bio

Stories

डुँडो हातको रहस्यः मेरो विजय

उ त्याहाँ पर एउटा कारखाना देखिन्छ नि, त्यस कारखानालाई देख्ने वित्तिकै हेर्नुस् न – यो मेरो हात कसरी काटिएर डुँडो भयो भन्ने सम्झना हुन्छ ।

सोध्नुहुन्न, कसरी मेरो हात काटियो भनेर ? सोच्नुभयो होला – कारखानामा काम गर्दा मेरो हात काटियो, तर यदि यस्तो सोचिरहनु भएको छ भने हेर्नुस् म ठोकुवा गरेर भनिदिन्छु – तपाई गल्ती सोचिरहनु भएको छ, मैले त्यस कारखानामा कहिल्यै कामै गरेको छैन । अब त सोध्नु हुन्छ होला नि कसरी मेरो हात काटियो भनेर । अँ, ल सुन्नुस् म भन्छु –

म त मान्छे पहिलेदेखिकै कवि तपाईलाई थाहै छ । यो चाहि तपाईलाई थाहा छैन होला कि मलाई कुनै निर्जन र शान्त ठाउँमा नगई कविता नै फुर्दैन । मेरो त्यो अस्ति भर्खर प्रकाशित खण्डकाव्य छ नि, मैले उ त्यो झरनामा गएर लेखेको । आहा ! शान्त ठाउँमा बस्न पाउनु कम मज्जाको कुरो हो र ? मन्द मन्द पवन होस्, कुसुमका मधुर सुवास, झरनाको झर–झर अनि चारैतिर हरियाली होस् । आहा ! कति आनन्ददायक हुन्छ त्यो क्षण । त्याहाँ त बुझ्नुभो आफू नै ब्रम्हाण्ड भरको सम्राट हुँ जस्तो लाग्छ । वास्तवमा भन्ने हो भने जीवनको आनन्द र सार्थकता त्यस्तै ठाउँहरुमा क्षण बिताउनुमै छ । यो अशान्ति, कोलाहल र खिचातानीले हाम्रो मानसिकतालाई नै विकृत बनाउँछ, कुरा बुझ्नुभो ?

ए, तपाईलाई पट्यार लागेजस्तो छ, अब चाहिं म कारखानाको कुरा भन्छु सुन्नुस् –

आजभन्दा पन्ध्र वर्ष अघिको कुरा हो यो । तिनताक म कलम र कापी बोकेर खुब डुल्थें, जहाँ शान्त ठाउँ पाउँथे – त्यहीं बसेर लेख्न थालिहाल्थें कविता । त्यसो त अहिले पनि मेरो त्यस्तो बानी कहाँ छुटेको छ र ? तर पहिले त खुब हिंड्थे – यतिसम्म कि कहिलेकाहिं त रातमा समेत बत्ती लिएर डुल्थें अनि जहाँ फुर्‍ययो त्यहिं लेखिहाल्थें । यसरी राति–राति पनि भौतारिरहने हुनाले कसै–कसैले त मलाई पागल पनि भने, बुझ्नुभो’ ? – तर मलाई यसमा कुनै रोष छैन । हाम्रो देशमा कुन चाहिं साहित्यकारले सम्मानित जीवन बिताउन पाएका छन् र ? महाकवि भनिएका देवकोटा अभावले गर्दा बौलाए, देवकोटालाई बौलाहा तुल्याउने सम आफै पागलसरि भए, चक्रपाणिले पीडैपीडाको जिन्दगी गुजारे । यस्तै छ हेर्नुस् नेपालमा, सतीले सरापेको देश न ठहरियो.......

हैन, तपाईलाई मेरो गन्थन सुन्न कति कष्ट पर्‍या’ हँ ? ल, अब चै कारखानाकै कुरा भन्छु सुन्नुस ल –

त्यो दिन....... मेरो हात काटिएको दिन क्या – त्यो दिन पनि म दिउँसोतिर कापी कलम बोकेर घुम्न निस्के । झरनातिर गा’थे तर किन–किन त्यस दिन मलाई कविता नै फुरेन, हेर्नुस् न । त्यतिखेर त मलाई आफैसँग पनि साह्रै रिस उठ्यो । त्यसैले सरासर कोठामा आएर सुतें । त्यसरी अबेलामा सुतेकोले राती मलाई एक्कासी निद्राले छाड्यो । तब त जङ्ग चलिहाल्यो कविता लेख्ने । कति कविताको मात्रै कुरा गर्दौ रै’छ यो भनेर मुर्मरिइसक्नुभो’ होला तपाई । अब चै कारखानाकै कुरो गर्न गइरहेछु म, सुन्नुस् –

कविता लेख्ने जङ्ग त चल्यो तर कोठामा त लेखिदैन । त्यसैले कापी, कलम र एउटा टर्चलाइट बोकेर हिंडे म । लक्ष्यबिना नै भौतारिइरहेथे, कसो–कसो कारखानाको सम्झना आयो – त्याहाँ पनि त शान्ति नै त छ नि भन्ने सम्झेर म त्यतै लागें । अमावस्य नजिक–नजिकैको रात भएपनि बत्ती बालेर हिंड्ने मेरो बानी नभएकोले म त्यसै हिडिरहेको थिएँ – टर्चलाइट खल्तीतिर कोचेर । म कारखानामा पुगें । आहा ! क्या मज्जाको शान्ति छाएको थियो त्याहाँ, कविता लेखूँ–लेखूँ लागि हाल्ने खालको । कारखाना रोशनीमा झल्मलाइरहेको थियो, तर त्यसको उज्यालो धेरै परसम्म फैलिएको थिएन । अलि वरैतिर बसेर मैले टर्च बालें अनि खल्तीबाट कापी कलम निकालें ।

केहि क्षणमै “को हँ ?” भन्ने आवाज आयो भीमकाय कारखानाको टुप्पोबाट । पहरेदारहरुले चोर भन्ठानेर कराएका होलान् भन्ने सम्झेर म कराएँ – “ म हूँ म”। त्यसपछि त त्यस ठाउँमा भएका दुई तीनजना मानिसहरुमा हाँसो मच्चियो । ‘पागल’, ‘खुस्केको’ आदि  जस्ता शब्दहरु पनि त्याहाँ उच्चारण भएको सुनें मैले । भनून् यिनीहरु जेसुकै भन्ठानेर कविता लेख्न पट्टि लागें म ।

वातावरण चाहि त्याहाँको साह्रै मजाको थियो बुझ्नुभो ? अब त मलाई कविता फुर्न मात्र बाकि थियो । त्यो पनि त्यस्तो मनोरम ठाउँमा पुगेपछि किन पो फुर्दैनथ्यो र ? वातावरणको मोहकताकै प्रभावमा मैले त्याहाँ कविता लेखें । सुनुहुन्छ, मैले त्याहाँ कोरेको कविता ? सुन्नुस् न दुई हरफ, राम्रै छ –

प्रकृतिको अनुपम उपहार हौ तिमी रात

तिम्रो काखमा रमाउँदा फुर्छन कविता खातका खात

तिमीले दिएको उपहार चुपचाप थाप्छु म हात

काली हुँदा त राम्री छयौ, राती भएको भए कति राम्री हुन्थ्यौ रात ।

यसैगरि लेख्ता – लेख्ता मलाई त थकाइ नै पो लागेछ, हेर्नुस् न । त्यही नजिकै तलतिर पानी लाने ठूला–ठूला पाइपहरु जमिनभन्दा केही माथि उठाएर राखिएका थिए, म त्यसै माथि चढें र ढल्कें । मलाई यति मीठो निद्रा परेछ एकै छिनमा नै म भुसुक्क निदाएछु ।

कसैले घच्घचाएर बोलाएजस्तो लागेर मैले आँखा खोलें । म झस्किएँ – वातावरण डरलाग्दो थियो.......। झ्याउँकिरीको किरी–किरीले अझ भयानक बनाइरहेको थियो । त्याहाँ न त कारखाना थियो न त त्यो शान्ति । म त एउटा उजाड ढिस्कोमा पो रहेछु – ढिस्कोको पनि डिलैमा । पछाडि असाध्यै गहिरो भड्खालो हुनुपर्ने अनुमान लगाएँ तर पछाडि हेर्ने साहस भएन ममा । आत्तिएर मैले आफूलाई घच्घचाउने तर्फ नजर मोडें । आबुई ! यत्रा यत्रा जगल्टा फिंजाएर अजङ्ग–अजङ्गका दाह्राहरु म तिर सोझ्याइरहेको त्यो भयानक आकृतिलाई हेर्नै नसकेर मैले जोडले आँखा चिम्लिएँ । छातीलाई जति थिचेर राखूँ भन्दा पनि मेरो मुटु बेतोडले उफ्रिन छाडेन । केही क्षणमै मेरो कानभित्र हाँसोको सैंयो फोहराहरु एकैसाथ पसेर टाउकै फुटाउला जस्तो गर्न थाले । बल्ल–बल्ल आँखा खोलेर यसो हेर्दा त एक हुल त्यस्ता जगल्टे अमानवहरु मतर्फ नै बढिरहेका थिए – भयानक अट्टाहास गर्दै । म डराएँ, तर्सिए, कहालिएँ अनि झन् बढ्ता आत्तिएँ । डरले असीनपसीन भएँ । कराउन खोज्दा मुखबाट एक शब्द पनि निस्केन – म झनझन निस्सासिएँ । उठ्न पनि नसकेर घस्रिदैं पछाडि हट्न थालें । पछाडि....... पछाडि.......  – पछाडि गर्दा गर्दै आककक .......! म ढिस्कोबाटै तल खसें ।

अरे ! तपाई त पसिनाले लपक्कै भिज्नुभएछ । अनि तपाईको अनुहारमा चैं किन त्रास र भयानकताका रेखाहरु दौडिरहेका नि ? पुछ्नुस् पसीना अनि पानी खानुस् एक ग्लास । यो कुरा साँच्चै कहाँ हो र ? यो त मैले पाइपमाथि निदाउँदा देखेको सपना पो त । त्यैं सपनामा ढिस्कोबाट खस्ता त म पाइपबाट साँच्चिकै खसेछु । तल स–साना चुच्चा चुच्चा फलामका टुक्राहरु राखिएका रहेछन्, तिनैमा परेर मेरो दाहिने हात क्षतविक्षत भयो र पछि यो हात कटाउनु पर्‍यो । त्यसैले ई....... डुँडो हात बोकेर बस्नु पर्‍या’ छ । यो सायद मलाई कविता नलेख्नू भन्ने दैवी आदेश होला तर म भने त्यस आदेशलाई नै चुनौती दिई आजसम्म कविता लेख्दैछु । यो मेरो कविताको र यस भन्दा पनि बढी त मेरो नै विजय हो, बुझ्नु भो’ ?

(रचनाकाल – २०५३–४–२४)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER