bio

Stories

बिहेको कुरा

हिजो राति अफिसको ओभरटाइमबाट फर्केपछि चिसो बासी भात खाएर चिसो ओछ्यानमा घुस्रनुपर्दा उसले विचार गरेको थियो – “भएन बा ! अब चाहि बिहे नगरी भएन ।” बिहान त उठ्ने बित्तिकै उसलाई युनिभर्सिटीतिर हान्निन परिहाल्यो । दर्शनशाश्त्रका प्राध्यापकले स्वतन्त्र जीवनको आनन्द अनि उपलब्धीको चर्चा गर्दै भनिरहेका थिए – “पारिवारिक बन्धनमा बाँधिएपछि मानिसका प्रगतिका सम्पूर्ण ढोकाहरु थुनिए भनेर सम्झे हुन्छ । जे जति आर्जन गर्न वा आनन्द लिन सकिन्छ, एक्लो हुँदा अर्थात स्वतन्त्र हुँदा नै सकिन्छ ।” यो कुनै विचारकको दर्शन थियो कि प्राध्यापक स्वयंको धारणा, त्यो त उसले बुझेन अथवा भनौं बुझ्न चाहेन तर उसलाई घत चाहिं एकदमै पर्‍यो र आफ्नो विचार पनि बनायो – “बिहे गर्ने बेला पनि त भएको छैन” । जनसंख्याका प्राध्यापकले जनसंख्या नियन्त्रणका बारेमा बताएका उपायहरुमध्ये पनि उसलाई ढिलो बिबाह र अझ ब्रम्हचार्यश्रमले प्रभावित तुल्यायो । साहित्यका प्राध्यापक मिश्रले प्रेमका अनुभुति र वैवाहिक आनन्दका बारेमा व्याख्या गर्दै रोमान्टिसिज्म (Romanticism) पढाउँदा उसलाई बोर लाग्यो र निस्केर हिंड्यो क्लासबाट । “त्यो सब कल्पनाको संसार हो, म जस्तो यथार्थमा बाँच्नेका लागि निकम्मा कुरा हो ।” ऊ अझै कठोर हुँदै थियो । आफ्नो आँखा अगाडि प्रगतिको बाटो अनि पर क्षितिजमा सफलताको पोको देखिरहेको थियो ऊ, यही सोच्तै कि – प्रगतिको बाटोमा ऊ नितान्त एकलो छ अनि बिल्कुल स्वतन्त्र पनि ।

ब्रेकफास्ट उसले त्यहींकै क्याटिनमा नै लिने थियो यदि समिता नदेखिएकी भए – उही समीता जो, उसको विचारमा, उसलाई अनावश्यक सहानुभुति र माया देखाउन खोज्छे अनि आफूलाई उसको जीवनको हिस्सा सावित गर्न खोज्छे । मन पदैन उसलाई त्यस्तो चासो र ओभरस्मार्टनेस (Oversmartness).

अफिसमा पनि रिसेप्सनिष्ट छे एउटी – समिताकै पाराकी । तर सकेसम्म ऊ ओझेल पर्न चाहन्छ त्यस्ताहरुबाट । एकाउन्टेण्ट विक्रम पनि आफ्नी स्वास्नीको धाक लगाएर उसलाई बिहे गर्न आकर्षित गर्न खोज्छ । तर कानले सुनेपनि उसको मनले भनिरहेको हुन्छ– “वाहियात गफ !” अफिसको लञ्च आवरमा बढीजसो विक्रम नै उसको पार्टनर हुने गथ्र्यो तर आज आफ्नी श्रीमतीसँग सपिङ् गर्न जानुछ भनेर विक्रम गयो । त्यो पनि विक्रमले उसलाई लोभ्याउनै सुनाएको हो तर उसले सोच्यो – “बिहे गर्‍यो भने यसरी फुर्सतको समयमा पनि स्वस्नीलाई खुशी पार्न भनेको–भनेको ठाउँमा जानुपर्छ – बिहे नगर्नुमा नै कल्याण छ ।” एउटा छड्के हाँसो हाँस्यो – सम्भवतः बन्धनमा परेको विक्रम प्रति व्यङ्गको हाँसो । अफिसको क्यान्टिनमा रिसेप्सनिष्टले सोधपुछ पारेर हैरान पार्ली भन्ने डरले अफिस क्यान्टिन पनि  गएन ऊ, बरु नजिकैको पार्कमा टहलिन गयो । एक अर्काका अङ्गालोमा बाँधिएका युगल जोडी देख्ता जुन रोमान्टिक भाव उसमा आउनुपथ्र्यो – अँह आएन । बरु घृणाले व्याकुल भएर आकाशे पुलमा गई बर्ड्स् आइ भ्यू (Bird’s eye view) को आनन्द उठाउन थाल्यो । तर आनन्दलाई डिस्टर्व गर्ने कुरा केही थियो भने त्यो एउटै थियो – महिला र पुरुषको पराश्रितता अनि परनिर्भरताका दृश्यावलीहरु ।

लञ्च आवर पश्चात् पनि विक्रम फर्केन । बोसले रिसाएर हाजिर काटिदियो – उसले खुच्चिङ् मच्चायो – “पाइस् स्वाद स्वास्नीसँग घुमेको !” उसले यसरी चरम सन्तुष्टिको अनुभव गर्‍यो कि मानौं विक्रम उसको जन्मजात शत्रु हो ।

डयूटी पश्चात् ओभरटाइम गर्नु त उसको नियमित रुटिन नै हो । विचारहरुको कोलाहलले गर्दा होला सायद, आज उसले केही खान पनि सम्झिएको छैन । ब्रेकफास्ट रोकिदिई समिताले, लञ्च रोकिदिई रिसेप्सनिष्टले । तर आफू भोको भएर दुःखी हुनुभन्दा बढ्ता ऊ खुशी भएको छ – तिनीहरुबाट आफूलाई बचाउन सकेकोमा । “ठीक्क पर्‍यो ! खुब मसँग इत्रिने भैखाएका नकचरीहरु । तिमीहरुलाई त यस्तै गरी तड्पाउँछु ।”

बिना अर्काको ‘तपाईं’ नै ‘मपाईं’ भएको महशुश गर्‍यो र केही लाज मान्यो उसले । अर्काको मेख मार्न भोकै बसेर त भएन । एक कप कफी खाने विचारले छेवैको पसलमा गयो ऊ । पसलकी साहुनी चिया खन्याउदै रहिछ । उसलाई दिक्क लाग्यो – उफ ! जता पनि आइमाइ ! ‘आइमाइले बनाएको कफी खानु भनेको मैले आइमाइको अपरिहार्यतालाई स्वीकार्नु हो ! अहँ म सम्झौता गर्न चाहन्नँ, म कफी खान्न ।’ त्यसै फर्कियो ऊ अफिसमा – काममै भुल्यो – समय बितायो । कामको गतिसँगै छुत्ती खेलिरहेका आफ्ना आन्द्राहरुलाई शान्त पार्ने अघोषित प्रयास स्वरुप ऊ बर्बराइरहेको थियो –

“सागर हो स्वास्नीमान्छे

ऊ त बुझ पचाउन सक्छे ।”

काम नसिद्धिएपनि समय सिद्धिएपछि ऊ बाहिर निक्लियो अफिसबाट । कोठामा पुग्न अघिपछि भन्दा बढी समय पनि लाग्यो आज । बाहिरको चिसोको असर कोठामा पुगेर खोक्न थालेपछि पो प्रकट भयो – छाति पनि दुखेजस्तो, सास फेर्न गाह्रो भा’ जस्तो, मुटु हल्लिएजस्तो – यस्तो त कहिल्यै भा’थेन । “भोकले होला, तातो खाएपछि ठीक हुन्छ ।” सिरानीमुनीबाट सलाइ निकालेर स्टोभमा दम दिन थाल्यो – मट्टितेल आउदै आएन । हल्लाइ हेर्दा पो मट्टितेल रहेनछ – जर्किन पनि खालि । “लौ अब के गर्ने ?”

“आ ! एकदिन नखाँदैमा मरिहल्दिनँ क्यार ! भोलि बिहानै पकाएर खानुपर्ला तातो । बरु सुख्खा नै भएपनि अलिकति चिउरा खाएर सुत्नुपर्‍यो ।”

हिजो अल्छी लागेर चिसो भात खानु परेको थियो । आज त बाध्यताले फुको चिउरा खानुपर्‍यो । एक मुठी चिउरालाई मुस्किलले एक जग बासी पानीले निलेर चिसो ओछ्यानमा घुस्रनुपर्दा कुन्नि कतबाट एउटा भावना उसमा हठात् आयो  – “भएन बा ! अब चाहिं बिहे गर्नै पर्‍यो ।”

(रचनाकाल – २०५६–१०–२९)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER