“ए भुन्ट्या’बा । पल्लागाउँको कान्छाले आज रोपाँइ छ आउनु भन्या’थे, गइँ है म त । भात पका’र भुन्ट्या’ दाजु–बैनीलाई ख्वाउनु, आफु पनि खानू म चै जान्छु ।” च्याँट्ठिदै यति भनेर घुम बोकेर बाटो लागि सुन्तली । घुम टाउकामा राखेर सुन्तली जाँदै गरेको बीरेले परसम्म हेरिरह्यो ।
‘कति राम्री छे सुन्तली, नितम्ब हल्लाउँदै लचकदार तरिकाले ऊ हिंडदा लाग्छ – पृथ्वी भ्रमण गर्न स्वर्गकी अप्सरा झरेकी हुन् । मृगनयिनी सुन्तलीको सुन्तले ओठले त उसको नाम चरितार्थ भएझै लाग्छ । घुँडासम्म आउने गरि लगाएको रातो फरियामा सेतो पटुका कस्दा त आहा ! साक्षात् अप्सरा जस्ती । मोरीको यै रुपले त भुतुक्क भएर मेलाँ’ जाँदा देख्ने बित्तिकै उसका बा आमालाई माग्न गा’थें नि । राम्री त छे नि मोरी तर मुख अलि बढी चलाउँछे । उल्ले भन्या’ एउटा कुरा पनि मानेन र बिरोध गर्यो भने माइत जाने मात्र हैन कहिले त मर्नेसम्म पनि घुर्की लाउँछे, साह्रै जिद्दिवाल छे ।’
यस्तै सोच्तै दिवास्वप्नमा मग्न रहेको बीरेलाई एउटा रुन्चे स्वरले व्यूँझायो । झल्याँस्स झस्केर हेर्दा त भुन्टे नजिकै आएर रोइरहेको रहेछ । “बा, बा ! भोक लाग्यो” भनेर आँखामा हात रगड्दै रै’छ । “ ल, ल नरो, म अब भात पकाउँछु अनि खालास्” भनेर घर पछाडि गई एक अगाँलो दाउरा लिएर बीरे भित्र पस्यो । एकैछिनमा घर भित्रबाट धुँवाको मुस्लो निस्कियो ।
उता सुन्तली मेला पुगी, सबै आइसकेका रहेछन् । खेतै छेउको रुखको टोड्कामा घुम राखेर हिलोमा पसी सुन्तली । धानका बिउ हिलोमा गाड्दै चमेलीले उसतर्फ सङ्केत गर्दै ठट्टाको लवज निकाली – “किन ढिला आइस् ए मोरी ! पोइले छाड्दै छाडेन कि क्या हो ?”
यै ठट्टाले आगो बनायो सुन्तलीलाई । भनिदिई – “ए चमेली, तँ मुखमा जे आयो त्यै भन्छेस् ? तँ जस्तो बूढीकन्ने भ’र बसेनौं हामी । घरधन्दा गर्नुपर्छ भन्ने था’ छैन कि क्या’ हो तँलाई ए बूढीकन्ने ?”
यस्तो वचनवाणका साथ प्रयोग भएको ‘बूढीकन्या’ शब्दले चमेलीलाई साह्रै बिझ्यो । मुर्मुरिएर रातो मुख लगाई झम्टुँला झै गरिथी, तर उसले आफूलाई नियन्त्रित गरिहाली । ‘रछान चलायो, मुखमा छिटा’ लोकोक्ति सम्झी चुप्प लागेर बस्नु नै उचित सम्झेर नुन खाएको कुखुरा जस्तो भएर बसी चमेली ।
सूर्य क्रमशः टाउको माथिबाट तलतिर झर्दै थियो र खेतालाहरु खाजा खाएर पुनः जोडतोडले काममा लागिरहेका थिए । असारे गाउन पनि बिर्सेका थिएनन् रोपाहार र बाउसेहरुले –
‘न भित्र खोक्रो न बाहिर बोक्रो गुलियो कसार
पूरबै ढोका खोलेर हेर्दा लागेछ असार
असारे मासको डबडबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा ६ बीस रिन लाग्यो’
हलीको ह–ह शब्दका साथमा लहरिएका असारेका यस्ता पक्तिहरुले रोपाँइलाई हुनसम्म मनमोहक बनाइरहेथ्यो । सबैजना असारे र दोहोरीमा मस्त भएर काम गरिरहेको थिए तर सुन्तली भने गजधम्म परेर निधार खुम्च्याउदै एकोहोरो सँगले धान रोपिरहेको देखेर कृष्णेले मन थाम्नै सकेन, सोधिहाल्यो – “क्या हो सुन्तली, तिमी त यस्तो रमाइलो दिनाँ’ पनि अँध्यारो मुख ला’र काम गरिराख्या’छौं नि । घराँ’ दाईसँग ठाकठूक पर्यो कि क्या हो ?” कर्के नजरले एकपल्ट कृष्णेतिर हेरेर सुन्तलीले फेरि भुईतिर हेरि तर केहि पनि भनिन । यस भन्दा बढी बोलेमा नराम्रो स्थिति सृजना हुने सम्झेर कृष्णेले यसभन्दा बढी केही बोल्ने चेष्टा गरेन ।
“पक्कै ठाकठूक पर्या जस्तो छ है ! किन पीर मान्या’तिम्ले सुन्तली ? त्यो बजिया बीरेले के भन्यो, मलाई भन ।” आली लगाउँदै गरेको डम्बरेले मुख फोरिहाल्यो । सुन्तलीसँग यस्तो कुरा गर्ने साहस सायदै कसैमा थियो, तर डम्बरेलाई भने आज बिहानैको शिवजलले छाडेको थिएन । त्यसैको साहसले यसो भन्यो डम्बरेले । अब भने सुन्तलीको पारो चढिसकेको थियो, कतिञ्जेल चुप लागोस् ऊ पनि ? झन् अहिले त आफ्नै लोग्नेलाई गाली गरेको सहनै सकिन सुन्तलीले । भित्रै देखिको रीस निकालेर चिच्याई – “ए जँड्याहा बजिया, के भनिस् रे तैंले ? जिब्रोलाई ठेगानमा राखेर बोल है, थुतिदिउँला नि ऐले ।” सुन्तलीको चर्को स्वर सुन्ने बित्तिकै सबैले जिब्रो निकालिसकेका थिए, त्याहाँ कुनै नराम्रो घटना हुन सक्ने देखेर ।
डम्बरे भने झन् शुरो भएको थियो, ऊ चाहिं किन चुप लाग्थ्यो र ? “ए नक्कली ! तैले कल्लाई जँड्याहा भन्या’ हँ ? तँ जँड्याहा, तरो पोइ जँड्याहा, तेरो बाउ जँड्याहा, तेरा शाखा सन्तान जँड्याहा ।” हातको कोदाली फालेर जिब्रो लर्बराउदै हात हल्लाइ – हल्लाइकन डम्बरेले यति मात्र के भनिसकेथ्यो, सुन्तली ठाडै उसमाथि जाइ लागी । ऊ सरासर डम्बरेको छेउमा गई अनि कसैले रोक्नुभन्दा पहिले नै क–के बर्बरराउदै डम्बरेलाई कठालामा समातेर धकेलिदिई । बिचरो डम्बरे आफ्नै जीउको भर नपाएर हिलोमा फुत्तै जाकियो । तब पो सबैजना दौडेर गई उसलाई हिलोबाट झिकेर अनुहारमा लागेको हिलो पानी छ्यापेर पखालिदिए । त्यसपछि त डम्बरे झन् जंगिहाल्यो – “यो राँडलाई आज म त्यसै कहाँ छाडुँला र ?”
डम्बरे दौडँदै खेत बाहिर गएर धनबीरे हलीले अनौ चिल्याउन राखेको खुकुरी लिएर खेतमा पस्यो । सबैजना आत्तिएर आश्चर्यका लवज निकाले तर यति हुँदासम्म पनि होस हराए झै सबै ट्वाल्ल परेर हेरिरहे – साँढेको जुधाइमा बाछाको मिचाइ हुन्छ कि भनेर हो या सुन्तली प्रतिको रीसले नै पो हो । डम्बरे खुकुरी लिएर अघि बढिरहेको थियो, सबैका मन अव्यक्त भयले उचालिदै थिए तर सुन्तली भने डराएर पछि हट्तै थिई । सबैजना मूकदर्शक भएका थिए – सायद केहि गर्ने आँट नै तिनमा आएन अथवा के गर्नुपर्छ भन्ने निर्णय लिनै सकेनन् । तर सुन्तलीले आफनो रक्षा आफैं गरी – खेतबाट एक मुठ्ठी हिलो सोहोरेर डम्बरे तर्फ फालिदिई । विचरो डम्बरेको आँखैमा परेछ, खुत्रुक्कै परेर त्यहि लड्यो । अहिले चाहि खेतधनी कान्छादाइ नै आएर डम्बरेलाई हपार्दै खेत बाहिर ल्याए र अरु पनि मिलेर डम्बरेलाई त्यही राखिरहे । अहिले पनि डम्बरेले खेत बाहिर आँखा चिम्लेरै भएपनि ‘मारिदिन्छु’ र ‘छाड्दिन’ भन्न छाडेको थिएन । सुन्तली चाहिं चुप्प लागेर काममा लागी । अरु कसैले केहि भन्ने आँटसम्म गरेनन् उसलाई ।
केहि क्षणमै रोपाई सिद्धियो र साँझपर्न लागिसकेकोले सबै आ–आफ्नै घरको बाटो लागे । घर जान लाग्दा बाटामा आफना साथीहरुसँग कुरा गर्दै आफूभन्दा केहि अगाडि हिंडिरहेकी चमेलीका केहि बोलीहरु अस्पष्ट रुपमा भएपनि सुन्तलीले सुनी – “कस्ती घमण्डी....... यल्ले अर्काकै हातबाट मर्नुपर्छ....... नकच्चरी....... मुखाले.......”
सुन्तलीले सुनी तर अहँ केही बोल्न र गर्न पटक्कै सकिन, चुपचाप हिंडिरही घर नपुगुञ्जेल ।
सँधै उज्यालो मुहारमा मुस्काउने चन्द्रमुखी सुन्तलीलाई आज मलीन देखेर बीरे आश्चर्यचहित भयो तर केही भनेन । भात उसैले पकाइसकेकोले बालबच्चा सहित जोइपोइले खाए । खाउञ्जेल पनि उसैले केहि नबोलेको देखेर बीरेको आश्चर्यको सीमा रहेन । बिसञ्चो पो भयो कि भनेर सोच्यो मात्र, केहि भनेन । बिसञ्चो भएपनि यसरी बोल्नै छाड्न त नपर्ने भन्ने सोच्तै बीरे ओछयानमा गएर पल्ट्यो र यो अचानकको परिवर्तन के कारणले होला भनी सोच्न थाल्यो । बालबच्चाहरु सुतिसकेका थिए । भाँडा माझिसकेपछि सुन्तली पनि ओछयानमा आएर पल्टी ।
त्यस घरमा अझैपनि असजिलो मौनताले आधिपत्य जमाइरहेथ्यो । बीरेलाई यस्तो लाग्यो कि बिहान आफूलाई हप्काएर हिंड्ने सुन्तली यो हुँदै हैन । नत्र यस्तो परिवर्तन कसरी सम्भव छ ? सास फेरेको पनि सुनिएला झैं गरेर सुन्तली शान्ती कायम गर्दै थिई । बीरेले यो स्थिति सहिरहन सकेन, आखिर शान्ति भङ्ग गर्दै साहस बटुलेर भन्यो – “के भो’ सुन्तली तँलाई, किन केहि बोल्दिनस् ?”
बीरेले यतिमात्र के भनेथ्यो, सुँक्क सुँक्क गर्दै रुन्चे स्वरमा सुन्तलीले भनी – “अब म कसैसँग पनि मुख लाग्दिनँ र झगडा गर्दिनँ भुन्ट्या’ बा ।” ऊ झन् झन् रुन थाली । रुदै–रुदै दिउँसोका सम्पूर्ण कुराहरु पोइलाई भनिसक्ता पनि उसको रुवाइ रोकिएको थिएन ।
“ल ! यो त त्यसै पो रुँदिरहिछ, नरो, नरो । यस्तो कुरामा पनि रुने हो ?” भन्दै सुन्तलीको गालामा हात पुर्याएर मायालु ढङ्गले आँशु पुछिदियो बीरेले ।
“नरो सुन्तली, नरो । हाँस् त ल, हाँस ।” लोग्नेले यसरी फुल्याएपछि रुन्चे हाँसो गर्दै सुन्तली उसको छातीमा टाँस्सिन पुगी । सुन्तलीलाई अँगालोमा कसेर बीरेले सन्तोष अनुभव गर्यो ।
(रचनाकाल – २०५३–३–२८)
“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित
Website developed by Web house Nepal