एकदिन एक परिचितसँग दुखेसो पोखें – “हेर्नुस् न यो चुरोट खाने साह्रै नराम्रो बानी बस्यो ।” चाकडीको भाषामा उनले भने – “कहाँ हजुर, चुरोट खानु नराम्रो कहाँ हो र ? चुरोटले त खाना पचाउँछ भन्छन् । फेरी हजुरजस्तो मानिसलाई के बिगार गर्न सक्छ र जाबो चुरोटले ? चुरोट खानु त सभ्यताको प्रतीक जस्तो लाग्छ हजुर मलाई त ।”
त्यसैदिन एक विपक्षी मित्रसँग मेरो भेट हुन गयो । कुराकानीको क्रममा उनी मेरो हरेक कदमलाई आलोचनाको खोल ओढाउन थाले ।
“हेनुस् मैले गाउँमा रोजगारीको बाटो खोलेर कति मानिसहरुलाई आय आर्जनको बाटो देखाइदिएको छु ।” आफ्नो आलोचना खप्नै नसकेर मैले आफ्नो राम्रो कामको दृष्टान्त दिएँ । उनी बम्के – “अँ, खुब राम्रो काम गरेको ठान्नुस्, थाहा छ गाउँका मानिसहरुले पैसा कमाए भनेर अरुहरुले उनीहरुसँग दुश्मनी मल्न थालेका छन् । विचरा गाउँलेहरुलाई अर्कासँगको दुश्मनीको बोझ किन थमाउनुभयो ? उनीहरु जस्ता थिए, ठीकै त थिए ।”
उनका कुरा सुनेर म रनाहा परें । अनि एउटा प्रश्न हठात् उब्जियो – ‘त्यसो भए के राम्रो र के नराम्रो त ?’ उत्तर पनि आफै सुझ्यो ‘आफ्नाले गरे जे पनि राम्रो, विपक्षीले गरे जे पनि नराम्रो’ हाम्रो नेपालमा ।
(रचनाकाल – २०५५–१–२३)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal