रामे पन्ध्र महिनाको मात्र थियो उसकी आमाले उसलाई छाडेर जाँदा । उसले आमाको सट्टा एकैचोटि ‘बुबा’ नै भन्न सिक्यो । हुन पनि हर्कबहादुरले उसलाई सक्तो माया दियो र खेती–किसानीबाट भएको पुगनपुग आर्जनबाट सुन्दर भविष्यको सपनाको जालो बुनेर रामेलाई हुर्काइछाड्यो । ६ वर्ष टेकेपछि उसलाई पढाउन भर्ना पनि गरिदियो तर पनि रामेले पढ्नमा उति मन नदिएजस्तो लाग्यो हर्केलाई । गरीबको छाउराले पढेर के नै लछार्ला र भन्ने जस्तो लाग्यो उसलाई पनि, त्यसैले रामेलाई बरु कामहरु नै सिकाउन थाल्यो ।
समय कसैलाई पर्खनेवाला थिएन – रामे पठ्टो जवान भयो भने हर्के समयसँगै ओइलाउँदै गयो । हर्केको खस्कँदो अवस्था देखेर रामेले एकदिन केहि ठस्केझै गरी भन्यो – “अब आराम गर्नु नि ‘बा’, काम म गरुँला ।” तर साथीभाइहरुसँग भने ऊ भन्ने गथ्र्यो – “‘बाउ’थला पर्ने भए यार ।”
आफ्नो अवस्थाका कारण पनि हर्कबहादुर रामेलाई बिहे गर्नका लागि कर गरिरहेका थिए । आखिर छरछिमेकले कुरा काट्ने ठाउँ बाँकी नराखी बाजा बजाएरै भित्र्याइयो माथ्ला गाउँकी जिम्वलकी छोरी उजेलीलाई । व्यथाले असाध्यै च्यापेर ओछ्यान परेकाले ससूराको स्याहार सुसारमा उजेलीले बढी समय बिताउनु पर्ने भयो । अब भने रामे गनगन् गर्न थालेको थियो – “बुहारीलाई दिनु सम्म दुःख दिने भए “बूढा’ले मर्ने बेलामा ।”
(रचनाकाल – २०५४–११–१३)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal