“यी अपाङ्गहरुदेखि मलाई सख्त घृणा छ बुझ्यौं ? अर्काको भरमा बाँच्नु...... छिः कति लज्जास्पद कुरो हो । हेर त्याँ’ त्यो मान्छेलाई ! अर्काको भरमा लडखडाउँदै हिंडिरहेछ तर कत्ति गर्व गरिरहेको हँदो हो ? अब घर पुगेर अर्काले पकाएर भाग लगाइदिएको हर्सुछ होला त्यो । अर्काको भरमा बाँच्ने जीवन पनि के जीवन ? यस्ता अपाङ्गहरुले त आफैले आत्महत्या गर्नुपर्छ बुझ्यौ ? कति बस्नु अर्काको भरमा धर्तीको भार भएर ?” मेरो साथी रमेश अर्काको भरमा हिंडिरहेको कुनै अपाङ्गलाई देख्नासाथ यही कुरा दोहोर्याउँथ्यो । धनी परिवारको भएर पनि उसले आफ्नो खर्च आफ्नै नोकरीबाट चलाइरहेथ्यो त्यसैले सोच्थें – ऊ भित्रको स्वाभिमान यो सब बोलिरहेको छ ।
हिजो उही रमेशको मोटरसाइकल दुर्घटना भएको खबर पाउनासाथ म तुरुन्त अस्पताल पुगें । ऊ बेडमा बेहोस भएर लडिरहेको थियो । डाक्टरबाट थाहा भयो उसको ज्यान खतराबाट बाहिर छ तर उसको दाँया खुट्टो काम नलाग्ने भएर काट्नु पर्ने भएको छ अनि मेरुदण्ड पनि क्षतिग्रस्त छ । साथीको यो हालले मलाई विव्हल बनायो । तर मैले उसको त्यो कुरा – “अपाङ्गहरुले त आफैले आत्महत्या गर्नुपर्छ बुझ्यौ ?” भने भुल्न सकिनँ । सँगसँगै उसको भावी जीवन बारे सोचमग्न हुन पुगें – जीन्दगीको यस मोडले रमेशलाई कतातर्फ धकेल्छ ?
(रचनाकाल – २०५४–५–३०)
(२०५४ फागुनको साधनामा प्रकाशित)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal