bio

Stories

पारिवारिक मर्यादा र बिद्रोह

उसले मलाई अचम्मको कुरा सुनायो । आफूभित्रको बिद्रोहलाई हदैसम्म हुनेगरी छताछुल्ल पारेर पोख्यो । अहिले पनि उसका शब्द शब्द मेरा कर्णद्वार भित्र कतै गुञ्जिरहेछन् –

“ती विकृति बोकेका अनुहारहरुलाई एकै ठाउँमा राखेर कच्याककुचुक पारिदिन मन लाग्छ । बाउले दुई औंलाले च्यापेर चुरोट तान्दै फुङ्–फुङ्ती धुँवा उडाएको देख्ता हातलाई सिलौटामा राखेर किचिदिन मन लाग्छ, खैनी खाएर कोठामै पिच्च–पिच्च थुकेको देख्ता ती ओठहरुलाई चर्चरी चिरेर खुर्सानी दलिदिन मन लाग्छ । हजुरबाउले दिनहुँ सोझा–सीधालाई लटपट पारेर ठगेका देखेर भीरबाट गाम्राङ्–गुम्रुङ् पारिदिउँ जस्तो लाग्छ । आमाले गाउँभरिको फतुरो लाउँदै झगडा र हानाहान पारिदिएको देख्ता जगल्टा भुत्ल्याउँदै चिर्पट दाउराले बसालूँ जस्तो लाग्छ । हजुरआमाले धर्मको नाउँमा दुनियाँलाई ठगेर तीर्थव्रतको लोकाचार गरेको देख्ता ठटाउँदै खाएको ओकल्न लगाऊँ जस्तो लाग्छ । तर म यी सब गर्न असमर्थ छु चाहँदा चाहँदै पनि – पारिवारिक मर्यादाले गदा....... हो, पारिवारिक मर्यादाले.......”

उसको कुरा सुनेर म दङ्ग परें, अचम्म मानें – कस्तो सुषुप्त बिद्रोह ?

(रचनाकाल – २०५४–७–६)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER