bio

Stories

राम्रो ऊ....... !

“ए नबिन, हेर् त....... हेर्न भन्या’।”यस्तै के के भन्दै ऊ मलाई झक्झकाएर उठाउँदै रहेछ । आँखा मिच्तै उठें । एकचोटि हाइsss गरिसकेपछि पो यसो हेर्छु त ऊ ऐना अगाडि बसेर कपाल कोर्दै रहेछ । चश्मा लगाएको ख्याउटे अनुहारलाई अड्याइहरेको उसको कंकाल शरीर ह्वाङ्लाङ्गै भएको कोट भित्र ह्याङ्गरको काम गरेर उभिरहे झैं भान हुन्थ्यो । कोठाभित्रै, त्यसमाथि पनि राति, बस्ता पनि सुट–बुट भिर्न नबिर्सेको देख्ता छक्क पर्नु थियो । कपाल कोर्दै गरेको हातलाई केही थामी ऊ मतिर हेरेर मलाई बोलाइरहेको रहेछ । घडि हेरें – २:०० बज्नका लागि सुइहरु फट्टाफट अघि बढ्दै थिए । घडिबाट उठेपछि मेरा आँखा झ्याल बाहिर तर्फ टोल्हाए । आकाशको मध्यवर्ती क्षेत्रमा चम्किरहेको चाँदनीलाई वरिपरिबाट ताराहरुले घेरेर जिस्काइरहेको रोमाञ्चक क्षणको अनुभूति पाएर म चाँदनीको सौन्दर्यमै मुग्ध भएछु ।

“ए नबिन ! के हेरेको बाहिर ?” उसको अलि झर्किएजस्तो प्रश्नसूचक बोलीले मेरो ध्यान तुरुन्त त्यतातर्फ आकृष्ट भयो । ऊ पूर्ववत् कपाल मिलाउनमै व्यस्त रहेछ । मैले यतिखेरसम्म ध्यान नपुर्‍याएको एउटा कुराले पो मलाई झन् चकित पार्‍यो – उसले आफ्नो टाउकै माथि 100 watt को चिम बालेको रहेछ । उफ ! यस्तो गर्मीमा कसरी ऊ त्यसरी बसिरहेछ, मलाई पो जीउ भित्रै तातो लागेर आयो । ऊ चाहिं आफ्नै धुनमा गुनगुनाएर टाउकोमा घाउ नै होला जस्तो गरी काँइयो रगड्दै रहेछ । बोलीमा निद्रालु भाव भरेर यतिखेर पो मैले सोधें – “ए किन बोला’को ?” मेरो कुरा पुरा हुनु के थियो उसको ओठ बेढङ्गले च्यातियो – “हेर्न यार् यो ड्रेसमा म क्या च्वाँक देखिन्छु नि है ?”

“खुब राम्रो छु भन्दो होस् बाँदरमुखे ! भुत पनि तर्सने अनुहार छ ।” भनेर भन्दिऊँ कि जस्तो लाग्या’थ्यो’ तर बिचरो साह्रै सम्वेदनशील छ र पो मार्‍यो त । उसलाई नराम्रो भन्यो भने त.......।

एक महिना जति अगाडिको कुरो त हो नि, एउटा अपरिचित मान्छेलाई आफ्नो सौन्दर्य छाँट्ने भएछ । त्यस मानिसलाई पनि हुनसम्म सनक चलेकोले दिइहालेछ दनक । विचरो के गरोस् दाह्रा किट्तै आएर मलाई सुनायो । भन्थ्यो – “हेर् नबिन त्यल्ले म राम्रो छुइनँ भन्यो, म राम्रो छु कि छुइनँ तँ आफै भन त ।” यस्तो बेला “तँ राम्रो छैनस्” भनेको भए त मलाई मार्न समेत बेर लाउँदैनथ्यो, अनि त भन्नु परेन ‘राम्रो छस्’ भनेर ? फकाई फुल्याई भने – “साह्रै राम्रो छस् नि तँ, कुन चांही छुसी रै’छ तँलाई छास्सछुस्स नराम्रो भन्ने ? मैले भेटे त त्यसको नाकै पो छिमलिदिन्थें । खुब नराम्रो भन्दो रै’छ ए अर्काको साथीलाई ।” भाका मिलाएर यति भनेपछि त ऊ फुलेल नहोस् पनि किन ? फुस्फुसाइहाल्यो – “तँ साँच्चिकै महान् छस् नबिन ।” अनि त मैले पनि आफ्नो महानतामा गर्व गर्न पाएको थिएँ ।

त्यसैले ऐले पनि भनिदिएँ – “हो त नि आ–हा (आ–हा सँगै हाइss पनि गरेछु) क्या राम्रो ।” १२:०० बजेसम्म पढेर सुतेकोमा उसले यसरी बोलाउँदा मलाई रीस त निश्चय पनि उठ्यो, तर म के गर्न सक्छु र ? म त उसको निगाहमा बाँचेको असहाय टुहुरो, उसको बुबाले म जेहेन्दार भएको देखी पढाइमा उसको सहयोगको निम्ति उसँग राखिदिनुभएको । उसै त सम्वेदनशील ऊ मैले केही भनिदिंदा बबुरोको दिल पक्कै पनि दुख्छ, त्यसैले उसले जे गर्‍यो त्यही सहेर र जे भन्यो त्यसैमा सही थाप्नु परेको छ । ऊ धनी छ, जसो पनि गर्न सक्छ, म त उसको इशारामा बाँच्नु परेको छ – ....... अभिशप्त जिन्दगी । आफ्नो पढाइ पुरा गर्नका लागि पनि मैले यो सहनै पर्छ ।

उसले मेरो ध्यान आफूतिर तान्यो – “नबिन, मेरो फोटो खिच्दे न यार प्लिज । मलाई त हेर् यस्तो लागिरहेछ कि म यस्तो राम्रो कहिल्यै हुने छैन । यहाँ हेर् त, म यो टेबुल माथिको मेचमा बस्छु तँ तलबाट मेरो फोटो खिच्ते न है ।” हाउभाउ सहित यति भनेर ऊ क्यामेरा झिक्न थाल्यो । मोराको फोटो खिच्ने कत्रो सौख ।

अहिले म छ महिना अगाडिको एउटा घटना झल्झली सम्झिरहेछु – हामी आइ.एस.सी. प्रथम वर्षको जाँच दिएर फुर्सतमा बसेका थियौं । उसकै सल्लाह अनुसार हामी बनतिर घुम्न गयौं । त्याहाँ पुग्ने बित्तिकै उसलाई रुखमाथि चढेर फोटो खिच्ने मन आएछ । क्यामेरा मलाई सुम्पिएर ऊ त एउटा चढ्नै नसकिने रुख पो चढ्न थाल्यो । बल्ल–बल्ल धस्सिदै पहिलो हाँगामा टेक्न पुग्या’थ्यो तर एकैछिनमा बाँदरको एक डफ्फा आएर उसलाई जथाभावी कुट्न थाल्यो । यसै क्रममा उसको चश्मा खसेर फुटेछ । म तल आत्तिएर हेर्दै थिएँ रुखबाट लडेर भुईमा बज्रन पो आइपुग्यो ऊ त । बल्ल बल्ल बाँदरहरुलाई ढुङ्गाले हिर्काएर भगाएँ तर विचरो त बेहोसै भएछ ।

“ए नबिन ! के सोचिरा’ भन्या, ला क्यामेरा ।” उसको बोलाइले सपनाबाट ब्यूँझेजस्तो भएँ म । हातमा क्यामेरा पाएँ र ऊ टेबुलमाथिको कुर्सीमा बसिसकेको देखेर क्यामेरा उतै सोझ्याएँ । “पख् ! पख् !” हात उठाउदै ऊ करायो – “चश्मा त लगाउनै बिर्सिएछ ।” अघिसम्म लगाइराख्याथ्यो कति चाँडो फुकालिसकेछ । कुर्सीबाट ओर्लिन लाग्दा झण्डै ढुन्मुनिएथ्यो, धन्य भगवान ! केही भएन । चश्मा लगाएर फेरि माथि चढ्यो ऊ ।

म क्यामेरा मिलाउदै थिएँ कि फुर्सदको फाइदा उठाएर उसको ओठ च्यातिइहाल्यो – “म राम्रो देखिन्छु है नबिन ।” केही उत्तर नदिई मैले उसको आभाहीन ख्याउटे र धमिराले खाइसकेको झै लाग्ने पिलन्धरे अनुहारलाई जबजस्ती क्यामेरामा कोचें । त्यसपछि कचपल्टिलो निन्द्रा निदाउन हाइsss गर्दै ओछ्यानमा पल्टिएँ; ऊ  पनि त्याहाँबाट झरेर सुतेछ । म ओछ्यानमा पल्टेर ऊ भित्रको ‘राम्रो देखिन खोज्ने ऊ’लाई बुझ्न खोज्दै थिएँ, विश्लेषण गर्दै थिएँ र सायद ऊ मेरो जिज्ञासा शान्त गर्न भनिरहेथ्यो – “म साँच्चै राम्रो छु है नबिन ?”

(रचनाकाल – २०५३–४–१४)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER