उसको हुत्याइ अप्रत्याशित थियो । उसको त्रस्त र क्लान्त मुखमुद्राले निभेषभरमै यति भयानकताको सृजना गर्यो कि नढाँटी भन्नुपर्दा म नराम्ररी डराएँ । तर मेरो कुशल चिकित्सकीय आँखाले यो ठहर गरिहाल्यो कि ऊ कुनै आक्रमणकारी नभएर समस्यामा परेको कुनै बिरामी नै हो, उसको असङ्कल्पित तथा समर्पित भाव बोकेको अनुहार नै मलाई यस्तो सोच्न बाध्य बनाउनका लागि काफी थियो । त्यसकारण किञ्चित नहड्बडाई मैले आफ्नो व्यवसायकीय कर्तव्यको पहिलो स्टेप पूरा गर्ने जमर्को स्वरुप उसतर्फ सान्त्वनाका भाषामा प्रश्न तेस्र्याएँ – “के भो’ तपाईंलाई ? बस्नुस् कृपया !” व्यवसायिक लेप त छँदै थियो - “नहड्बडाउनुस् ! अब तपाईं मेरो अगाडि आइसक्नुभएको छ । तपाईंलाई परेका सम्पूर्ण शारीरिक समस्या म समक्ष बिसाउनुहोस् र निश्चिन्त हुनुस् । सम्झनुस् तपाईं अब ठीक हुनुभयो । भन्नुस् के भयो ?
ऊ छिटोछिटो सास फेरिरहेको थियो तर केही बोल्न सकिरहेको थिएन । कोठाको सम्पूर्ण अक्सिजन नै सिध्याउला झैं गरेर घाँटी फुलाई–फुलाई ऊ सास मात्र तानिरहेको थियो । मेरा हातहरुले स्वतः स्फूर्त रुपमा एक ग्लास पानी उसका अगाडी राखिदिए, उस्तै गतिमा उसले पनि घुड्क्यायो एक शब्द पनि आवश्यक परेन त्यस बखत । तर उसको स्थितिको बारेमा बुझ्नका लागि त शब्द अवश्य आवश्यक थिए किनकि म कुनै अन्तर्यामी ज्योतिष नभएर एक चिकित्सक, अनि मेरो पेशामा झूटा शब्दहरुको खेतीले भन्दा धेरै गुणा महत्व राख्तछन् – तथ्यगत विश्लेषण र त्यसको निचोड अर्थात् सहि निर्णयले ।
अन्ततः ऊ ओठ कमाउँदै बोल्न थाल्यो – “डक्टर ! मेरो जीवन बर्बाद भयो । म खत्तम भएँ ।” बस् यत्ति भनेर ऊ अनौठो किसिमको रुवाई झिक्न थाल्यो । लागू पदार्थको लतमा चुर्लुम्म डुबेर आफूलाई असहाय महशुश गर्ने सम्भ्रान्त बीजको दुर्घटनावश मुर्झाउन पुगेको अङ्गुर होला भन्ने अनुमान गरें मैले त्यो नवयुवक । बाहिरबाट हेर्दा शुशील र सभ्य देखिने तर भित्र–भित्रै दुव्र्यसनले सिध्याउन लागेका, पहिले मोज गरें भन्ठान्ने र पछि बिलाप गर्ने यस्ता कलङ्कित युवाहरु धेरै देख्या’छु मैले ।
मैले के भन्नुपर्छ भन्ने विषयमा मलाई मेरो ब्रम्हले कुनै निर्देशन दिन नै सकेन नत्र म किन त्यसरी टोलाएर बस्थें र ? ऊ नै बोल्यो – “म मेरो रगत टेष्ट गराउन चाहन्छु, डक्टर ।” मैले बुझें – उसले आफूमा उहि असाध्य रोगको शङ्का गरेको होला । घोप्तो हो शरीरभरि अनिर्मलिकृत सूईहरु अनि त्यस्तो रोग नलाग्ला भन्ने के ग्यारेण्टी भयो र ? यस्ता आफ्नै कारणले बरबाद भएकाहरुप्रति मलाई सहानुभूति भन्दा बेसी घृणा छ, यद्यपि बिग्रनुमा ऊ आफै मात्रै कारक नहुन सक्छ । उसको त्यस किसिमको बिलाप अनि पीडा ओकेल्याइ प्रति पनि म सहानुभूतिशील नहुनु एक किसिमले आलोच्य पनि हुन सक्छ । तर मैले भनिसकें नि – मलाई यस्ता प्रति घृणा छ । मैले चुपचाप एक सिरिञ्ज रगत उसको पाखुराबाट झिकेर ल्याबतिर पठाईदिएँ, अनि मेरो नजरमा घृणित ठहरिएको उसको केसलाई पाखा पन्छाएर म अरुतिर व्यस्त हुन खोजें ।
त्यहि दिनको अपरान्हमा ऊ उहि क्लान्त र सहानुभूति खोजिरहे झैं देखिने शिथिल मुखमुद्रा लिएर मेरो अगाडि उपस्थित भयो । उसको रक्त परीक्षणको रिपोर्ट आइसक्या’थ्यो, तर मैले हेरेको थिइनँ – हेर्ने कुनै उत्सुकता पनि थिएन । तर हेर्दै नहेरी दिनु पनि कसरी ? सर्सती हेरें – उसले शङ्का गरेका एच.आइ.भी. का किटाणुहरु रहेनछन् उसको रगतमा । तर यस्तै गरी ऊ दुव्र्यसनमा फसिरहेमा त्यो दिन पनि टाढा छैन – यहि सोचें ।
मैले निःशब्द त्यो रिपोर्ट फाइल उसतर्फ तेस्र्याएँ । स्वभाविक रुपमा व्यग्रता देखाउँदै त्यो आफूतिर तान्यो र हेर्यो । उसको शिथिल मुद्रा क्रमशः चम्किन थाल्यो, ओठ हाँस्यो अनि आँखा चम्कियो, हल्का उच्छवास ओकल्न थाल्यो ऊ । मलाई चाहिं घृणा नै लाग्यो – दुःखमा आत्तिने र सुखमा मात्तिनेहरु एक न एक दिन खाडलामा परेरै छाड्छन् – म अझै मुर्मुरिदैं थिएँ । ऊ खुशीसाथ उठेर केहि झुक्यो अनि भन्यो – “थ्याङ्क यू डक्टर ! थ्याङ्क यू भेरी मच् !” मैले कुनै औपचारिकता देखाउनुभन्दा पनि आफूले अध्ययन गरिरहेको किताबतिर नै हेरेर सानो स्वरमा भनें – “यदि दुव्र्यसन त्याग्न नसकेमा त्यस रोगबाट सुरक्षित छु भनेर नसोचे हुन्छ ।”
“डक्टर !” उसको आश्चर्यले भरिएको झैं सुनिने आवाज आयो “I am not a drug addict, you know?” (म दुव्र्यसनी होइन, बुझ्नुभो) “Then stop going to brothel, dear lad.” (त्यसो भए, वेश्यालय जान बन्द गर्नु, प्रिय ठिटो !)
मेरो स्वर पनि केही चर्को थियो र नजर उसमाथि गाडिएका थिए - सायद यो मेरो डाक्टरी अभियान थियो । ऊ पनि मेरो टेबुल ठटाउँदै चिच्यायो – “डक्टर !”
म आत्तिएँ ।
“के तपाईंले मलाई रण्डीबाज सम्झनुभा’छ ?” ऊ राँक्कियो । “अनि किन त तिमीले आफ्नो रगतमा एच.आई.भी.को शङ्का गर्यौ ?” म पनि डग्मगाइनँ ।
“के दुव्यसनी र वेश्यावृत्तिबाट मात्र यो रोग लाग्छ ?” उसले मलाई नै वाल्ल पार्यो । वास्तवमा हो त नि ।
यस्तै केसहरु बढी फेस गर्नुपर्ने भएकोले हामी डाक्टरहरु कति सङ्कुचित भएका रहेछौं । मैले भूल स्वीकार गरें - “सरी यङ्ग म्यान ! तिम्रो सम्पन्नता र सम्भ्रान्तताको छनकबाट यसो भनेका हुँ ।”
“यहि त मानिसहरुले गल्ती गर्छन् – वास्तविकता बुझ्नै नखोजीकन मनगढन्ते कुरा गरेर पनि कहिं हुन्छ ?” वास्तवमा कुरा सहि थियो ।
“त्यसो भए किन त यो असाध्य रोगको शङ्का गर्नु परेको ?” म नम्रतामा झरिसकेको थिएँ ।
“कहलिलाग्दो कहानी छ डक्टर, तपाईं सुनेर के गर्नुहुन्छ ? शरीर जाँच्ने मान्छेले मनको कुरा सुनेर के फाइदा ?”
मैले बुझें – उसले मलाई व्यवसायिकता र व्यापारिकताको कसीमा राखेर हेर्यो ।
“होइन नवयुवक ! म पनि एक भावुक र हृदयवान् व्यक्ति हुँ, खालि व्यवसायिक अभ्यासले मलाई यति सारो रुखो बनाएको हो ।”
मलाई उसप्रति रुचि बढिसकेको थियो र जसरी भएपनि उसका कुराहरु सुनेरै छाड्ने विचार आइसकेको थियो । केही क्षणको अनुरोध पश्चात ऊ बल्ल सहमत भयो आफ्नो कथा सुनाउन । ऊ भन्दै गयो – “व्यवस्थापनमा डिग्री हासिल गरेपछि मैले विवाह पनि गरें अनि आफ्नो छुट्टै बिजिनेस शुरु गरें । यसक्रममा एकदिन मलाई लामो यात्रा गर्नुपर्ने भयो – व्यापार कै सिलसिलामा । त्यस व्यापारिक भ्रमणलाई यथासम्भव रुचिकर र एक किसिमले भनूँ भने रमाइलो बनाउने मेरो ध्येयमाथि ठेस पुगेको अनुभव मैले गरें – यस कारण कि – मेरी नवविवाहिता बधुले त्यस भ्रमणमा मलाई साथ दिन इन्कार गरिन् ।”
“म पनि हिंडेपछि यहाँ घर अनि व्यापार कसले सम्हाल्छ नि ?” तर्क संगत नै थियो उनको कुरा ।
नरमाइलो मानेरै भएपनि उनको सुझबुझ र जिम्मेवारी बोध माथि गर्व गर्दै मैले बेर नगरी यात्रा थालें । बिदाइको न्यानो चुम्बनको शीतल झन्झनाहटले अवश्य नै मलाई उर्जा प्रदान गरिरहेको थियो र त्यो ऊर्जा आवश्यक पनि थियो किनकि म एक्लो थिएँ त्यस यात्रावधिभरका लागि र नढाँटी भन्नुपर्दा – यस कारणले पनि कि – म आफैंमा केहि बढी आत्तिने प्रवृत्तिको अथवा भनूँ भीरु प्रवृत्तिको छु ।
शहरको कोलाहलबाट जसै म बाहिर निस्किएँ, एक किसिमको शान्ति त अनुभव गरें नै तर असजिलो शून्यताले भने सताइ नै रर्यो । फराकिलो सडक तथा ट्राफिकहरुको कम चापका कारण ड्राइभिङ्गमा उति सिरियसली तल्लीन हुनुपरेन, त्यसैले हात स्टेयरिङ्गमा थिए तर मन भने अन्त कतै – थाहा छैन कता ?
हनिमूनको ह्याङ्गओभर सायद बाँकी नै हुँदो हो अथवा पारिवारिक वियोगको पीडाले घोच्तै हुँदो हो अथवा सके व्यापारिक उन्नतिले हौस्याउँदै हुँदो हो अथवा त्यस भन्दा माथि उठेर विश्वशान्ति र सहअस्तित्व माथिको खुलेआमको हाँकले चस्काउँदै हुँदो हो । यस्तै अनेकानेक भाव तथा सम्झनाहरुका ताँतीले म माथि निर्घात आक्रमण गरिरहेका थिए – साँच्चै नै आक्रमण । र म असम्भव ठानिरहेको थिएँ कि यी सबबाट उम्केर म सकुशल आफ्नो लक्ष्यमा पुग्न सकूँ । मानसिक रुपको आक्रमण र अझ भनौं भने अतिक्रमण कति पीडादायक हुन्छ, कमैलाई मात्र त्यसको अनुभव होला, खैर, म ती सबबाट उम्किन खोजिरहेको थिएँ । तर ......................उपाय नास्ति !
जङ्गलको बीचबाट कुदिरहेको राजमार्गमा म आफूलाई अचल झैं अनुभव गरिरहेको थिएँ र कहिलेकहिं त म आँखा चिम्म पनि गर्दथें – मानौं कुनै म्याजिकको आशा गरेर – यसरी कि आँखा खुल्दा म गन्तव्यमा पुगिसकेको होऊँ । म्याजिक........ अँ म्याजिक त साँच्चिकै भयो – ठ्याक्कै त्यति नै बेला जतिबेला मैले आँखा चिम्म गरेर खोलें । एउटी आइमाइ अहँ – अहँ हैन एउटी युवती हात उठाएर मलाई रोक्ने इशारा गरिरहेकी थिइन् । मैले गाडी रोकें र उनी क्रमशः मतिर बढिन् । हल्का रंगको सादा कुर्ता सलवार, लामो सलक्क परेको कपाल, स्लीम शरीर, चौडा अनुहार, सरल अनि रसिलो मुखमुद्रा – यही सब नोटिस गरें मैले पहिलो नजरमा ।
यात्रामा एक्लै हुनुको पिरलोबाट अमलेख भएका कारणले त मेरो मन उसै रमाएकै थियो, झन् उसमाथि पनि एक युवतीको साथ पाउने अवसर मिल्दा संसारमा त्यस्तो कुन पाषाणहृदयी मर्द होला जसको मन नरमाओस् अनि हृदय नरसाओस् ? गाडीको सीसा खोलेर मैले टाउको निकाल्न पाउँदा – नपाउँदै उनले सोधिन् – “तपाईंको यात्रा कहाँ सम्मको लागि होला ?”
उत्तर त मैले अवश्यै दिएँ होला वास्तविक नै, तर मलाई सत्ते थाहा भएन मैले के बोलें । बरु उनकै बोली बडो मधुर ढङ्गबाट व्यक्तियो – “ए ! त्यसो भए त राम्रो भयो, मैले पनि तपाईंको यात्रामा सहभागी हुने अवसर पाउने भएँ । म पनि त्यहिं पुग्न लागेकी, तर हेर्नुस् न गाडी नै आएन ।” विशेषगरी बोल्दा–बोल्दैको उनको मुस्कानले मलाई लठ्ठायो । ढोका खोलिदिएँ मैले गाडीको, तर मेरो बोली मानौं हाराएको थियो । ढोका लगाएको “धड्याम्म” को आवाज पश्चात् उनकै मधुर बोली लहरियो – “धेरै–धेरै धन्यवाद यहाँलाई ।”
प्रायः एक फुट जतिको दुरी होला हाम्रो बीच तर कस्तो–कस्तो समिप्यको न्यानोपना अनुभव गर्दै थिएँ म । अपरिचित र विशेष गरी महिलासँग कुरा गर्ने मामलामा म कति पछाडि रहेछु, मैले बल्ल अनुभव गरें । केहि बोल्नका लागि भनेर मैले धेरै यत्न गरें, तर ............के बोल्ने ? कसरी शुरु गर्ने कुराकानी अहँ मैले ठम्याउनै सकिनँ । त्यस्तो अप्ठेरो त मैले विवाह पश्चात् शान्तासँग बोल्न पनि महशुश गर्या’ थिइनँ, त्यसो त त्यसका लागि मेरो कत्रो पूर्व तयारी थियो नि त । आखिर म भीरु नै ठहरिएँ, कुराकानी उनैले शुरु गरिन् – “गरम बढेको छ हगि ?”
आफ्नो सललाई काँधबाट झिकेर काखमा राखेपछि उनी अगाडि बोलिन् – “बाइ द वे, यहाँको नाम थाहा पाउन सक्छु कि ?”
“प्रवीण” मेरो छोटो उत्तर थियो ।
“ओ ! प्रवीण..... मतलब योग्य, कुशल, सिपालु, पोख्त । बडो राम्रो नाम रहेछ यहाँको ।”
मैले पनि केही रिलिफको महशुश गरिसक्या’थे, सोधे - “अनि तपाईको.... ?”
“संयोग नै मान्नुपर्छ हेर्नुस् न, मेरो नाम प्रवीणा ।” हाँसो मिश्रित उनको उत्तरले म चकित भएँ, मेरो नाम प्रवीण, उसको कसरी प्रवीणा ? ढाँटेकी त हैनन् उनले ? गहिरिएर उनीतिर हेरें मैले तर अहँ उनको पवित्र हाँसोले ढाँटेको एक रत्ति पनि सङ्केत दिदैनथ्यो । फेरि नाम केलाई ढाँट्नु र ? मेरो नाम प्रवीण अनि उनको प्रवीणा हुनु असम्भव कुरो पनि त हैन नि आखिर ।
“म एक विद्यार्थी, अहिले थेसिसको सिलसिलामा यात्रा गरिरहेकी ।”
“म चाहि एक बिजिनेसम्यान, व्यापारिक यात्रा नै हो यो ।”
यसैगरी खुल्दै गयौं हामीहरु एक आपसमा । विस्तारै हाम्रो कुराकानी समाज विकास, देशको आर्थिक स्थिति, समस्याहरु आदि विबिध विषयहरुमा घुम्दै जान थाल्यो । कुराकानी क्रममा वैचारिक उत्तेजनाले मलाई यतिसम्म बनायो कि म कहिले जोडले एस्सिलेरेटर थिच्थें त कहिले घ्याच्च ब्रेक पनि लगाउन पुग्थें । बडो गजबको तार्किक क्षमता पाएँ मैले उनमा ।
एक ठाँउमा हामी अडियौं छोटो विश्रामका लागि । मैले म्याप पल्टाएर हेरें – त्यस ठाँउलाई “लामोसाँघु” भनिंदो रै’छ । सडकको दुबैतर्फ केही सुहाउँदा र केही नसुहाउँदा घरहरुले त्यस ठाँउलाई बजारमा परिणत गरेका रहेछन् । उति उत्साही वातावरण त हैन तर राम्रै चहलपहल रहेछ । हामी एउटा होटलमा चिया पिउन थाल्यौं । चिया पिउँदाको बखत पनि प्रवीणाजी मसँगको बहसका लागि नयाँ नयाँ कुरा झिक्तै थिइन् । म त उनलाई साथ दिन उसै उत्साही छँदै थिएँ । वास्तवमा हामी यति खुलेर कुरा गर्न थालेका थियौं कि हामीलाई देख्ने जो कोहीलाई पनि हामी तीन घण्टा अघि मात्र एक अर्कासँग परिचित भएका हौं भनेर पत्याउन गाह्रो पर्दथ्यो । तर कुरा गर्दै रहँदा मैले महशुश गरें – एउटा युवक मलाई एकटकले हेरिरहेको छ । मैले उसतर्फ नजर घुमाउन नपाउँदै ऊ अलिक अगाडि बढेर भन्यो – “एक्सक्यूज मी ! के तपाईं प्रवीण शर्मा हुनुहुन्छ ?”
“ज्यू म नै हुँ प्रवीण शर्मा” – साश्चर्य मैले भनें – “अनि तपाईं ?”
“म यहिंको स्थानिय मान्छे, तपाईको बारेमा महेशजीले कुरा गर्नुभा’थ्यो ।”
“महेशजी............ओ ! माई पेन फ्रेण्ड महेश !”
लामोसाँघु भन्ने ठाँउमा आइपुगेर पनि महेशलाई नसम्झनुमा मैले पहिला त आफैलाई धिक्कारें, कलेजलाइफ देखिको पत्रमित्र थियो ऊ मेरो । तर मलाई आश्यर्य त यसमा लाग्यो कि त्यस युवकले मलाई चिन्यो कसरी ? सोधिपनि हालें “तर तपाईंले मलाई कसरी चिन्नुभयो ? म त अहिलेसम्म यहाँ आइपुगेको थिइनँ ।”
“तपाईंको तस्वीर छ हाम्रो अफिसमा, राम्रो सहयोग गर्नुभा’छ नि तपाईंले हाम्रो संस्थालाई ।”
“‘दीपशिखा सृजनशील समूह’....... यही हैन तपाईंहरुको संस्थाको नाम ? राम्रो काम गर्दैछ क्यार यसले । यसको प्रेसिडेन्ट चाहिं को छ नि ?” – व्यग्रता जनाएँ मैले ।
“एक्चुअली, हाम्रो समूहमा कोही पनि प्रेसिडेन्ट, सेक्रेटरी अनि ट्रिजरर नामधारीहरु छैन । सम्पूर्ण सदस्यहरु उत्तिकै अधिकार सम्पन्न हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।”
“ओ आइ सी ! महेशको कन्सेप्ट होला हैन त यो ? सहकार्यमा अति विश्वास गर्छ नि ऊ । साँच्ची महेशलाई भेट्न सकिन्छ ?”
“माफ गर्नुस्, अहिले त बुद्ध, शुशील, राजेन्द्र, नरेश अनि महेशजीहरु संस्थाको कामको सिलसिलामा बाहिर जानुभा’छ । हिंड्नुस् न हाम्रो अफिसमा अरु साथीहरु हुनुहुन्छ नि ।” ती युवकले आत्मीयता देखाए ।
“अहिले अलि फूर्सद छैन, फर्कदाँ खेरि पसौंला नि, है ।”
“जरुर पस्नु होला है त ।” ती युवक विदा भए ।
यतिञ्जेलसम्म प्रवीणाजी सायद हाम्रो कुरा सुन्दै मात्र थिइन् । उनीलाई बताइदिएँ – ‘दीपशिखा सृजनशील समूह’ त्याहाँको सामाजिक संस्था हो र त्यसले विशेषतः साहित्यिक तथा साँसकृतिक उत्थानको जमर्को गर्दैछ ।
हामी पनि बाटो लाग्यौं त्यस ठाँउबाट । त्यस अगाडिको यात्रा पनि रसिलो नै बनाइन् सहयात्रीले । कहिले उनी सगरमाथामा फोहर थुप्रेको कुरा गर्थिन् त कहिले राजनीतिज्ञहरुको भूँडी बढेको टिप्पणी गर्दथिन् । कहिले प्रज्ञा प्रतिष्ठानको अकर्मण्यता त कहिले महानगरको दुर्दशा आदि–आदि । यस्ता अनेकन कुराहरु भए हामीबीच । यति थाहा पाएँ कि उनी हरेक विषयवस्तुमा ज्ञान भएकी चतुर विदुषी रै’छिन् ।
अर्को एउटा बजार जस्तो ठाउँमा पुग्दा साँझ परिसक्या’थ्यो । त्यो रात त्यहीं बिताएर भोलिपल्ट मात्र यात्रा थाल्ने टुङ्गो भयो हामी दुबैको । प्रवीणाजीलाई एकछिन बसिराख्नू भनेर म ओर्लिए र कतै लजहरु छन् कि भनी खोज्न थालें । पन्ध्र मिनेट जति नै लाग्यो एउटा लज भेट्टाउन । दुईटा कोठाहरु बुक गरेर म फर्किए पुनः गाडी भएकै ठाँउमा । प्रवीणाजीबाट आज साँझ के कस्ता कुरा सुन्न पाइने हुन् भन्ने तर्कनामै म पुगें त्याहाँ । तर...............आश्चर्य ! त्याहाँ प्रवीणा थिइनन् । एकछिन त पर्खे – कतै टहलिन निस्केकी हुन् कि भनेर । तर कहाँ र........? यताउति सोधखोज गर्दा पनि केहि टुङ्गो लागेन ।
ऊ गइछ, तर उफ् ! मलाई कत्रो खाडलमा खसाएर । जब म निराश भएर गाडीमा पसें अनि त झन् .... उफ् ! कहालिलाग्दो...................। त्यहाँ सिटमाथि एउटा रक्तिम सिरिञ्ज थियो – जसमा भँगेरे अक्षरमा लेखिएको थियो – “एड्स !” हे भगवान्, यो के ? म हुनसम्म आत्तिएँ – प्रवीणाले मलाई एड्सयुक्त रगतको सिरिञ्ज दिएको हो कि क्या हो ? अहँ – यो हुन सक्तैन । ती विदुषी........तर के ठेगान – ज्ञान र प्रज्ञाको मखुण्डो भित्रै कति – कति कलङ्क लुकेका हुन्छन् । पक्कै म एड्स पीडित भएँ – अनि ............. अनि बरबाद भइनँ त म ? सिद्धियो सब सिद्धियो – खत्तम भयो – खरानी भयो ।
मैले आफ्नै खुट्टाको भर पाइनँ, दिमागको सार पाइनँ – होसहवास सबै गुम भयो ।”
मिस्टर प्रवीण एकनासले बोल्दै थियो, म बडो गौर गरेर सुन्दै थिएँ । तर अचानक यहाँनेर अड्कियो ऊ ।
“अनि के भयो मिस्टर प्रवीण ?” जिज्ञासा थियो मेरो ।
“एक वर्ष जति अगाडिको कुरा हो डक्टर यो । त्यसपछि............ त्यसपछि लगातार एक वर्ष सम्म म भुमिगत भएँ – लुकि नै रहें – म घर गइनँ । नसोध्नुस् डक्टर, म कहाँ–कहाँ गएँ ? बिर्सन चाहन्छु म ती कहालीलाग्दा दिनहरुलाई । आखिर म घर जान पनि त सक्तिनथें – त्यत्रो रोग बोकेर । मैले आफैंलाई सिध्याउने बिचार पनि नगरेको हैन, तर समयले दिएन । हिजो राति मेरो मनमा अनेक कुरा खेले – आखिर मलाई एड्स लागेकै छ भन्ने त प्रमाणित भा’छैन नि, नहुन पनि त सक्छ । अनि मैले रगत जँचाउने बिचार गरें । एकवर्ष भन्दा बढीको निर्वासन त्यागेर आज हताश मानसिकतामा प्रकट भएँ । तर डक्टर ! भगवानको कत्रो निगाह – आखिर म निरोगी ठहरिएँ । अब म सोझै घर जान्छु अनि मेरी शान्तालाई एक – एक गरेर सब कुरा सुनाउँछु डक्टर, विचरी कति आत्तिइन् होला ।”
एकदुई सान्त्वनाका बाली बोल्नु बाहेक मैले अरु केही भन्न सकिनँ प्रवीणलाई, म स्वयं द्रविभुत भा’थें उसको दुर्भाग्यपूर्ण वृत्तान्त सुनेर । म पनि घर फर्कने बेला भैसकेको थियो त्यसैले प्रवीणलाई पनि आफ्नै गाडीमा उसले भनेको ठाउँसम्म पर्याइदिएँ ।
राति सुत्ने बेलामा पनि म प्रवीणको दुर्भाग्य अनि प्रवीणाको कुनियतको बारेमा नै सोचिरहेको थिएँ ।
भोलिपल्ट जब म आफ्नो क्लिनिकमा पुगें – टेबलमा एउटा चिठी मेरै प्रतीक्षा गरिराख्या ‘रै’छ । खोलेर हेरें – उही प्रवीणको रहेछ –
डियर डक्टर,
हिजाको दिनले मेरो जीवनमा एउटा नयाँ ढोका खोलेको छ । एक वर्षसम्म म गायब हुनुको पीडालाई आत्मसात् गरेर आँशु पिउदै बाँचिरहेकी मेरी शान्तालाई मैले हिजो नै भेटें । हामी रातभर एकअर्काको आँशु पुछ्दै रोइरहयौं डक्टर, रोइरहयौं । त्यो रुवाइ मेरो दुर्भाग्य माथिको पीडापूर्ण रुवाइ मात्र थिएन, भगवानको हामी माथिको निगाहको हर्षबढाँइको रुवाइ पनि थियो डक्टर ।
तर डक्टर ! आज बिहान शान्ताले मलाई एउटा बन्द खाम दिइन् – लामो समय अघि प्राप्त भएको चिठी भनेर । ‘प्रवीणा’ – प्रेषकको नाम देख्ने बित्तिकै मेरो टाउको रन्थनियो । सोचे – “एड्सबाट पीडित भएर छटपटाउँदै होलास् हैन ?” भन्ने हुँकारको चिठी होला । तर उफ् ! नियतीको यो कत्रो खेल ? चिठीमा जे लेखिएको थियो – मलाई त्यसले हुनसम्म रन्थनायो । प्रवीणासँगको मेरो भेट भएको दिनको दुई दिनपछिको मितिमा लेखिएको त्यस चिठीको आशय थियो – त्यस दिन केही गुण्डाहरुको गुट, जो अहिले समाजमा एड्सको सिरिञ्ज आतङ्क फैलाउँदै हिंडिरहेछ, ले प्रवीणामाथि आक्रमण गरेछन् र उनीलाई एड्सयुक्त रगतको सिरिञ्ज दिने दुस्प्रयास गरेछन् तर उनी उम्केर भाग्न सफल भइछिन् । त्यो सिरिञ्ज सायद तिनै गुण्डाहरुले छाडेका थिए ।
प्रवीणा पनि त निर्दोष रै’छिन् । थाहा छ डक्टर, उनले अरु के लेखेकी छिन् – उनी युवाहरुको मनोविज्ञान विषयमा थेसिस लेख्ने सिलसिलामा यात्रा गर्दै थिइन् रे त्यसवखत । अहिलेसम्म सायद उनले थेसिस बुझाएर पि.एच.डी. गरिसकिन् होला, तर म भन्छु डक्टर – उनको अध्ययन र थेसिस बिल्कुल अपुरो छ ।
एउटा सानो भ्रमले मलाई कसरी एक–एक वर्षसम्म निर्वासित जीवन बिताउन बाध्य बनायो – मेरो त्यो मनोविज्ञानको अध्ययन गर्न उनले कहाँ पाइन् र ? मनोवैज्ञानिक डा. प्रवीणालाई तपाईंले भेट्नु भएमा अवश्य पनि उनलाई मेरो त्यस भ्रमको कहालिलाग्दो चक्करको कहानी सुनाइदिनु होला है डक्टर । बिदा !
उही प्रवीण
प्रवीणको यो चिठी पढेपछि म सोचेको सोचेकै भएँ – त्यो कहालिलाग्दो तर सुखान्त चक्करका बारेमा अनि त्यसकी अचम्मकी पात्रा प्रवीणाका बारेमा । आखिर को होलान् ती प्रवीणा ?
(रचनाकाल – २०५६–१–१८)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal