bio

Stories

कर्कले सिद्धान्त

“हेर्नोस् साथी ! डार्बिनले विकासवादको सिद्धान्त, न्यूटनले गुरुत्वाकर्षको सिद्धान्त, आइन्सटाइनले सापेक्षताको सिद्धान्त – यस्ता कस–कसले के–के सिद्धान्त प्रतिपादन गरेको सुन्दा मलाई पनि कता–कता जोश चल्यो कुनै सिद्धान्त प्रतिपादन गर्न । कुन ठूलो कुरो रहेछ र भन्या, एक घण्टा जति एकान्तमा घारिएर बसेथें, विचार फुरिहाल्यो ।”

गाउँको चियापसलमा चिया खाँदै गर्दा हरिप्रसादजीले भनेका यी कुरा कहाँ बिर्सिसक्नाका छन् र ? मेरै उमेरका भएपनि झुस्स दाह्री पालेकाले तीन बीस नाघिसके होलान् भनेझै अनुहार भएका र एउटा झोला काँधमा कहिल्यै पनि नछुटाउने, गाँउका अगुवा मानिएका तिनै व्यक्ति नै त हरिप्रसाद हुन् जो साहित्यीक क्षेत्रमा पनि उतिकै लागि परका छन् । बिहान पेटको थैलो भरेर निस्केपछि दिनभर दश गाँउ चहारेर साँझमा मात्र घर पुग्ने उनी अक्सर भेटेका मानिसहरुलाई पट्यार लाग्ने गरी एकोहोरो भाषण छाँटछन् – के–के हो क–के बुझनै नसकिने कुरा उनका । त्यसैले उनलाई देख्ने बित्तिकै मानिसहरु सकेसम्म टाढा हुन खोज्छन् । हसिप्रसादजी त्यहाँ पसलमा आउँदा पसलेले नाक खुम्च्याइसकेको थियो ग्राहक घट्ने पीरले । अरु बेला जस्ता सुकै पट्यारलाग्दा र बहुलट्ठी कुरा गरेतापनि मलाई भनेका ती कुरा भने उत्सुकता जगाउने खालकै थिए, त्यसैले उत्सुकता र प्रश्न भरिएको नजर उनीतिर तेस्र्याएँ मैले ।

“के हो कविज्यू (कविता कोर्ने गरेकाले मात्र होइन, उनलाई मख्ख पार्नका लागि पनि यहि सम्बोधन चल्तीमा थियो) त्यस्तो ?”

“कुरो के भने नि” – अलिक ठूलो स्वरमा यति भनी उनी कृत्रिम खोकी झिक्न थाले – ‘अहँ, अहँ, उहुँ’ – सायद अरुको ध्यान आकर्षित गर्ने कला थियो त्यो उनको । तर उनका पट्यारलाग्दा कुरा सुनेर तर्सेकाहरु उनका कुरा के सुन्थे र ? बरु अरुले नसुने पनि म चाहि खुब ध्यान दिएर सुन्दै थिएँ – “मैले चाहि के भन्दाखेरी हँऽऽऽ फाइदाको सिद्धान्त प्रतिपादन गरेको छु ।”

“हैन, कस्तो हो यो फाइदाको सिद्धान्त भनेको ?” फुत्तै निस्के यी शब्दहरु मेरो मुखबाट । “यो कस्तो भने” – दार्शनिक पारा झिक्तै उनले भने – “जुनसुकै काम कुराबाट केही न केही फाइदा हुन्छ भन्ने सिद्धान्त हो मेरो ।”

“हैन, कस्तो कुरा गर्नुभा’को भन्या’, जुनसुकै कामबाट पनि फाइदा.......?” आश्चर्यमा परें म । “हो त नि” – हाँस्तै उनले भने – सबै कामबाट फाइदा ल हेर्नुस् –  खेत खनेर बाली बिरुवा लगाउने देखि लिएर खाना पकाएर खाने सम्मका कामहरुबाट फाइदा नै हुन्छ, गाइवस्तु चराउँदा होस् कि गुरुबाट शिक्षा लिंदा होस् अथवा गीत नै गाउँदा किन नहोस् – फाइदै हुन्छ । त्यस्तै हेर्नुस् – .......” अरु पनि उदाहरण दिने सुर थियो क्यार उनको तर बीचमै मेरो मुखबाट फुत्क्यो – “कसैको घर चोरिंदा पनि फाइदा नै हुन्छ त ?”

“किन हुदैन त ?” कत्रो चर्को स्वर उनको – “हेर्नोस् चोरी भएपछि समाजका धन मालिकहरु सजग र होशियार रहन्छन् र अर्को कुरा प्रहरीहरु सक्रिय हुन थाल्नाले चोरहरु पक्रिइन्छन् अनि चोरी घट्न थाल्छ । भएन त फाइदा चोरीबाट ?”

हो त नी ! म त दङ्ग परे उनको यस्तो चित्तबुझ्दो उत्तर सुनेर । सोचें – साँच्चै राम्रो सिद्धान्त प्रतिपादन गरेछन् कविज्यूले, ठूटे नै भएपनि आखिर विट्ठान न ठहरिए । तर तिनको घमण्ड चुर गर्ने विचारले मैले सोधें – “हैन, मान्छे मर्नुलाई पनि तपाई फाइदै भन्नुहुन्छ कि क्या हो ?”

ङिच्च हाँसिरहेका उनले पुनः मुखाकृति बदलेर भने – “अवश्य मान्छु मित्र ! किनभने नि – मान्छे मरेन भने त पृथ्वीले मानिसहरुको भार थाम्नै सक्तैन नि । नयाँ जन्मनेहरुसँगको सन्तुलनका लागि पनि त मानिस मर्नु फाइदै भयो नि, होइन र ? तपाई मर्नु, म मर्नु सबै फाइदा नै हो, बुझ्नुभो’? भनिहालें नि – जुनसुकै कामबाट पनि फाइदा हुन्छ ।” साँच्चै नै उनको उत्तर चित्तबुझदो थियो । आफ्नो सिद्धान्त सफल भएको सम्झी कविज्यू दाह्री मुसार्दै मुस्काउन थालिसकेका थिए । तर एकछिन सोचेर मैले भनें – “अनि अहिले यसरी महत्वपूर्ण समय नष्ट गरी नचाहिंदा गफ गर्नुको चाहि के फाइदा नि ?”

मेरो यो कुरा सुन्नासाथ हाँसिरहेका कविज्यू अचानक अँध्यारो मुख लगाएर मुखाकृति नै विकृत बनाई घोरिन थाले । उनले कर्कले सिद्धान्तमा एकछिन पनि सत्यताको पानी अडिन नसकेकोमा म भनें दङ्ग परें ।

(रचनाकाल – २०५३–२–९)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER