bio

Stories

तीतो जिन्दगी र तीता कथाहरु

आहा, कति सुन्दर सपना ! स्वर्गकी अप्सराजस्ती उसकी निलिमालाई अँगाल्दै सुन्दर डाँडा–काँडा, भीर–पाखा, खोला–नाला पार गरेको । छिनमै सगरमाथा, छिनमै माछापुछ्रे त छिनमै फेवाको पींध अनि छिनमै तराईका झाडी – आहा, कति रोमाञ्चक आनि एड्भेन्चरस् यात्रा । तर त्यो त सपना थियो, फगत सुन्दर सपना । तर विपना......? कति तिक्त छ विपना उफ् ! उसले हृदयमा ठाउँ दिएकी निलिमाले अस्ति कलेजको क्यान्टिनमा उसको अपमान गरी साथीहरुबीच । तर निलिमालाई नराम्रो ठान्न ऊ तयार छैन–पटक्कै । एक न एक दिन अवश्य उसको मन पग्लिन्छ’ यही सोचको आडमा ऊ घाँटीबाट निस्कन लागेको अमिलो पानीलाई बाध्यताले निले झैं त्यो तिक्ततालाई मुटुको अन्तरमा छोप्छ अनि छोप्न पनि बिर्सिदैंन रोमाञ्चक यात्राको उत्तेजनामा फालिएका सिरकले आफ्ना हिउँजस्ता चीसा हातखुट्टाहरु । कुक्रुक्क डल्लो परेर ऊ सकेसम्म तातो खोज्छ तर तरवारको धारको झल्को दिलाउने माघको जाडो किन झुक्थ्यो उसको सामु ? यता फर्किन्छ, उता फर्किन्छ तर अहँ निदाउने उसको प्रयास फलिभूत हुँदै हुँदैन । आँखा चिम्लेर अघिकै सुन्दर सपनालाई आँखामा नचाउने प्रयास स्वरुपको उसको तर्कना पनि चकनाचूर हुन्छ । अहिले त निलिमासँग हातेमालो गर्न खोज्दा निलिमा उसलाई लत्याउँछे; शिखरमा पुगेको छ भने उसलाई तलतिर धकेलिदिएर उपहासको खित्का छाड्छे । जगल्टे राक्षसहरुलाई बोलाएर उसका अङ्गप्रत्यङ्ग लुछ्न लाउँछे अनि तनतनी पिउँछे उसको आलो तातो रगत ।

उफ् ! निलिमा ! निलिमा !  निलिमा !!!

कत्ति सताएको निलिमाको कल्पनाले उसलाई । निलिमालाई आफ्नो बाहुपाशमा बाँध्न आतुर ऊ अहिले निलिमालाई चटक्क बिर्सिन खोजिरहेछ, तर....... ! भगवान् लाई मात्र थाहा होला उसले कति चोटि कोल्टे फेर्‍यो, तर अहँ न त ऊ निदाउन सक्यो न त निलिमालाई बिर्सन ।

त्यसो त निलिमा भन्दा पनि कठोर तथा कटु कुराहरु उसको जीवनमा धेरै धेरै नै छन् – तिनको सूची बनाउनपट्टि लाग्ने हो भने चित्रगुप्त पनि थाक्नेछन् । बिहान ५:०० बजे त उसलाई अफिसमै पुगिसक्नुपर्छ । दुई महिनाअघि उसले यो जागिर भेट्टाएको थियो । जागिर भेट्टाउनु मात्रको पनि एउटा छुट्टै तीतो कथा हुन सक्छ तर अहिलेको कार्यालय अवधि कटाउनु उसलाई हुनसम्म मुस्किल पर्छ भन्ने कुरा पनि उत्तिकै तीतो यथार्थ हो । इन्टरमिडियट पढ्दा–पढ्दैको उसको योगयतालाई झिंगाको बोसो निचरे झैं गरेर प्रयोग गरिरहेको छ त्यस प्राइभेट अफिसले । पद छ उसको लेखापाल तर पिउनदेखि पी.ए. सम्मको काम सबै उसैले भ्याइदिनुपर्छ । टेबुल, कुर्सी, सोफा, दराज, भुँइ सबै सफा गर्ने उही, अघिल्लो दिनभरको हिसाब–किताबलाई प्रविष्ट गराउने उही, चिठी लेखिदिने, टाइप गरिदिने, ग्राहकसँग सम्पर्क गर्ने, किनमेल गर्ने सबै उही । पार्टटाइमर ऊ त्याहाँको तर आफूले गर्नुपर्ने सम्पूर्ण कामहरु सम्झेर ऊ दिनभर त्यस कथित अफिसमा रहने हाकिम र उसकी नकच्चरी सेक्रेटरी इत्रिने र जिस्किने बाहेक अरु केही काम पनि गर्छन कि भनेर अनुमान लाउनै सक्तैन । बिहान ५:०० बजेदेखि १०:०० बजेसम्म गधा घोटिएझैं घोटिएपछि बल्लबल्ल उसले त्यहाँबाट छुट्कारा पाउँछ – त्यैपनि सेक्रेटरी भनाउँदी नखरमाउली बेलैमा आइपुगी भने मात्र । उसलाई अफिस जिम्मा लगाउनकै लागि ११:०० बजेसम्म अफिस रुङिरहनु परेको घटना पनि धेरै दोहोरिइसक्यो यी दुई महिनाभित्र । तर पनि ऊ लाचार छ, के गरोस् ? जम्मा पन्ध्रसयको लागि उसले पुष–माघको जाडो भन्न पाउँदैन । प्रातः कालको कुहिरो चिर्दै ऊ हरेक बिहान हिंडिरहेकै हुन्छ – आफ्नो चिरिएको भाग्यलाई सिउने महत्वाकांक्षामा । बिहान पनि खाना खानुपर्छ भन्ने कुरालाई उसले तिलाञ्जलि दिइसक्या’छ । एक कप चिया चाहिं अवश्य खान्छ ऊ बिहान अफिसमै – त्यो पनि ऊ आफैंले एफोर्ड गर्न कहाँ सक्नु र ? अफिसकै मालिक एवं हाकिम महोदयको कृपा दृष्टि – कार्यालय नजिकैको एउटा पसलबाट उसलाई चिया आइपुग्छ । तर हाय ! त्यही एक कप चिया भित्र पनि कत्रो प्रताडनाको कथा छ । घृणाले उसको पेट बाँउडिन थाल्छ – त्यसलाई सम्झिंदा मात्र पनि । चिया ल्याइदिने नक्कचरी (पसलकी साउनी हुनुपर्छ त्यो) लाज पचाएर उसँग ढेस्सिन आइपुगी एकदिन । पहिले त ठाँटबाँट पारेर मस्किदैं उसलाई लोभ्याउन खोज्थी तर टाँस्सिनै आएपछि उसले पनि प्रतिकार गर्दै आदर्शका एक–दुई लवज निकालेथ्यो । त्यसपछि त ओ हो ! चिया ल्याइदिने त्यो नक्कचरी गायब भई र अर्कैको मार्फत आउन थाल्यो – बेस्वादको चिया । कहिले चिनी बढी, कहिले कम, कहिले टर्रो, कहले तीतो । उफ् ! जीवनभर अपमान र तिक्तताको नरमाइलो पिउँदा–पिउँदा उसले मीठो स्वाद नै बिर्सिसक्यो । ऊ जस्ताको जिब्रोले के महत्व राख्यो र ? महत्व पेटको हो – पेटले स्वाद खोज्दैन । कति चोटि त उसले यो पापी पेटको अस्तित्व नै खत्तम पार्न पाए कति शान्ति मिल्थ्यो भनेर पनि नसोचेको हैन । तर स्वैरकल्पना त के हो – क्षणिक उत्तेजना बस् । जे हुनु त उही वास्तबिकतामै छ, चाहे जतिसुकै तीतो किन नहोस् । त्यसैले उसँग स्वार्थबस् रिसाएकी साहुनीको बेस्वादे चिया त उसको पीडाको सागरमा थपिएको एक लोटा थप पीडा मात्र हो – ऊ पचाउन सक्तछ त्यसलाई । त्यसैले त त्यसका बिरुद्ध उजुरी वा फिराद गर्ने कुनै आवश्यकता महशुस गर्‍या’ छैन उसले ।

अहिले निद्रा नलाग्दा ऊ किन यो सब सम्झिरहेछ – उसैलाई थाहा छैन – तर आफूलाई हलुका महशुस गरिराख्या’छ ऊ ।

तर यो पिडा र दुःखको भुमरिबाट चाहिं ऊ सायदै हलुका महशुस गर्न सक्ला । उसको रोगी बाबु मृत्युको आगमनलाई स्वागत गर्न आतुर छ तर ऊ आफ्नो बाबुलाई बचाउन गर्न सक्ने–नसक्ने सबै नै काम गरिराख्या’छ । थाहा छ उसलाई उसको बाबुले चाँडै नै मर्नुपर्नेछ र त्यसभन्दा पनि तीतो कुरा उसलाई के थाहा छ भने रोगबाट मुक्त भएपनि उसको बाबुले मृत्युलाई कुर्ने बाहेक गर्न सक्ने अरु केही होइन । तर पनि समाजको अगाडी एक श्रवण कुमार छोरो बन्न भएपनि ऊ आफ्नो पेटमा लात मार्दै बाबुको उपचारमा पसिनाको खोला बगाउँदैछ – बगरमा पानी खन्याएझैं ।

‘उफ् ! बिहान साँढे चार बजे नै अफिस तिर कुदनुपर्छ, सुत्नुपर्‍यो ।’ऊ कोल्टे फेर्छ तर अहँ निद्राको नामोनिशान छैन ।

कोल्टे त उसको जिन्दगीले नै त्यतिखेर फेरेको थियो जब ऊ कलेजमा प्रवेश गरेथ्यो । स्कूल पढ्दा खेरि नै उसकी आमा उसलाई छाडेर अलग भएकी थिई । भन्नेहरु भन्थे – ऊ पोइल गई, तर अहँ उसले कहिल्यै पत्याएन । उसको निक्यौंल थियो – जँड्याहा अनि जुवाडे पोइको प्रताडना खप्न नसकेर ऊ भगवान् को शरणमा गई । उसले ठीक गरी – बाँच्ता–बाँच्तै मर्नु परिरहेको स्थितिबाट उम्केर बरु मेरर पनि उसको दिलमा त बाचिरहेकी छे उसकी आमा । आमा नभएपनि पढ्नु त उसले थियो नै किनकि उसले थाहा पाएको थियो – आइन्सटाइन, गान्धी, देवकोटा यी सबै पढेरै ठूला भएका हुन् । तर उसको बाबु उसलाई पढाउनकै लागि आफ्नो रक्सी खाने पैसा किन कटौती गर्दथ्यो र ? ऊ वास्तवमा निकालिएको थियो घरबाट । तर उसभित्रको ईख जुन थियो सर्पको विख जत्तिकै – उसले आफ्नो पढ्ने व्यवस्था मिलाइछाड्यो आफ्ना कर्मठ पाखुराहरुका बलमा । दुई महिना अघि पाएको अहिलेको जागिरभन्दा पहिले के–के मात्र गरेन उसले ? त्यस भित्रका अनेक तीता कथा–उपकथाहरुको फेरि आफ्नो छुट्टै कथा छ । तर खैर, अहिले जागिर तथा अन्य कामबाट केही थोपा अमृत रसले उसलाई केही मीठोपनको अनूभूति अवश्य दिएको छ । तर निष्पट्ट कालरात्रीका बीच सागरमा टल्पलाएका एक दुई ताराहरुले कति पो प्रकाश दिन्छन् र ?

अँ, दस बजे अफिस छुटेपछि ऊ सोझै कलेजतिर हुत्तिन्छ । अहो ! दुम्सीका काँढा झैं प्रतीत हुने उसका कलेजका सहपाठीहरुको कपालले घोचिपोदेलान् कि भनेर ऊ सिरिङ्ग हुन्छ, अनि सहपाठीहरुका तीखा दृष्टिहरुले आफूलाई छेड्न खोज्दा हतप्रभ हुने गर्दछ । झन् किताबको पाना पल्टाउँदै ‘मान्छे छ कि छैन’ भन्ने खेल खेल्न खोज्ने सुपर्णखाहरुका तीखा आँखाहरुबाट आफूलाई जोगाउन त उसलाई हम्मे–हम्मे पर्छ। तर निलिमाको आँखामा उसले कस्तो शालिनता भेट्यो ? मानौ ती उसैको प्रतिक्षामा थिए र अहिले उसलाई अगाडि पाएर प्रफुल्लतापूर्वक नाचिरहेका छन् । तर दुर्भाग्य ! अस्तिको घटना.............निलिमालाई उसले चिया पिउन गरेको आग्रह किन लत्याई ? किन भनेकी उसले – “तिमी मलाई जुन दृष्टिले हेरिराख्या’ छौं, त्यो उचित छैन । सपनाको संसारबाट वास्तबिकताको धरातलमा ओर्ल ।” अहँ, निलिमाले यतिसम्म भन्नुपर्ने गरी उसले केही गरेको छैन । तर भाग्यले ठगेको बबुरो न ठहरियो, एउटी निलिमाले ठगी भनेर उसले किन दुःख मान्नु ? तैपनि ऊ आशावादी छ – निलिमा एकदिन अवश्य उसको मुटुको ढोका ढकढक्याउन आइपुग्छे । त्यसो त ‘ऊ जस्ताले प्रेम गर्ने अधिकार नै के र ?’ भन्ने प्रश्नसँग पनि ऊ उत्तिकै जुध्नुपर्ने हुन्छ – त्यो बेग्लै कुरा हो । तर निलिमा उसलाई मन परेकी अवश्य हो ।

‘ओहो ! यो निलिमा कति आउँछे बीचमा ।’ दिक्क मानेर ऊ कोल्टे फेर्छ । बाहिरको झ्याँउकिरीको आवाजले रात अझै बाँकी नै रहेको सङ्केत गरिरहेको छ । अब उठूँ कि त भन्ने पनि सोच्छ ऊ तर अहिल्यै उठेर के पो गर्नु छ र ?

बेलुकी थापिराखेको पानीले यसो मुख पखालेर मुखबाट वाफ उडाउँदै कार्यालय पुग्नु त हो नि ! त्यसो त अफिस छुट्ला भनेर उसले एउटा घण्टीवाल घडीको व्यवस्था गरेको छ नि; त्यो ठिक सवा चारमा कङ्कला आवाज ओकल्दै चिच्याउँछ अनि उसको मीठो निद्रा र कहिले त सपना पनि चट्ट चुँडाइदिन्छ । तर आज भने निद्रा खुलेदेखि नै ऊ घण्टीको प्रतीक्षा गर्दैछ । ‘घण्टी बज्छ, म उठ्छु, मुख धोएर लुगा लगाउछु अनि अफिसतिर हान्निन्छु – टेबुल पुछ्छु, फाइल मिलाउँछु..........आदि, आदि ।’ कम्प्युटरमा झैं उसमा प्रोग्राम सेट भैसक्या’छ । कम्प्युटरमा ‘इन्टर की’ थिच्न बाँकी रहे झैं प्रतीक्षा छ त केबल घडीको घण्टीको ।

उसका पीडाजनक कथाहरु खोतल्दै जाने हो भने भयानकताको पराकाष्ठा पनि भेटिन सक्छ । २:३० मा जब उसको क्याम्पस छुट्छ, उसलाई हतार हुन्छ दिलविक्रमको घरतिर दौडन । उसकी एउटी मन्दबुद्धि छोरीलाई पढाउने जिम्मा पाएको छ उसले । उसको बाबुको लगौंटिया यार अरे दिलविक्रम – नत्र किन यति विश्वास गथ्र्यो दिलविक्रम उसलाई ? ऊ त कसैको विश्वास माथि लात मारोस्, यो त हुनै सक्तैनथ्यो । तर त्यो केटी......! पढ्न पो मन्दबुद्धि छे त्यो – कुरा गर्न थालेपछि ऊ जस्तालाई बेच्न सक्छे त्यो । ऊ पढाउँछ – “लिङ्ग तीन प्रकारका हुन्छन् – पुलिङ्ग, स्त्रीलिङ्ग, अनि नपुसंक लिङ्ग ।” ऊ भन्छे – “पुलिङ्ग भन्या तपाई, स्त्रीलिङ्ग भन्या’ म, नपुसंक लिङ्ग भन्या’ चै को नि सर? हाम्रो पालेदाइ राम बहादुर होला हगि ? पल्लो घरकी झुना उसलाई कति माया गर्छे तर ऊ चाहि खालि तर्केर हिंड्छ रे । झुनाले त उसँग बिहे गर्न खोजेकी रे, तर मान्दैन, कस्तो नामर्द हगि सर ? नपुसंक लिङ्गी....हा....हा...हा ।”

अथवा कतै ‘रामामाया पोइल गई’ भन्ने वाक्य पुस्तकमा देख्ता ऊ सोध्छे – “सरको आमा पनि पोइल जानुभा’ रे हो ? म पनि ठूली भएपछि सरसँग पोइल जान्छु ल ? हा....हा...हा ।” यसलाई के भन्ने – ठट्टा कि, व्यङ्ग कि, अज्ञानता कि ? आजित भैसक्यो ऊ त्यस केटीदेखि । कहिले त्यो ‘राती बोक्सीले टोकेको’ भनेर तिघ्राको निलो दाग देखाउँछे अनि कहिले मेरो ढाडमा चिलायो कनाइदिनुस् भनेर लुगा सार्छे ।

‘उफ ! किन म जताततै यही घृणाजन्य तिक्तताको महशुश गर्न बाध्य छु ? के मेरो जन्म नै यस्तै तिक्तताहरु बीचबाट गुज्रन नै भएको हो ?’ ऊ अझै छट्पटाउँछ – तर कोल्टे फेर्न उसलाई डर लाग्छ – तन्ना नै च्यातिने हो कि भन्ने डर । पहिल्याउँदै र खोज्दै जाने हो भने उसको जीवनका तीता कुराहरु अझै कति निस्कन्छन् कति । तर ओहो ! उठ्ने बेला भैसक्यो होला, तर किन घण्टी बज्दैन यतिखेर सम्म ? कतै घण्टी अन गर्न त बिर्सेन उसले ? अहँ, होइन उसलाई राम्रो सम्झना छ – सुत्नु अघि उसका हात सँधै झ्यालमा राखेको घडीको घण्टी अन गर्न अभ्यस्त भैसकेकाछन् । झन् हिजो त उसले क्याम्पसमा पढाएका सम्पूर्ण कुराहरुको नोट गरेर सिध्याउँदा १२:०० बजेको कुरा उसले घडी हेरेर थाहा पाएको र त्यसै वखत घण्टी अन गरेर सुतेको पक्का छ । ‘मलाई रात लामो लागेको मात्र होला, सवा चारमा त घण्टी बजिहाल्छ नि ।’ चित्त बुझाएर ऊ एकचोटी जतनले कोल्टे फेर्छ अनि सुस्ताउन प्रयास गर्छ । तर निद्रा किन लागिराख्या’ छैन – ऊ आफै छक्क छ ।

दिलविक्रमकी छोरीलाई पढाइसकेर चार बजेतिर कोठामा आइपुग्छ ऊ अनि सोझै विपरित दिशातिर लाग्छ । सबभन्दा बढी तिक्तता त ऊ त्याहाँ गर्नुपर्ने काम सम्झेर नै महशुश गर्छ । पुराना ग्राहकहरु बटुल्ने र नयाँ ग्राहकहरुलाई फकाई–फुस्ल्याई ठाउँसम्म पुर्‍याइदिने – छिः कति घृणित छ, उसको काम – ऊ आफैं थुक्न चाहन्छ आफुलाई । तर उसले त्यति काम नगरिदिने हो भने ती बिचरा महिलाहरुको अनि उसको आफ्नो पनि गुजारा कसरी चल्छ ? उसले त के धर्मराज भनिएका यमराजले पनि उसको मृत्यु पश्चात् कदापि छुट्टयाउन सक्ने छैनन् – त्यो पाप हो वा पुण्य ? यस्ता अनेकों कामकुराबाट ऊ दैनिक गुज्रिरहनुपर्छ – उसलाई के फुर्सद पाप र पुण्यको हिसाब गर्न । “कर्म गर्दै जाऊ, फलको आशा नगर” गीताको यही आदर्श वचन उसको धड्कनले बोलिरहेको हुन्छ हरपल ।

घण्टी अझै नलागेकोले ऊ अबचाहि बेचैन हुन्छ । के भैरहेछ आज ? यतिका बेरसम्म पनि सवा चार भएन होला त ? अधीर भएर ऊ खाटबाट बाहिर आउँछ अनि झ्याल खोल्छ । एक अङ्गालो उज्यालो कोठाभित्र छिरेर उसलाई घ्वाप्लाक्क छोप्छ ।

‘हँ !’ ऊ आफैदेखि तर्सिन्छ, ढोका खोल्छ – छयाङ्छ्याङ्ती उज्यालो । खुलेको झ्यालबाट पल्लो घरमा बजाएको रेडियो सुनिन्छ – “शुभ प्रभात ! यो समय मुना चियाको हो ।” ओहो ! सात बजिसकेछ । उसलाई सबभन्दा बढी रीस त घडीदेखि उठ्छ, रिसाएर राता नेत्रहरु त्यसतर्फ आफल्दा देख्छ – १:३० मा पुगेर घडी रोकिएको छ । उफ ! ब्याट्री डाउन भएछ क्यार । उसलाई आफ्नो जिन्दगीकै व्याट्री डाउन भएजस्तो लाग्छ । पाँच बजे पुग्नुपर्ने अफिसको त्यत्रो काम........? उफ् ।

उसलाई पछार्न मन लाग्छ घडीलाई । तर त्यस निर्जीवको के दोष ? सोच्छ – यो त उसको पीडाको सागरमा थपिएको एक लोटा थप तीतो पीडा मात्र हो – यसले उसलाई कति असर पार्छ र ?

(रचनाकाल – २०५६–१–१)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER