विद्यार्थीहरुलाई अङ्ग्रेजीमा तगडा बनाउने नाममा बोर्डिङ् नामधारी त्यस स्कूललाई English Only Zone घोषणा गरिएको थियो । बिचरा विद्यार्थीहरु खेल्दाखेरि सम्म पनि आफ्ना विचारहरु स्वतः स्फूर्त रुपमा व्यक्त गर्दा तोकिएको fine (जरिवाना) तिर्नुपर्ने डरले आफू आफैंमा गुम्सिनुपर्ने बाध्यतालाई अङ्गिकार गरिरहेका थिए । आफूले जानेका I, we, play, go, read जस्ता सीमित शब्दावलीहरुमा विद्यार्थीहरु सीमित हुन बाध्य थिए, यसो भनूँ – बाध्य बनाइएका थिए ।
विद्यालय प्राङ्गणको साँघुरो मैदानमा लात्ते भकुण्डोमा मस्त सुन्दर, राजेन्द्र, विकास, राजु, रविन आदि कक्षा १ का छात्रहरुका बीचबाट पनि pass, kick, go जस्ता शब्दहरुमात्र बारम्बार पुनरावृत्ति भएर गुञ्जिरहेका थिए । यत्तिकैमा अचानक राजेन्द्र एउटा चुच्चे ढुङ्गामा अल्झेर डङ्ग्रङगै लड्यो, टाउको नराम्रोसँगले ठोक्किएछ छेऊको पर्खालमा । अनि त के थियो रगतका धारा बग्न थाले उसको निधारबाट । सबैका मुहारमा त्रास र भयको रेखा दौडिरहेको स्पष्ट देखिन्थ्यो, तर सबै निःशब्द थिए । आफ्नो भाषामा केही बोल्नै नपाइने उदेकलाग्दो नियमले गर्दा उनीहरु साथीलाई सहानूभूति दिन समेत नसक्ने पङ्गु बनिरहेका थिए । राजेन्द्र स्वयं चाहिं टाउको छाम्दा हातमा लागेको आफ्नो रगत हेरेर निःशब्द टोलाउन थाल्यो । English Only Zone को मर्यादा उल्लंघन गरेबापत तिर्नुपर्ने fine लाई सम्झेर ऊ शायद अङ्ग्रेजीमा कसरी रुने भनेर सोचिरहेको थियो ।
(रचनाकाल – २०५५–९–२५)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal