डा. चाम्लिङ आफ्ना चिम्रा आँखा अलिक च्यातेर ढोकातर्फ छिनछिनमा चिहाइरहेका थिए कुनै बिरामी आइपोहाल्ने हो कि भन्ने झिनो आशामा । बेला–बेलामा उनी आफ्नो ह्वाइटगाउन तानाक तुनुक पार्दथे र कहिले गलाको स्टेथेस्कोप यताउता सार्दथे । वास्तवमा उनको घर फर्कने बेला भैसकेको थियो । यत्तिकैमा यति आकस्मिक रुपले हुत्तेर एउटा व्यक्ति त्यस कोठामा प्रवेश गर्यो कि डाक्टर साहेब तर्याङ्ग तर्सेर जुरुक्क उठे अनि पछाडि फर्केर भित्ता ठेल्न पुगे । त्यो युवक थचक्क मेचमा बस्यो अनि कोठाको सम्पूर्ण अक्सिजन नै सिध्याउँला झै गरेर लामो – लामो सास तान्न थाल्यो । विचरा डाक्टरले यतिखेर पो त्यस युवकको असङ्कल्पित, समर्पित अनि क्लान्त मुख मुद्राको भेउ पाउन भ्याए अनि आफू पूर्वस्थितिमा आएपछि सोधे – “के भो’ तपाईंलाई ? भन्नुस्, भन्नुस् – मलाई आफ्नै सम्झेर भन्नुस् न । तपाईंको समस्या समाधान गर्न म हरसम्भव प्रयास गर्छु ।” युवकको तीब्र अनि भयानक श्वासप्रश्वास अझै नरोकिएकोले डाक्टर पनि तर्सिए सायद, त्यसैले फूर्तिसाथ एक गिलास पानी उसको अगाडी राखिदिए र उसले पनि उस्तै फूर्तिसाथ एकै सासमा गिलास रित्यायो ।
“रिल्याक्स यङ्ग म्यान !” युवकको पीठ थप्थपाउँदै डाक्टरले भने तर उसलाई त आगोमा घिउ थपे झैं पो भएछ – हिक्का छाडेर रुन थाल्यो । डा.चाम्लिङ किंकर्तव्यविमूढ भए, केही समस्या नबताई खालि रुन्चे स्वभाव देखाइरहेको त्यस युवकले के गर्न खोजेको हो केही बुझ्न सकेनन् उनले । मनमनै सराप्न थाले उसलाई – “मलाई अन्तर्यामी ज्योतिष ठान्या’छस् कि क्या हो ए फुच्चे ? केही नभनीकन कसरी थाहा पाउँछु मैले तँलाई के भा’छ ?” तर केही भन्न भने सकेनन् । टेबलमा झुकिरहेको शीर केही उठाएर त्यो युवक आफैमा केही सम्हालियो । “मेरो रगत लिनुहुन्छ डाक्टर ?” डा. चाम्लिङलाई उसको बोली अनि त्यसको भावार्थ दुवै अनौठो लाग्यो । केही बेर ट्वाल्ल परिसकेपछि उनले सोधे – “किन ? किन दिने रगत ?”
“मलाई साह्रै पैसाको समस्या पर्यो डक्टर ! शिक्षित छु, तै पनि बेरोजगार छु । मेरो खाँचो टारिदिनुस् डक्टर, प्लिज ।”
“आफ्नो रगत बेच्ने ?” डा. चाम्लिङ केही कठोर देखिए । “के गर्नु डक्टर ? मेरो पसिना मूल्यहीन ठहरियो, श्रम कौडीमा पनि बिकेन, अनि त रगत बेच्ने बाध्यता नै पर्यो नि ।” त्यस युवकले जाहेर गरेको यस्तो हृदयविदारक अभ्यर्थनाले उनमा लेश मात्र पनि समवेदना जगाउन सकेन – डाक्टर न ठहरिए । तैपनि आफू एम.बी.बी.एस. पढ्दा ताकाको पैसाको खडेरी सम्झेर त्यस युवकप्रति उनमा केही दया पलायो ।
“ल, ल ठीक छ । कति रगत दिन्छौं ?” डाक्टरको यस कुराले त्यस युवकको मुहारमा पनि केही खुशी पलायो ।
“जतिसक्तो धेरै !” युवक कस्सियो ।
“मर्न मन छ कि क्या हो ?” गम्भीर ठट्टा थियो यो डाक्टरको ।
“हो !” युवकको अन्तःमनबाट फुत्केको यो झिनो बोली डाक्टरले सुनेनन् भनेर पहिला त उसले निश्चय गर्यो अनि डाक्टरतिर हेरेर फिस्स हाँस्यो ।
टि नि नि नि नि..............., टि नि नि नि नि.............
“हेलो ! डक्टर चाम्लिङ स्पिकिङ ।”
“म आफ्नो क्लिनिकबाट बोल्दैछु । केही बेरपछि त्याहाँ एकजना मान्छे आइपुग्छ, मैले लेखेर पठाइदिएको छु त्यो ग्रुपको रगत जसरी भएपनि खोजेर पठाइदिनू – एज सुन एज पोसिबल् । अनि तिमी पनि आउनू छिट्टै । ल, ल मलाई फूर्सद छैन ऐले राखिदिएँ ।” बूढा डाक्टर वर्माको हडबडाएको आवाज थियो यो ।
डा. चाम्लिङको बुवाकै पालादेखिकै पारिवारिक डाक्टर थिए वर्मा बूढा ! सानो समस्या आउँदा पनि बढी हडबडाउने स्वभावका वर्मा बुढाको अहिलेको फोन पनि त्यस्तै फेद न टुप्पाको लाग्यो डाक्टर चाम्लिङलाई । उनको को बिरामी हो, त्यसलाई रगत पठाइदिनु पर्ने रे फेरि घर फर्कने बेलामा आफूलाई किन बोलाएको हो भन्ने सोचेर उनी त्यसै दङ्ग पर्दै बूढा वर्माको मूर्खतामाथि हाँस्न थाले ।
डा. चाम्लिङ अघि नै घर गैसक्ने थिए यदि पैसा लिएर रगत बेची आफ्नो बाटो लागेको त्यस बहुलुट्ठी युवकको रगतको गु्रप डिभिजन र थन्क्याउने कार्य सकिइसकेको भए । उनका सहायकद्वारा ल्याबमा काम भैरहेको थियो त्यसैले उनी झ्यालदेखि बाहिर कहिले तलतिर र कहिले माथितिर हेर्दै सडकका बत्तीहरु र आकाशका ताराहरु बीचको अन्तर केलाउँदै थिए – तारा विशाल छ तर पनि सानो देखिन्छ र तुच्छ लाग्छ किनकि त्यो टाढा छ अनि बत्ती तुच्छ छ तर पनि ठूलो देखिन्छ र प्यारो लाग्छ किनकि त्यो नजिक छ । साँच्चै नै सामिप्यले प्रेम जन्माउँछ – उनले आफ्नी श्रीमतीलाई यति बिध्न माया गर्नुमा सामिप्यकै त हात छ नि । झन् अहिले पहिलोचोटि गर्भवती भएकी उनकी श्रीमती प्रति उनको प्रेम उत्पातै आकाशिएको छ । साँझ काम सिद्धेपछि घर पुगेर श्रीमतीको कोमल हत्केला आफ्नो हातमा लिएर मुसार्न नपाएसम्म उनी सन्तोष अनुभव गर्दैनन् ।
सोचाइमा डुब्दा डुब्दै एउटा मान्छे नजिक आई उनलाई बोलाइरहेको पनि उनले ख्याल गरेका रहेनछन् । त्यो डा. वर्माले पठाएको मान्छे थियो । उसको उपस्थितिको आभाष पाएपछि डा. चाम्लिङले उनको सहायक भएको कोठातिर जाने सङ्केत गरे । उनी भने अझै सोचमग्न नै रहे ।
विचरी श्रीमतीलाई व्यस्तताका कारण पर्याप्त समय दिई हेरबिचार गर्न नसकेकोमा डा. चाम्लिङले भित्रैदेखि नरमाइलो अनुभव गरे । झन् अहिले गर्भवती भएको समयमा बढी स्याहारको आवश्यकता हुन्छ । आफूले समय दिन नसके पनि भोलि नै एउटी परिचारिका नियुक्त गर्ने सोच बनाएर उनी केही ढुक्क भए ।
झ्यालमा धेरै बेरसम्म उभिएकोले उनले केही चीसो महशुश गरे अनि आफ्नो कुर्सीतिर फर्के । छेवैको पसलबाट एक कप गरम कफी मगाए र आफ्नो टेबलमा छरिइरहेका कागजपत्रहरु मिलाउन थाले डा. चाम्लिङ । एउटा नौलो कागतमा पुगेर उनका आँखा अडिए । एक हातले कफीको कपलाई मुखसम्म पुर्याएर अर्को हातले यता उति पल्टाउँदै उनी त्यसलाई हेर्न थाले । त्यो कुनै चिठी जस्तो देखिन्थ्यो । कफीको चुस्की सँगसँगै उनी त्यो पढ्न थाले –
डियर डाक्टर,
सर्वप्रथम त तपाईंको केही समय लिन लागेकोमा मलाई क्षमा गर्नुहोस् । मेरो अन्तिम समय आइसकेकोले म आफ्ना सम्पूर्ण कुराहरु तपाई समक्ष खोल्दैछु, म प्रति अलिकति पनि सहानूभूति लाग्छ भने मेरो परलोक गमन कष्टकर नहोस् भन्ने प्राथना गर्नुभए हुन्छ ।
मध्यमवर्गीय परिवार भित्रको मेरो विवाहित जीवन मेरो दृष्टिमा अति नै सुखद थियो र सुखद् नै रहिरहने थियो यदि त्यो दर्दनाक घटना नघटेको भए । मेरो जीवनमै डँडेलो लागेर तहसनहस भयो जब मलाई कहिल्यै निको नहुने भयङ्कर असाध्य रोग एड्स लाग्यो ।
पख्नुस् डक्टर तपाईले मलाई गलत सम्झनुभो होला – म न त लागु औषधको दुब्र्यसनी हुँ न त रण्डीबाज नै हुँ । मलाई यो रोग लाग्नुको कारण सुन्नुभो’ भने तपाईंलाई अवश्य पनि मप्रति दया जागेर आउनेछ । न्यायको प्रतिमूर्ति राजा राम शाहका सन्ततिले राज गरेर यसै राज्यको राजधानी शहरमा करीब एक वर्ष जति अगाडी यो सोझो ठिटोका प्रति खुलेआम अन्याय भयो । भीड भाडको मौका पारेर मलाई एड्स युक्त रगतको सिरिञ्ज लाइदिएछन् देशभँडुवा गुण्डाहरुले । त्यस दिन घर आएर खल्ती छाम्दाखेरि एउटा रक्तरंजित सिरिञ्जका साथमा एड्स लेखिएको कागतको टुक्रा पाएँ । अनि त मेरो बर्बाद भएको जीवनले अरु जीवनहरुलाई पनि बरबाद पार्ला भन्ने सोचेर त्यसै दिनदेखि म गायब भएँ, भुमिगत भएँ । यो एक वर्ष जतिको समयमा चोर, फटाहा, गुण्डा, डाँकाहरुको पनि सङ्गत गरें, देशमा क्रान्ति गछौं भन्दै राति राति बन्दुक बोकेर हिंड्नेहरुसंग पनि सङ्गत गरें । के मात्र गरिनँ भन्नु ? त्यसो त चिकित्सा विज्ञानले मेरो आयु अझै चार पाँच वर्ष बाँकी छ भन्ला, तर मलाई पुगिसक्यो बाँच्न । बाँच्नु पनि कसका लागि ? एउटी मायालु स्वास्नी थिई त्यै पनि मैले छाडेर हिंडेपछि अपहत्ते गरेर मरी भन्ने सुनें । पुग्यो डक्टर मलाई पनि पुग्यो बाँच्ने रहर । त्यसैले आज तपाईले मलाई दिनुभाको पैसामध्ये थोरैको विष किन्छु अनि बाँकी पैसाले एउटा अब्बल दर्जाको होटलको कोठा लिएर सकेजति मीठो कुराहरु खान्छु अनि अन्त्यमा त्यहि विष खाएर प्राण विसर्जन गर्नेछु । भोलिका समाचारपत्रहरुले शायद छाप्नेछन् – “राजधानीको होटलमा अपरिचित व्यक्तिको लाश ।” मन लाग्यो र फुर्सत भयो भने तपाईंले सनाखत गरिदिनु होला – यो यस्तो मान्छे हो भनेर । अनि एउटा कुरा डाक्टर – मैले दिएको रगत चाहिं एड्स सम्बन्धी जाँच – पड्ताल र अनुसन्धान गर्नका लागि उपयोग गर्नु भयो भने मेरो आत्माले शान्ति पाउला । लौ त बिदा सँधैलाई ।
उही
रगत बेचेर पैसा लिने ।
चिठी पढ्दै गर्दा डा. चाम्लिङले आफ्ना हात खुट्टाहरु चीसा भएका अनि कान क्रमशः तातो हुँदै गएको महशुश गरे । त्यो पढिसक्ने बित्तिकै उनी हुर्रिएर ल्याबतिर हान्निए जहाँ उनका सहायक केशव विष्ट घोप्टिएर रिपोर्ट स्लिपमा केहि लेख्तै थिए ।
“विष्टजी, त्यो हामीले अघि भर्खर लिएको रगत ग्रुपिङ् गर्नुभो’।” “ए, त्यो रगत त आधाजति मैले पठाइ पनि सकें डा. वर्माले मान्छे पठाउनु भा’रै’छ नि । उहाँले खोजेकै गु्रपको रगत रै’छ त्यो, त्यसैले त्यही पठाइदिएँ ।”
“ओ माइ गड !” डा. चाम्लिङले आफूले मात्र सुन्ने गरी भने । आफ्नो स्वास बढ्दै गएको प्रष्ट अनुभव डा. चाम्लिङ गर्न थाले अनि केही थर्थराएको आवाजमा उनले भने – “त्यो ब्लड छुट्ट्याएर राख्नुस् अनि कसैलाई पनि नदिनुस् है विष्टजी ।”
विष्टले “किन र सर ?” भनेर मुन्टो उठाउनु भन्दा पहिल्यै उनी आफ्नो कोठामा आइसकेका थिए । अचानक उनको मुहारमा एउटा कुटिल हाँसो देखापर्यो जुनबेला उनको मनभित्रको एउटा तरङ्ग कुविचार बनेर डा. वर्मालाई खुच्चिङ् मच्चाइरकेको थियो । तर यति तुरुन्तै उनले आफ्नो चिकित्सकको कर्तव्य सम्झन पुगे कि आफैंलाई धिक्कार्दै हत्तपत्त फोनको रिसिभर उठाएर डा. वर्माको नम्बर डायल गरे । उनी एकदमै अल्मलिएको र आत्तिएका थिए, अधीर भएर फोनको घण्टी कतिचोटि बज्छ भनेर गन्न थाले । पाँचौ पटकको घण्टीमा पनि फोन उठेन त्यसैले हतास भएर उनले रिसिभर राखिदिए अनि रिसिभर राख्ने बित्तिकै उनले आफैलाई धन्यवाद दिए किनकि अब उनलाई लाग्यो त्यस्तो कुरा फोनबाट भन्दाखेरि अफ्ठ्यारो पर्न सक्थ्यो । फेरि त्यो रगत बिरामीलार्ई दिइसकेको भए त त्यो भयङ्कर रहस्य लुकाउने अदम्य धैर्य पनि त उनले राख्न सक्नुपथ्र्यो ।
“मैले त्याहाँ जानैपर्छ ।” उनले मनमनै अठोट गरे अनि कारको साँचो बोकेर विष्टलाई पनि नभनी बाहिर निक्लिए ।
“हैन तिमी कस्तो मान्छे हौ चाम्लिङ ? यतिखेर बल्ल आउने हो ? धन्य, रगत चाहिं पठाइदिएछौ र अहिले दिइराख्या’छु । सानो तिनो समस्या हो, ठीक हुन्छ आत्तिनु पर्दैन ।” डा. चाम्लिङ डा. वर्माको क्लिनिकमा पुग्ने बित्तिकै वर्मा बुढा हड्बडाउदै उनलाई यसरी गाली गर्न र सम्झाउन थालेका थिए । डा. चाम्लिङलाई भने फेद न टुप्पोको लाग्दै थिए उनका कुरा । बुढाको बिरामीलाई ठीक होस् कि नहोस् कि, यसको समस्या ठूलो होस् कि सानो होस् कि डा. चाम्लिङलाई त्यसको के मतलब ? अनि उनी केलाई आत्तिनु पर्या’छ र आत्तिनु पर्दैन भनेका बुढाले केही बुझ्न सकेनन् डा. चाम्लिङले । यति चाहिं बुझे कि बिरामीलाई रगत दिइसकिएको छ, त्यसैले त्यो गम्भीर रहस्य छातिभित्रै दबाउने कठोर र एक अर्थमा भन्नुपर्दा अमानवीय अठोट बोकेर उनी बिरामी राखेको कोठाभित्र छिरे ।
जति – जति उनी बिरामीको बेडतिर बढ्न थाले उनले एउटा अनौठो ढुकढुकी अनुभव गरे । बेडमा लम्पसार परिरहेकी विचेत महिलाको अनुहार झलक्क देख्ने बित्तिकै उनका आँखा धमिला भए, टाउको रिङ्न थाल्यो । उनी जोडले आफ्ना चिम्रा आँखा मिच्न थाले र आफूले देखेको दृश्य केवल एउटा भ्रम भैदिए हुन्थ्यो भनेर मनमनै प्रार्थना गर्न थाले । त्यसैबेला हड्बडाहटका साथ खल्वाट बुढा वर्मा कोठामा देखा परे र फलाक्न थाले – “अब के ट्वाल्ल परेर हेरिराख्या’छौ ? व्लड पनि सबै सिद्धिन लागेछ, रातभरिमै होस आइसक्ला । दिउँसो भर्याङ्बाट ओर्लदा रिङ्टा लागेर बेहोस भएकीले छिमेकीहरुले यहाँ ल्याइदिएछन् तिम्री श्रीमतीलाई । हस्पिटलमा फोन गर्दा तिमी भेटिएनछौं, कहाँ गा’थ्यौ दिउँसो । तिमी त व्यस्त छौ ठिकै छ तर कोही सहयोगीहरु त राखिदिनुपर्छ गर्भवती भएको बेला । डाक्टर भएर पनि कस्तो तिम्रो बुद्धि ?”
अहँ, केही असर गर्न सकेन हडबडे वर्मा बुढाको कचकचले डा. चाम्लिङलाई । अचानक आइपरेको यस्तो भयानक परिणामले उनलाई हुनसम्म रन्थनायो । रगतका बचेखुचेका केही थोपाहरु श्रीमती चाम्लिङको शरीरमा प्रवेश गर्दै थिए र डा. चाम्लिङले महशुश गरे – कालका रक्तबीजहरु उनकी गर्भवती श्रीमतीमा प्रवेश गरेर उनको परिवारमा डँडेलो लगाउँदैछन् । आफ्नो अनुहार क्रमशः भावशुन्य अनि हृदय स्पन्दनहीन बनिरहेको उनले महशुश गरे । आफ्ना गह्रुङ्गा पाइलाहरु उनले क्रमशः डा. वर्माको क्लिनिक बाहिरतिर बढाए । डा. वर्माले पछिल्तिरबाट चिच्याई चिच्याई बोलाईरहेको कुरा सुन्ने क्षमता उनको कानले हराइसकेको थियो अनि बुझ्न सक्ने क्षमता उनको मस्तिष्कले गुमाइसकेको थियो ।
डा. चाम्लिङलका ल्याब असिस्टेण्ट केशव विष्ट आफ्नो काम सिध्याइसकेर डाक्टरको कोठामा आइपुग्दा डाक्टरलाई नदेखेर अल्मलिए । कारको साँचो झुण्ड्याउने किला पनि रित्तै देखेपछि त झन् उनलाई आश्चर्य लाग्यो । संधै विष्टलाई उनको घरमा ड्रप गरिदिने डा. चाम्लिङल आज किन बेखबर हिंडेका हुन् भनेर विष्टले ठम्याउनै सकेनन् । डाक्टर सा’ब घर पुग्नु भो’ कि भन्ने सोचेर फोन गर्न उनी टेबलमा पुगे तर उनका आँखा अरु नै केहीमा अल्झिए । त्यो कागज वास्तवमा केही अघिमात्रै डा. चाम्लिङले पढेकै पत्र थियो । पत्र पढिसकेपछि विष्ट छाँगाबाट खसेजस्तै भए, उनले जसरी पनि त्यो रगतको एच.आई.भी. टेष्ट त्यसै रातभरमै गराएरै छाड्ने सङ्कल्प गरे अनि त्यो रगत बोकेर क्लिनिकका सम्पूर्ण ढोकाहरु बन्द गरी त्यो टेष्ट उपलब्ध भएको स्थानतिर लागे । त्यसबेला रातको करिब साँढे दस भैसकेको थियो ।
भोलिपल्ट विहानै केशव विष्ट डा. चाम्लिङको घर तर्फ हान्निएका थिए । रातभरि नसुतेकाले उनको चाल केही सुस्त देखिन्थ्यो तर उनी प्रफुल्ल मुद्रामा थिए र सकेसम्म फूर्ति निकाल्दै थिए । धेरै बेरसम्म कलबेल थिच्ता पनि ढोका नखुलेकोले उनले ढोका घचेटे, खुल्लै रहेछ । उनी सरासर माथिल्लो तल्लाको कोठा नं चार लेखिएको ढोकामा पुगे र भित्र पसे । त्याँहा डा. चाम्लिङ आफ्नो खाटमा लोटिरहेको थिए । स्वाँ–स्वाँ र मन्द हाँसो दुवै मिसिएको विष्टको स्वर बडो अचम्मको सुनिदै थियो – “हिजो हामीले लिएको रगतमा एच.आई.भी. देखिएन नि सर – त्यो रगत एड्स – मुक्त रहेछ । कि त त्यो हिजोको युवक मगज खुस्केको हुनुपर्छ कि त उसलाई दिइएको सिरिञ्जको रगतमा नै एच.आई.भी. नहुनुपर्छ । अथवा यसो नभएर त्यस युवकको प्रतिरोध क्षमता बलियो भएकोले उसलाई एड्स नलागेको पनि हुन सक्छ – मलाई त यस्तै लाग्यो सर ।” हातमा भएको रगत जाँचको रिपोर्टमा लेखिएको एच.आई.भी. नेगेटिभ शब्दलाई छिन छिनमा हेर्दै विष्टले यति त भने तर अनमोल रहस्यको पर्दाफास गर्ने उनका यी पवित्र वाणीहरु सुन्न डा. चाम्लिङ कहाँ पर्खिरहेका थिए र ? राति नै निद्राको गोलीको हेभी डोज लिएर डा. चाम्लिङले आफ्ना चिम्रा आँखाहरु चीरकाल सम्मका लागि बन्द गराइसकेका थिए – आफ्नो बरबादीको अध्याय यहिंनेर समाप्त पार्नका लागि ।
(रचनाकाल – २०५६–१२–३)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal