bio

Stories

म के गरुँ ?

“मन मानिससको नितान्त व्यक्तिगत निधि हो” भनेर यदि कसैले भनेको भए – “कुरो चाहिं सोह्रै आना ठीक हो यो” भनेर भन्ने थिएँ होला म केही समय अगाडिसम्म; सके म आफ्नो समर्थनको पक्षमा घण्टौंसम्म तातो तर्क गर्दो हुँ । तर अहिले..............?

दर्पण ! तँ देखिरहेकैछस् नि – सपना फुल्ने मेरा आँखाहरु अहिले कसरी बेदनामग्न भएका छन्, उमङ्गले छुत्ती खेल्ने मेरा गालाहरु कसरी मुर्झाएका छन्, प्रातः कालका शीतकणहरु टल्के झैं टल्कने मेरा पोटिला अधरहरु अहिले कसरी ओइलाएका छन् । यो पनि तँबाट लुकेको छैन कि – मेरो नागबेली सुन्दर केशराशी अहिले अजङ्गको झाँक्रो बनेको छ अनि मेरो सुडौल शरीर बिल्कुल अधमरो छ ।

थाहा छ किन ?

त्यही मनकै कारणले – जसलाई मैले केबल मेरो सम्पति होला भन्ने ठानेको थिएँ । तर अहँ हैन रै’छ - नत्र मेरै मन अहिले किन मेरो नियन्त्रण बाहिर हुन्थ्यो र ? हो, मेरो आफ्नै मन अहिले अरु नै कसैको नियन्त्रणमा छ । म अहिले किंकर्तव्यविमूढताको त्यस्तो घडीमा छु जहाँ कि म त के मेरो भगवान्ले समेत सम्झाउन सकिरहेको छैन मेरो मनलाई । मेरो मनमाथिको मेरो अधिकार कहिलेदेखि मबाट उसमा सर्‍यो ?

थाहा छैन - कहिले ।

तर यो श्रृंखलाको शुरुवातको दिन – राम्ररी थाहा छ मलाई र त्यही दिन नै बिच्छीको काँढा बनेर घोचिरहेछ मलाई अहिले । हे भगवान् ! त्यसदिन म किन बिरामी भएर ओछ्यान परिनँ ? किन बरु ठहरै मरिनँ ?

ऊसँगको भेट मेरा लागि यति गह्रुङ्गो सावित होला भन्ने मैले सोचेकै पो कहाँ थिएँ र ? तर भैदियो त्यस्तै । त्यसो त सोचेकै जस्ता कुराहरु पुगिदिने र भैदिने हो भने यो संसार अहिले भएकै जस्तो हुन्थ्यो होला त ?

के बिशेष थियो र हाम्रो पहिलो भेट ? म घुँडा मारेर पढिरहेकी थिएँ, ऊ म छेउ आयो र ‘पढिरहेकी बहिनी ?’ भनेर मानौं जिस्कायो । मैले उसतिर हेरेर ‘नमस्ते’ गरें अनि पुनः व्यस्त रहें अक्षरहरुमै । तर उफ ! त्यो सम्मानजनक ‘नमस्ते’ कसरी विस्तारै गह्रुङ्गो सम्बन्धमा बदलियो – कल्पनै गर्न सक्तिँन म । ऊ वास्तवमा त्यसदिन मेरो दाइसँग उहाँको साथीको रुपमा आएको थियो, अनि मेरो पनि दाइ बनेको थियो ।

अनि त के थियो र ? ‘ऊ मेरो सञ्जीव दाई म उसकी निस्ता बहिनी’ । मेरो एस.एल.सी. को परीक्षा सिद्धिएपछि त हामी यति नजिक भयौं कि – यति नजिक भयौं कि – त्यसभन्दा छोटो दुरी हामी बीच सम्भव नै थिएन । नयाँ सडकको मेरो यात्रामा उसले साथ दिएकै हुन्थ्यो, असनका गल्लीहरुमा उसले मेरो हात समाएकै हुन्थ्यो; बालाजुको पार्कमा अथवा जमलको सिनेमाहलमा अथवा कान्तिपथको लाइब्रेरीमा अथवा दरबारमार्गको रेष्टुरेण्टमा हामी जहिले पनि हुन्थ्यौं – सँगै नै हुन्थ्यौं । बागबजारका सपिङ्ग कम्प्लेक्समा र विशालबजारका फेन्सी स्टलहरुमा उसले मलाई धेरै चीजवीज किनिदिएको थियो, लाजिम्पाटको डिपार्टमेण्टल स्टोरहरुमा म कतिपल्ट ऊसँग गएँ कुनै गन्ती नै छैन । गोदावरी, सुन्दरीजल, दक्षिणकाली, सूर्यविनायक, बंगलामुखी, नगरकोट जता–जता म हुन्थे उसले पनि त्याहाँ हाजिरी जनाएकै हुन्थ्यो । तर सम्पूर्ण ती ठाउँहरुमा – म भन्छु – एउटा कुरा अटुट सत्यका रुपमा मेरो मनमा सधै नै रहिरह्यो, त्यो के भने – ‘ऊ मेरो सञ्जीव दाई अनि म उसकी निस्ता बहिनी’ ।

ऊ कार्यरत मोटर ग्यारेजमा पनि जान्थे म यदाकदा । ऊ अर्थात् मेरो सञ्जीव दाइ कुशल मोटर मेकानिक हो । ग्यारेजका मालिकहरुबाटै उसको प्रशंसा सुनेको छु मैले । म त्याहाँ गएर उसको काम हेरिरहन चाहन्थे तर ऊ भने म पुगेपछि कामधामै छाडेर मसँग अनेक कुरा गरेर बस्न रुचाउँथ्यो । तर जे भएपनि मैले चिनेको सञ्जीव दाइ सोझो अनि मेहनेती थियो, लगनशील अनि आफ्नो पाखुरामा विश्वास गर्ने पौरखी थियो ।

म उसको डेरामा समेत पनि जान थाले । मेरो साख्खे दाइबाट मैले के थाहा पाएँ भने उसको घर पनि यतै कतै छ तर परिवारसँगको सम्बन्ध अलि बिग्रको छ । मैले उसँग सोधे यसबारेमा थुप्रैचोटि तर ऊ कुरा गर्न समेत दिदैनथ्यो । मलाई पनि के रहर उसको चित्त दुखाउने ? तर मैले थाहा पाएसम्म ऊ उसका बाबुआमाको एक्लो छोरा हो अनि अति महत्वाकांक्षा र जिद्धी स्वभावका कारण ऊ सोच्न सक्ने भएदेखि नै परिवारबाट अलग छ ।

आफ्नो छोरालाई नै रिझाएर राख्न नसक्ने बाबुआमाको पनि त पक्कै दोष होला नि ! मेरो सञ्जीव दाइ मात्र दोषी हो र ? यस्तै सोच्थें म ।

सञ्जीवलाई कहीं कतै चोट लागेको अथवा बिरामी परेको देखें भने म आफ्नो मुटु नै छुट्टिएझै अनुभव गर्दथे । प्रेमको कत्रो सागर थियो उसकाप्रति मेरो मनमा, उसमा पनि त थियो नि – हो पक्कै थियो । “सञ्जीव दाइ ! फलानो ठाउँमा म पर्खिराख्छु, आउनु है” भनेर फोन मात्र गर्‍यो भने पनि ऊ काम नै छाडेर आउँथ्यो । मलाई त उसले बोलाउनु पर्ने जरुरत नै थिएन – उसलाई कहिले भेटूँ अनि कुरा गरुँ अनि उसको हात मुसारुँ झैं भएर म भित्र दनदनी आगो बल्दथ्यो – त्यसैले म कुदिहाल्थें उसकहाँ ।

त्यो समय नै त्यस्तै थियो, म बडो फुर्सतमा थिएँ । अहिले म सम्झन्छु – एस.एल.सी. सिद्धेपछि रिजल्ट भएसम्ममा त्यस्तो कुनै पनि दिन भएन – जुन दिन मैले उसलाई नभेटेको होऊँ । किन म उसलाई भेट्न यति लालायित हुन्थें ? म अहिले मात्र फुर्सत पाईराख्या’छु आफूलाई केरकार गर्न ।

के म उसलाई अति आदर गर्थें ?

अनि के उसका प्रति मेरो असीम सहानुभूति थियो कि ?

कि उसका लागि म दुःख सुख बिसाउने चौतारी हुन चाहन्थे ?

अहँ म ठम्याउनै सक्तिनँ – आखिर के त्यस्तो कुरा थियो जसका कारण म हरपल – हरक्षण ऊसँगै रहिरहन चाहन्थें ? केही त पक्कै थियो – तर के थियो ? मैले कहिल्यै पनि सोधिनँ – आफैलाई पनि । तर यही प्रश्न ................हो यही प्रश्न अहिले मलाई र्‍याखर्‍याखती पारिराख्या’छ ।

समय सँधै एकनास किन रहन्थ्यो ? शरद ऋतुको आगमन सँग सँगै मेरो जीवनको पनि याम फेरियो एस.एल.सी. मा राम्रो मार्क ल्याएर उत्तीर्ण भएपश्चात् ममाथि मेरो परिवाका इच्छाहरु लादिनु नै थिए – मैले इञ्जिनियरिङ् पढ्नुपर्ने भयो । त्यसो त पढ्नुलाई मैले कहिल्यै बोझ त सम्झिइनँ तर अहिलेको पढाइ किन–किन मेरा इच्छा अनुसार भैरहेछैन जस्तो लाग्थ्यो । त्यसमाथि पनि कलेजमा भैरहने स्ट्राइकहरु तथा मारपीटका घटनाहरुले मलाई हुनसम्म अत्याएका थिए । जे जस्तो भएपनि आखिर मैले पढ्नु त थियो नै – एट एनी कस्ट ।

यसवर्षको दशैं पनि त्यस्तै सामान्य ढङ्गबाट नै आयो – जसरी यसअघिका आउँथे र जसरी यसपछिका पनि आउलान् । तर यसपालि हाम्रो परिवारमा ऊ पनि थपिएको थियो । हाम्रो परिवारमा सबैलाई थाहा थियो ऊ र उसको परिवारको चिस्सिएको सम्बन्ध, त्यसैले हाम्रो परिवारले उसलाई भरसक पारिवारिक वातावरण दिन खोजेको थियो । वास्तवमा उसको शालीन अनि सौम्य व्यक्तित्वका कारण ऊ हाम्रो परिवारका लागि सहज – ग्राह्य भैसकेको थियो । उसले छोरो भएर मेरा बाबुआमाको हातको टिका थाप्यो अनि यसरी ऊ मेरो झन् नजिकको दाजु बन्यो । हाम्रो दाजुबहिनीको सम्बन्धमा अझ लाहछाप त त्यसवखत लाग्यो जतिबेला मैले उसको निधारमा सप्तरङ्गी टीका र गलामा मखमली माला लगाइदिएँ । हो, तिहारमा मैले आफ्नै हातहरुले उसलाई दाइका रुपमा टीका लगाइदिएको थिएँ – त्यसमा अप्ठेरो र छेकबार पनि त केही थिएन नि त्यसो त । आखिर ‘ऊ मेरो सञ्जीव दाइ अनि म उसकी निस्ता बहिनी’ ।

तर उफ ! अहिले म सोच्तैछु – त्यो तिहारको टीका लगाउनु अघि नै मेरो हात किन ठनक्क भाँच्चिएन ? किन म त्यहीं भुतुक्कै मरिनँ ? अहिले यो दिन र यो परिस्थिति त देख्नु पर्दैनथ्यो । तर जे हुनु त भैसक्यो – अब यसो हुनुपर्ने र भएको भए हुन्थ्यो भनेर फाइदै के छ र ?

तिहारपछि म नियमित रुपमा कलेज जान थालें – सञ्जीवलाई भेट्नु पनि मेरा लागि कलेज जानु जत्तिकै नियमित थियो । कलेज छुट्ने बित्तिकै म उसलाई सुम्सुम्याउन पुगेकै हुन्थें । मेरा आँखाहरु उसलाई अगाडी पाउन यत्ति आतुर हुन्थे कि कहिलेकहिं त म प्राध्यापकहरुमा उसको छायाँ पाउँथे, कहिले ब्ल्याकबोर्डका अक्षरहरुसँगै ऊ चलमलाएका पाउँथे, अनि कहिले मसँग हातेमालो गरर हिंडिरहेको महशुश गर्दथें । किन ऊ यसरी मसँग छुट्टाउनै नसकिने गरी जोडिएको छ भनेर मैले त्यसवखत पटक्कै विचार गरिनँ । जे भैरहेको हुन्थ्यो, म त त्यसैमा रम्दथें – विश्लेषण गर्न मैले चाहिनँ अथवा मसँग त्यो क्षमता नै थिएन ? मैले त बस् यो मात्र बुझें कि म ऊ बिना अधुरो छु । तर मैले कहिल्यै बिर्सिइनँ – ऊ मेरो सञ्जीव दाइ अनि म उसमकी निस्ता बहिनी’ ।

उफ ! कति रटिरहूँ, म यस मिथ्या कुरालाई ?

मिथ्या.....हो, साँच्चै नै मिथ्या ।

त्यसदिन मैले यो महशुश गरें जुन दिन........ छिः छिः छि मलाई आफैप्रति लज्जा र घृणा छ त्यस दिनको घटनाका लागि –

कलेजबाट हुर्रिदै उसलाई भेट्न पुगेको थिएँ म । ऊ खाटमा पल्टिरहेको रहेछ सायद थकानका कारण । उसको निर्दोष झैं देखिने अनुहार र त्यसभन्दा पनि बढि त उसको निर्वस्त्र चौडा अनि रोमिल छातीले मेरो रक्तप्रवाहलाई यति तीब्र बनायो कि मैले वेगसित गएर उसलाई – मेरो सञ्जीव दाइलाई – अँठ्याएँ र आफ्ना अतृप्त अधरहरुलाई उसका अङ्गपत्यङ्गगमा सयर गराउन थालें । उसका ओठहरुमा ती निकै बेरसम्म अल्मलिरहे तर उसका अर्धमुर्दित नयनहरुमा मैले लेश मात्र पनि विरोध देखिनँ ।

तर हाम्रो पूर्वस्थापित दाजुबहिनीको सम्बन्धले मलाई यति साह्रो झट्का दियो कि म तुरुन्तै उसलाई छाडेर बाहिरिएँ ।

हो दर्पण ! ठ्याक्कै तैले सोचे जसरी नै त्यसवखत मेरो फोक्सोले लामो–लामो सास तानिरहेको थियो अनि मेरो मुटु जोड–जोडले बल्किरहेको थियो ।

त्यस दिन मैले महशुश गरें – मेरो सुगा – रटाइ मिथ्या हो । मेरो हृदयले सञ्जीवलाई दाइका रुपमा मात्र स्वीकारेको पक्कै छैन, अहँ छैन । तर हैन, ‘ऊ तेरो दाइ हो’। अझैसम्म नसुकेको तिहारको मखमलीले मलाई दागा धरिराख्या’ थियो । तर मेरो मन सायद चिच्याउँथ्यो – ‘हैन ! ऊ तेरो दाइ हैन’। अनि त म दोधारको झोलुङ्गेमा हल्लिरहें – ट्ठिविधाको पिङमा मच्चिरहें ।

त्यसपछि पनि मैले उसलाई भेटिनै रहें, तर केही असजिलोपना अवश्यै थियो हाम्रो भेटमा । आश्चर्य त मलाई केमा लाग्यो भने – ऊ अर्थात् सञ्जीव दाइ चाहिं मसँग झन् खुलेर कुरा गर्न थाल्यो र साँच्चै ऊ यसरी म समक्ष देखापर्न थाल्यो कि – ऊ पनि मलाई बहिनी नभई अरु नै केहीका रुपमा हेर्न अनि पाउन चाहन्थ्यो । त्यसदिनको घटनाका लागि म उसँग माफी माग्न चाहन्थें वास्तवमा, तर उसले मलाई मौकै कहाँ दियो र ? ऊ त झन् मलाई नजिक्याउन थाल्यो र माया पोख्न थाल्यो आलिङ्गगन र चुम्बनका वर्षाहरु मार्फत् । म आखिर के गर्न सक्थें....... ? एक मन त लाग्यो अब उसकहाँ जान छाडिदिऊँ तर अहो ! उसँगको भेट बिनाको मेरो जीवन सम्झने बित्तिकै म आफूलाई तारे भीरबाट खसालिंदाको झैं अत्यास अनुभव गर्दथे – कहाली लाग्थ्यो । अनि के म सञ्जीव दाइकै रुपमा भेट गर्न सक्तिनँ ? तर मेरो मन........त्यो त उसैले खिचिसकेको छ आफूतिर ।

आखिर एउटा अन्तिम शस्त्र फ्याँक्ने विचार गरें आफूलाई सञ्जीवबाट टाढा पार्नका लागि – एउटा चिठी लेखें । हैन, हैन सञ्जीवको नाममा हैन – मेरो एउटा काल्पनिक प्रेमीको नाममा । जे पनि हुनसक्थ्यो उसको नाम – किशोर, अथवा आकाश अथवा सागर अथवा सञ्जीव ! अहँ हैन, सञ्जीव हैन – सञ्जीव त मेरो दाइको नाम हो । उफ ! यो मिथ्या सुगा – रटाइ ........

त्यो चिठी मैले मेरो वालेटको पकेटमा राखें अनि एकदिनको लागि त्यो वालेट सञ्जीवकै कोठामा बिर्सेको नाटक गरेर छाडिदिएँ – उसले हेरोस् अनि मेरो अर्कै प्रेमी भएको भ्रम पालेर मसँग दाजु बहिनीको सम्बन्धमा मात्र सीमित रहोस् भन्ने सोचेर । तर उफ ! एउटा भूललाई अर्को गल्तीले ढाक्न खोज्नु मेरो कत्रो मूर्खता ?

अर्को दिन जब म सञ्जीवको कोठामा पुगें त्याहाँ उसको साथमा अर्को एउटा केटो थियो – विवेक । उसलाई पहिल्यैदेखि चिन्थें म – सञ्जीवको मामाको छोराको रुपमा । उही विवेकले नै त गर्‍यो जे गर्नु । आहो ! उसले के–के भन्यो ? उसले जे जति भन्यो – मेरो दिमागमा हलचल मच्चाउन पर्याप्त थियो ।

“तिमी किन सञ्जीवलाई ‘दाई’ को रोल दिएर नौटंकी मच्चाइरहेकी छ्यौ ?” कति घोचे होलान् मलाई उसका यी शब्दवाणहरुले । तर वास्तविकता त त्यही नै थियो आखिर जतिसुकै तीखो र तिक्त भएपनि । तर अहँ स्वीकार गर्न सकिनँ मैले ।

“सञ्जीव दाइ मेरो दाइ नै त हो ।” अश्रुमिश्रित ढिपी थियो मेरो । तर के मेरो मनबाटै आएको आवाज थियो त त्यो ? अहँ हैन – मेरो मन मेरो आफ्नो नियन्त्रणमा कहाँ थियो र ?

“कुनै पनि बहिनी दाइलाई भेट्न यति बिघ्न मरिमेट्तिनन्, त्यो मलाई थाहा छ । तिमी नढाँटी भन त, के तिम्रो आफ्नै दाइलाई गर्ने माया र सञ्जीवलाई गर्ने माया एउटै छ ? पक्कै छैन । अनि के तिमीले हुँदै नभएको व्यक्तिको नाममा लेखेको छद्म चिठीले सञ्जीवलाई झुक्याउन सक्छु भन्ठान्या’छौ तिमीले ? तिमी किन हिम्मत गर्दिनौ सत्य कुरा खोल्न ? भनिदेऊ – तिमी सञ्जीवलाई प्रेम गर्छौ । सायद तिमीलाई डर छ समाजको अनि परिवारको । फालिदेऊ त्यो डर अनि हिम्मत गर निस्ता । सञ्जीव तिम्रो बोली सुन्न अधीर भएर पर्खिरहेछ ।”

के विवेकले ठीक भनेन ? म छुट्याउन सक्तिनँ भगवान् सक्तिनँ ।

जति आँशु बगाउँदा पनि मैले शीताङ्ग महशुश गरिनँ । बरु उही सुगा–रटाइ – “सञ्जीव दाइ हो ।” नै ध्वनित भैरह्यो, प्रतिध्वनित भैरह्यो ।

सञ्जीव जड झै भएर कुरा सुनिरहेको हुँदा हो त्यतिखेर, तर विवेकले बोल्न छाडेन –

“तिहारको टीकाले तिमीलाई खबरदारी गर्दो हो सायद । तर तिमी किन बुझ्दिनौ निस्ता त्यो नाता तिमीले नै जोडेकी थियौ र चाहेमा तिमी नै फुकाउन पनि सक्छ्यौं । खाँचो त केबल तिम्रो हिम्मतको छ निस्ता – हिम्मत गर ! मलाई थाहा छ यो तिम्रो लागि कठीन परीक्षाको घडी हो, तर यस्तै परीक्षाहरुलाई छिचोल्नुमा नै त जीवनको वास्तविक सफलता लुकेको हुन्छ , आफूभित्रको शक्तिलाई जगाऊ निस्ता ! तिम्रो मनमा पनि त्यही नै कुरा छ जुन सञ्जीवले चाहेको छ – तिमी आफ्नो चाहना र हिम्मतको दैलो एकैचोटि उघार निस्ता ! साहस गर !”

हे ईश्वर ! यो कस्तो अप्ठेरो ? म के गरुँ ?

म कतिञ्जेल आफूलाई धोकामा भुलाएर राख्न सकूँला ? के म आफ्ना वाचा सब त्यागिदिऊँ ? म सञ्जीवको नियन्त्रणमा गइसकेको आफ्नो मनलाई जबर्जस्ती खिचेर आफूमा मिलाइकन यो कहानीको यहिं अन्त गरिदिऊँ कि विवेकले भने जस्तै तोडिदिऊँ सञ्जीव र मेरो बीचका सम्पूर्ण पर्खालहरु ?

अहँ, म यसै गर्छु भनेर सोच्नै सकिरहेको छैन । दुवै बाटाहरु मेरा लागि यति कष्टप्रद छन् कि – साध्य छैन । कि त मैले मेरा सुषुप्त इच्छा – आकाक्षाहरुको घाँटी निमोठनु पर्छ कि त मैले समाजसँगको युद्धको शङ्गघोष गरी होमिनुपर्छ आफै युद्धमा । कुन बाटो रोजूँ प्रभु म ?

हे मन ! तँ त निर्देशन दे मलाई अनिर्णयको यस घडिमा । तर तँ के निर्देशन दिन्थिस् ? तँ त मेरो नियन्त्रण बाहिर गइसकिस् ।

उफ् ! किंकर्तव्यविमूढताको यस घेराबाट कसरी बाहिर निकालूँ म आफूलाई ?

म के गरुँ ? ......................के गरुँ ?

(रचनाकाल – २०५६–१–२८)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER