आनन्द हुन्थ्यो !

(एक ग्रामीण दम्पती बीचको वार्ता)
- कुकुरको मुत कति ओइरिन सक्या’ यस्तरी आँखै झिमिक्क नगरीकन । चाहिया बेलाँ’ खडेरी परेर अत्याउँछ । अहिले त्यसको रगत कति ओइरेको नि !
- नभई पनि नहुने, के गर्नु ? कहिलेकहीं अलि बढी र कहिले अलि घटी त भइहाल्छ नि ।
- पानी त बरु पर्दै नपरे आनन्द हुँदो हो ।
- अँ, अनि पापी पेटले पो गर्छ त जे गर्नु । घिच्नलाई अन्न उमार्नै पर्यो, अनि पानी नपरी त किन हुन्थ्यो ?
- खान पनि नपर्ने भा’ भए त कति आनन्द हुन्थ्यो !
- मुख सिएर बसे भै हाल्यो नि, पेट पनि झिकेर फालिदिनू ।
- मुखै नभा’ भए त झन् कति राम्रो हुन्थ्यो !
- बोल्न चै पर्दैन ?
- यस्तो अशुभ बोल्नु भन्दा, बोल्दै नबोल्नु नै जाति छ नि !
- खाने, बोल्ने केही नगर्ने भए त नजन्मेकै भए जाति हुन्थ्यो नि !
- साँच्चै, यो पापी संसारमा जन्मिदै नजन्मेको भए त त्यो भन्दा आनन्द अरु केही हुन्थेन ।
(रचनाकाल – २०५५–३–२४)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित