरु बीच मात्र कति फरक होला ! त्यही आत्माले नै त हो मान्छेहरुलाई एक अर्काबाट पृथक बनाउने – नत्र त सबैजना मान्छे नै त हो नि ।

यो मान्छे भन्ने जात अचम्म चै अचम्म हो है । ब्रम्हाजीले सुली र खरानी मुछेर बना’को रे भन्थे, अहिले पृथ्वी माथि राज चलाइ राख्या’ छन् । साँच्ची यो पृथ्वी त आकाशगङ्गामा छ रे, आकाशगङ्गा भन्ने चाहिं फेरि ब्रम्हाण्डमा छ रे – अनि यो ब्रम्हाण्ड चैं के मा अटा’को होला नि ? आखिर त्यो समष्टि चिज के होला जसभित्र यी सब छन् ? कतै ब्रम्हाजीको मुख भित्र त छैन ? अनि ब्रम्हाजी चाहिं कहाँ बस्छन् नि त्यसो भए ? विज्ञान र धर्मले उत्तर देला के यी प्रश्नहरुको ?

सहजसाध्य प्रश्न अवश्य होइनन् यी । गाह्रो छ उत्तर दिन – असाध्य गाह्रो ।

गाह्रो त जे पनि गाह्रो नै त हुन्छ नि । मिलिकानले सजिलै पत्ता लगायो त इलेक्ट्रोनिक चार्ज ? कम गाह्रो पर्‍यो होला भिन्चीलाई ‘मोनालिसा’ बनाउनलाई ? हेसेनक्लेभरले पनि सजिलैसँग बनाएन होला त ब्लिचिङ् पाउडर ! अरु त के कुरा माल्थसलाई समेत गाह्रो पर्‍यो होला ‘जनसख्या सिद्धान्त’ निकाल्नलाई । मलाई त कति गाह्रो पर्‍या’थ्यो कलेजमा अप्टिक्सको म्याथमेटिक्स् सुल्झाउन ।

अनि के चाहि छ त सजिलो ?

एक गिलास रक्सी जुटाउन डल्ले पहरीले त सय के.जी.को भारी उचाल्नुपर्छ । रक्सीले टिल्ल परेर नालीमा मुख जोत्ने अनि घरमा गएर स्वास्नी छोरा–छोरी माथि रीस पोख्ने समाजका कीराहरुलाई पनि गाह्रो पर्दो हो – दिनको उज्यालोमा आफ्नो अनुहार देखाउनलाई । एउटा मान्छे जन्मनलाई त कति गाह्रो छ, अनि के आश्चर्य भो’ र जीवन भरि गाह्रै गाह्रो परे पनि ?

आश्चर्य लाग्ने कुरा त यहाँ अरु नै के–के छन् के–के ।

सारा मेरा साथीहरुले ‘तँ त मोटाइछस् नि यार’ भनिरहेकै बेला मेरी आमा ‘कति दुब्लाएको मेरो बाबा’ भनेर मलाई सुम्सुम्याउँथिन् – आश्चर्य हैन त यो ? उही गान्धीले आफूलाई सत्यवादी साबित गर्न आफ्ना नभएका अवगुणहरु पनि आफ्नो जीवनीमा प्रस्तुत गर्‍या’थे भनेर काँतिर हो पढ्याथें मैले – त्यस्तै । त्यो रामकृष्ण भन्ने मेरो साथी पनि कम्ती अचम्मको छ र भन्या’ ? मैले अलिकति मात्र राम्रो काम गरें भने उसको प्रतिक्रिया हुन्छ – ‘आम्मै ! खतरा छस् यार तँ ।’ ‘रानीपोखरीमा डुबेर मरे पनि हुन्छ तैले !’ सम्म पनि भन्न बाँकी राख्या’ छैन त्यस मानव मुखुण्डोधारीले मलाई – कुनै काम बिराउँदा । मलाई चाहिं आश्चर्य नै लाग्छ – डिग्रीमा पढ्ने एउटा शिक्षितले यसरी सतही प्रतिक्रिया व्यक्त गरेको देख्ता । उहि क्या – नेपालको एक समयका प्राइममिनिष्टरले ‘भ्याट’ भन्या के यो मैले बुझ्या’ छैन भन्या’ जस्तै त हो नि । आश्चर्य !

आजकलका ठिटा – ठिटीहरुको राम्रो देखिइन खोज्ने मोह र त्यसका तौर – तरिकाहरु झन् कम उदेकलाग्दा छन् ? ठिटीहरु चहिं सकेसम्म आफ्ना अङ्गहरु एक्सपोज गर्न लागि पर्छन राम्री देखिनका लागि अनि ठिटाहरु चाहिं सर्वाङ्ग छोपिन चाहन्छन् राम्रो देखिनका लागि । ठिटीहरुको पहिरनको के कुरा गर्नु ? शरीरमा सकेसम्म भेष्ट–झन् पाएसम्म र मिलेसम्म त स्याण्डो नै, कम्मर मुनि चाहिं सकेसम्म मिनिस्कर्ट – त्यो नभएमा टाइट पाइन्ट । स्याण्डलको पेन्सिल हिलले उचाइ बढेको मात्र हैन उमेरै घटेको पनि महशुश हुन्छ भन्थी मेरी एउटी सहपाठिनी । ठिटाहरु चाहिं टाउकामा ह्याट्, शरीरमा सुट अनि खुट्टामा सकेसम्म डिङ्गो बुट लाउन पाए रमाएर छुट्टी ! घाँटीमा दाम्लो पनि झुण्ड्याउन पाए भने त झन् टुप्पिएर धरहराको चुच्चोमै पुग्छन् । डेभलपमेन्टको सिग्नल हो कि अधोगतिको सङ्केत हो यो – आश्चर्य लाग्छ बा मलाई त !

पजेरो र प्राडोले फालेको कालो मुस्लो देखेर आश्चर्य लाग्ने र टुप्पाबाट पलाएका नेताहरुले फाँइफुट्टी लगाएको उदेक मान्ने जमाना त अब पुरानो भैसकिहाल्यो नि । कलेजको लाइब्रेरीमा गाँजाको धुँवाको कुइरो लाग्दा त आश्चर्य लाग्ने जमाना गइसक्यो भने साझाबसमा चुरोटको धुवाँ उड्यो भनेर केको अचम्म मान्नु ?

कपाल काट्ता ‘टाउकोमा कैंचीले घाउ लाग्ला है ।’ भन्दाखेरि हजामले एकचोटि भन्या’ थियो नि – ‘अरे भाइ ! ये संसार तो विश्वासमे अडेको छ । चाहेमा त म तपाईंको टाउकै काटिदिनसक्छु – तर हजुर केश मात्र काटिरहेछु ।’ तर मलाई त यो संसार विश्वासमा हैन आश्चर्यमा अडेको छ जस्तो लाग्छ । आधी–आधी घण्टासम्म त्यसरी हजामको विश्वास गरेर त्यसको अन्डरमा रहनु पनि कम्ती आश्चर्यको कुरा हो ? कम्तीमा पनि मेरो लागि आश्चर्यको कुरा हो बा ! आ–आफ्नै सुर र ताल बोकेर यताउति सलबलाइरकेका मानिसहरु महानगरको हुलको भेलमा हेलिंदा आफूलाई केबल हाडछालाले बनेको एउटा मेशिन सम्झँदा हुन् भन्ने विचार आउँदा पनि उत्पात् आश्चर्य लाग्छ ।

साँच्ची भन्या’ –  मलाई त आश्चर्य आफैंदेखि पो लाग्न थालिसक्यो । अलिकति समय पाउन हुँदैन – खालि यस्तै के–के कुरा सोचेर बस्यो । दिमाग पङ्कचर हुन्छ यसरी सोच्ता–सोच्ता । पागल हुन्छ कुन दिन म ।

नाँइ बा ! अरु सप्पै थोक भएपनि पागल चाहिं हुनुछैन मलाई । जे भेट्यो त्यो खा’को छ, जे मुखमा आयो त्यही बोल्या’छ, जाँ’ भयो त्यहीं सुत्या’छ – छिः छिः

...................................................................................................................................................................................................................... (अन्तहीन)

(रचनाकाल – २०५६–१–३१)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER