bio

Stories

महङ्गो सटाइ

एक हजारको नोट साट्नै पर्ने भो’ आखिर । कसले साटिदेला त ? सोच्न थालें कुनै सामान नकिनी कसले पो साट्थ्यो र ? किन्ने पो के, तत्काल आवश्यक केही थिएन तैपनि एउटा कलम किनौं न त बल्ल बल्ल तलब आ’को बेलामा भन्ने सोचेर हुर्रिएँ म कोठा नजिकैको पसलतिर । दोहोरो चिनजान नभएपनि प्रायः उसैकहाँ सामान किन्ने गरेकोले पसलेले मलाई चिनेको हुनुपर्ने अनुमान मैले गरें । मलाई नै पर्खिरहे झै गरेर ऊ एक्लै बसिराख्या’ रै’छ ।

“साहुजी, एउटा गतिलो कलम हेरौं न ।” ‘गतिलो’ शब्द शायद मेरो खल्तीभित्रको हात्तीको अभिमानले बोलिरहेथ्यो । एउटा सीमा पारिकै उत्पादन देखायो उसले । साठी रुपैयाँ अरे । मन पनि पर्‍यो । अब त पालो हात्ती टुक्र्याउने नै थियो, ठाँट पारिकन उसलाई थमाइदिएँ त्यो । तर एक्कासी उसको नाक खुम्चियो “खुद्रा त छैन नि” आवाजसँगै । “के गर्ने त ?” म अकमक्क परें ।

“भरे भोलि दिनुस् न त” उसले भन्यो । आफूलाई साट्न हतार भैसक्या’ त्यसैले भनें – “साटेर ठीक पारिराख्नोस् भोलि आउँला नि त ।” म कलम हेर्दै फुलेल भएर कोठातर्फ हान्निएँ । भोलिपल्ट पैसा आवश्यक पर्‍यो तर त्यो पसल नै बन्द भएको पाएँ, त्यसैले साथीबाट सापटी लिएर चलाएँ । पर्सिपल्ट शनिवार परेकोले बन्द हुने नै भयो । आइतबार म निकै व्यस्त रहनुपर्‍यो । सोमबार गएर मैले कुरा उप्काएँ ।

“बिल निकाल्नुस् न त हेरौं” उसले भन्यो । कहाँ बिल हुनु मसँग ?

“बिल त लिएको छैन” भन्ने बित्तिकै उः बम्क्यो “अनि तपाईं मलाई ठग्न आउनुभा’को ?” बिल नभई कसरी पत्याउने मैले ? हेर्दै खेरि ठग देखिनु हुन्छ तपाईं । तपाईं जस्तो ठगको चंगुलमा फस्नेवाला म हैन बुझ्नुभो’? ”

उसले भने भन्दा पनि बढी बुझिसक्या’थे मैले, आखिर मेरो हजार पचाइछाडेछ । चुँक्क बोलुँ भने प्रमाण केही थिएन । त्यसैले उसले मान्छे जम्मा गरेर मलाई घोक्र्याउनु भन्दा पहिल्यै आफुलाई धिक्कार्दै र रन्थनिदै म बाहिर निस्कें –  गह्रुङ्गो मन लिएर ।

(रचनाकाल – २०५५–१–१)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER