पूरा दुई वर्षपछि ऊ घर फर्केको थियो । परिवारका सबै खुशी र सन्तुष्ट देखिन्थे घरको मूली उसलाई आफ्ना समीपमा पाउँदा । सबैभन्दा पुलकित र फुरुङ्ग त थिई उसकी अर्धाङ्गिनी रुपा । दुई–दुई वर्षसम्मको टाढापनले मुर्झाउन खोजेको उसको शुष्कोत्तर अन्तः स्फूर्तिमा एकाएक घनघोर वर्षा भएको अनुभव गरी उसले – शीतले परिप्लावित गुलाफले झैं । बेचैनीपूर्वक परमानन्दपूर्ण न्यानोपनको प्रतीक्षा गर्न थाली ऊ । तर घरधन्धा सिध्याएर शयनकक्षमा प्रवेश गर्दा आएको सुस्त–सुस्त घुरेको आवजले रुपालाई खङ्ग्रङ्गै बनायो । पतिको थकानलाई सम्झेर बलपूर्वक चित्त बुझाई अनि रातभर परेलाहरु जोड्ने असफल प्रयास गरिरही । भोलिपल्ट दिन बिताउन उसलाई पूरा एक वर्ष बिताए जस्तो लाग्यो । तर त्यो दिन पनि उहि घटना दोहोरिंदा उसलाई भक्कानो छुटेर आयो । आँशुले छपक्कै सिरानी भिजिसक्ता पनि उसको निष्ठुरी पति ज्यूँ का त्यूँ फ्वाँ–फ्वाँ निदाइरह्यो ।
पर्सिपल्ट उसले आफू रित्तिएको महशुश गरी, लघुताभासले गर्दा मुटु नै छुट्टिए झैं भयो । अनि त आँखा पल्टाएर थर–थर काँप्तै आफ्नो पति भनाउँदोलाई कठालो समातेर चिच्याई – “नामर्द ! नपुशंक ! हुतिहारा ! स्त्रीको चाहना बुझ्न नसक्ने मूर्ख, धिक्कार छ तिमीलाई !”
एक झापट लगायो उसको पतिले उसलाई अनि भन्यो – “निर्लज्ज ! बेसरम ! कामातुर ! मनलाई संयममा राख्न नसक्ने गतिछाडा, धिक्कार छ तँलाई !”
(रचनाकाल – २०५५–११–२४)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal