bio

Stories

गुमेको भविष्य

म रत्नपार्कमा छु, तर सँधै झैं फुङ्ग उडेको र बैराग्य पोतिएको अनुहारमा हैन, आज ममा नयाँ उत्साह, उमंग अनि उल्लास छाएको छ । आहा ! रत्नपार्कमा म सँधैको झैं आवारा र घुमन्ते भएर हैन, आज म यहाँ नयाँ कपडा किन्न आएको छु । अबको दुई घण्टामा नै म हवाइजहाजको आरामदायी कोठामा जीवनको यस अवधिसम्मको थकाई मारिरहेको हुनेछु, खुल्ला हावामा उडिरहेको हुनेछु । कल्पनासम्मले पनि ममा करेण्टको भन्दा पनि बढ्ता भयानक तर रोमाञ्चकारी झट्का पैदा हुन्छ । जे होस्, म यहाँको फुटपाथे पसलहरुमा आफ्ना लागि एउटा सर्ट खोज्दैछु । एउटा बुट्टेदार सर्ट र त्यसलाई सुहाउने एउटा पेन्ट किनें । पसलेले ‘सर्टमा मिल्ने छ हजुर लानुस्’ भनिहाल्यो, त्यसैले एउटा सस्तो खालको टाइ पनि किनें । हुन त म चश्मा किन्थें, कोट किन्थें, जुत्ता किन्थें, यति मात्र के र भए भरका पसलहरु नै किनिदिन्थें म – मेरो रगत त्यसरी उम्लिरकेको छ तर राजुको बुबाले दिएको ५०० को नोट, त्यै पनि यस्तो हुलमा बल्ल–तल्ल जोगाएको, मात्र मसँग छ, त्यसैले यस भन्दा बढी अरु केही किन्न सक्तिनँ म ! भर्खर किनेको कपडा लगाई शहरभरि घुमेर देखाउने चाहना ममा छ तर उफ् दुई बजेको फ्लाइट छ साँढे बाह्र भईसक्यो ।

अव मैले कोठा तर्फ दौडनै पर्छ, झट्ट चेत आउँछ मलाई । दौडन खोज्छु तर खै खुट्टा नै चालिँदैन । हिड्नै नसकी खुट्टा लर्बरिएर त्यसै पो लडें म । अति खुशीले होला खुट्टा ठाउँमा टेकिने हैन । बाटाभरि लड्दै उठ्दै दौडदै गरेर कति खेर पो कोठामा आइपुगिसकेछु म । नयाँ लुगा लगाउनको लागि भनेर लगाइराखेको थोत्रो कपडा तानतुन गरेर फुकाल्दा पो जिउबाट खपिनसक्नुको दुर्गन्ध आइरहेको अनुभव गरें । मख्ख परेर फुलाइरहेको नाकलाई च्यापेर थुनी सानो पार्नु त भएन त्यसैले एकचोटि नुहाउने विचार गरी आँखै नहेरी धारातर्फ दगुर्छु म । हेत्तेरिका त्याहाँ त घरवेटीको छोरी पो निसंकोच कता कता हात पुर्‍याउदै नुहाउदै रहिछिन् । अरुबेला भए म उनलाई जिस्काउन किन पछि पर्थे र, आज....... आज कुरै अर्कै भै गो’ नि । लौन बेर हुन लागिसकेछ ।

हतार–हतार कोठामा आइपुगिसकेपछि यसो आफ्नो जिउमा हेर्छु पो म त नाङ्गै रहेछु – एक धरो कपडा रहेनछ मेरो जिउमा । ओ हो ! धारामा गएको बेला घरबेटीको छोरीले देखेको भए के हाल हुन्थ्यो मेरो ? हतार हतार एउटा टालो बेरें – कट्टु च्यात्तिएर लाइ सक्नुको छैन । कोठामा यसो आँखा घुमाउँदा देखें – हिजोको बासी भात मेरै प्रतिक्षामा रहेछ, तताउँदा पनि नतताई फुक्कै भात बुक्याउन पछि परिनँ म । ओहो ! अब त धेरै ढिला भैसक्यो, अब पनि पर्खेर बसेर भो र ? सरासर धारामा गएर जीउमा पानी थापेर अलि अलि जीउ माडिटोपलें । पेटिकोट माथि सारेर तिघ्रा माडिरहेकी विचरी घरवेटीकी छोरी लाजले पर सरिन् । म भने उसतिर ध्यानै नदिई एकचोटी जीउमा पानी थापेर कोठातर्फ दौडिहालें । चीसै जीउमा नयाँ कपडा भिरेर घाँटीमा टाइ पनि कसें र ऐना हेर्न मन हुदाँ हुदै पनि नहेरेर जुत्तामा गोडामात्र पसाएर बाटोभरि लाउँदै दौडिन थालें । कोठा पनि बन्द गर्न बिर्से सायद । हुन त के चाहिं छ र त्यो कोठामा बन्द गरेर सुरक्षित राख्नको लागि ? त्यैपनि अब विदेश गएपछि ती सब मलाई किन चाहियो र ? यस्तै सोच्तै हिंड्दा–हिंड्दै एउटा साइकल आएर मलाई ठक्कर दिएपछि पो म झँल्यास्स भएँ । ओहो ह्याण्डलले तिघ्रामै लागेर नराम्ररी दुख्यो । मैले केही गर्छु भन्ठानेर साइकलवाला नीलो मुख लगाउँदै रहेछ तर मैले भने उसतिर ध्यानै नदिई खोल्ट्याक खोल्ट्याक गर्दै अघि बढ्न थालें । आफूलाई कत्रो काम भ्याउनुपरेको छ – यस्ता साना–तिना कुरामा अड्केर भो’ र ? हतार–हतार बस रोक्ने ठाउँमा पुग्दा एउटा बसको पछाडिपट्टि एउटा मान्छे कराउँदै रहेछ – “ल,ल एयरपोर्ट जानेहरु आउनुस् छिटो, ल,ल !” खुट्टा खोच्याउँदै ढोकाको रड समातेर गाडीमा चढें । आहो, कस्तो भीड ! जसो तसो अलि भित्र कोच्चिएँ । ठाँटिएर गफ गरिरहेका केही मैयाँहरुको बीचमा परेछु तर मेरो नजर र ध्यान तिनीहरु तिर पटक्कै थिएन । म त आफ्नै धुनमा मस्त भएर कल्पनामा पौडिरहेछु ।

आज बिहान (एघार जति बजेको बेलामा) राजुको बुबालाई भेट्ता भन्नुभा’थ्यो – “ए विनोद ! तिमीलाई मैले कति खोजें, ल आज पो भेटें । तिम्रो बारेमा राजुले कुरा गरेथ्यो, उसलाई तिम्रो पासपोर्ट पनि छोडेको रहेछौ नि हैन ?

दुःख पाएको मान्छे रहेछौ, त्यसैले मैले तिमीलाई मेरो व्यापारमा सानो काम दिने बारे सोचेको छु । आज २ बजेको फ्लाइटमा हामी जापान जानेछौं । तिम्रो लागि आवश्यक कागजपत्रहरु मैले ठीक पारिसक्याछु । ल, तुरुन्त तयार भएर आऊ म तिमीलाई एयरपोर्टमा भेट्ने छु । सम्झ है दुई बजे । ल, खर्च छैन होला ।” यति भनेर राजुको बुबाले ५०० को एउटा नोट मलाई दिनुभा’थ्यो । पहिले त त्यसलाई नै पाँच मिनेट जति हेरिरहें किनकि त्यो मैले देखेको पहिलो ५०० को नोट थियो । अनि त तुरुन्त रत्नपार्क दौडिहालें कपडा किन्न ।

मलाई म भित्रको खुशी र हर्षको खोलाले हल्लाइरहेको छ । प्रेसर कुकर भित्र गुम्सिएको वाफ झैं म भित्र मेरा इच्छा र आकांक्षाहरु निक्लने ठाउँ खोजेर सगबगाइरहेका छन् । रगत १०० डिग्री सेन्टिगे्रडको तापक्रममा उम्लिरहे झै तातो भैरहेको छ । भविष्यको कल्पनाले म भित्र भुँइचालो ल्याइरहेको छ । हलुको भाँडोमा बसालेको पानी भक–भक उम्लेर भाँडै हल्लाए झैं मेरा अन्तरभावनाहरु उम्लेर मलाई नै हल्लाइरहेका छन् । कुनै पनि बखत म नै उम्लिएर बसलाई हल्लाउन सक्थें । तर म सकेसम्म आफूलाई नियन्त्रित गरिरहेछु । जोड–जोडले ढुक–ढुक गरिरहेको मुटुलाई शान्त पार्ने प्रयास स्वरुप म घुट–घुट थुक निलिरहेको छु । यसले गर्दा मेरो ओठ–मुखै सुक्न थालिसकेको छ । म जतिसक्तो चाँडो गन्तव्यमा पुग्न चाहन्छु तर यसका लागि म बसभित्रै दौडिन पनि त सक्तिनँ, त्यसैले मैले धैर्य गरेर पर्खिरहनु परेको छ । तर म स्पष्ट अनुभव गरिरहेछु – मेरो जीउ भित्र केही सगबगाइरहेको छ , अनि मुटु जोडजोडले हल्लिरहेछ ।

कल्पनामै डण्डीमा समातिरहेका मेरा हात फुस्केर एउटी मैयाँको गालामा झरेछ । मेरा ताता हातले उनको चीसो गालाको आभाष पाएर तर्सिएर आफसे–आफ म पट्टि आइपुगे । ती मैयाँको मुखमा हेर्दा निधार खुम्च्याएर तिनी मतिर तीखा नजर तेस्र्याउदै रहिछिन् । हात तल झरिसकेपछि म समयको बारेमा सोच्न पुगेछु–कति बजिसक्यो होला ? नाडिमा यसो आँखा लगाउँछु । हँ, घडी छैन, ओहो भीड र मेरो एकाग्रताको फाइदा उठाएर कसैले खुस्काएको त हैन ? तर मेरो स्मरणमा तुरुन्तै नुहाउनु अघि फुकालेको क्षण आइपुग्छ र आफैंलाई धिक्कार्दै म शान्त हुन्छु । म त्याँहाका कसैलाई पनि कति बज्यो भनेर सोध्न सक्तिनँ, मानौं मेरो बोली नै हराएको छ, केहि बोल्नै सकिरहेको छैन म ।

अचानक गाडी रोकिएर मेरो टाउको गाडीको पोलमा ठोक्किंदा पो थाहा पाएँ एयरपोर्ट आइपुगिसकेछ । हतार हतार ओर्लिएर दौडँदै पुगें म एयरपोर्ट हाताभित्र । मेरा नजरहरु राजुका बुबालाई नै खोजिरहेका छन् । म तुरुन्तै रिसेप्सनमा सोध्न भनेर पुग्छु तर उत्तर आउनुभन्दा अघि नै मेरा आँखा त्याहाँको भित्ते घडीमा पुग्छन् । देख्छु – २ : ३० भैसकेको छ । त्यसैले उत्तर पर्खिदै नपर्खी मैदानमा आएर माथितिर आँखा उठाउँछु । माथि नीलो आकाशमा एउटा सेतो प्लेन हावासँग संघर्ष गर्दै अघि बढिरहेको देख्छु । त्यस सँग–सँगै मेरो भविष्य पनि माथि माथि उडिरहेको देख्न थाल्छु । अझै पनि शैक्षिक बेरोजगार हुनुको अभिशाप खप्दै आवारा र घुमन्तेकै जीवन घिसार्नु पर्ने वाध्यताले मन चसक्क बिझ्छ र उभिने पनि सामथ्र्य नभई म त्यहीं थचक्क बस्छु । अनि माथि आकाशमा मडारिइरहेका कालो बादलमा आफ्नो गुमेको भविष्य खोज्ने असफल प्रयास गर्न थाल्छु ।

(रचनाकाल – २०५३–४–७)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER